भ्रष्टचार बिरुद्धको पहिलो लडाई शुरु गर्ने पृथ्वीनाराण शाह

  • प्रकाशित मितिः पुष २७, २०७५
  • ६७ पटक पढिएको
  • सञ्चारपाटी
alt

सन्दर्भः पृथ्वीजयन्ती

  • बुद्धिनारायण श्रेष्ठ

हिमाली क्षेत्रको स-साना भुरे-टाकुरे राज्यको सीमा एकीकरण अभियन्ता पृथ्वीनारायण शाहले आफ्नो देशको सीमा पूर्वतर्फ बढाइसकेपछि पश्चिमतर्फको भू-भाग पनि समाहित गर्न पहिले आफू आएकै क्षेत्र नुवाकोट पुगेका थिए। उनी त्यहाँ बिरामी परे। उनले आफ्नो अन्त्यकाल आएको सम्झेर मनमा लागेका विचार आफ्ना भारदारलाई सुनाए। १७७९ पुस २७ मा जन्मेका पृथ्वीनारायणले १८३१ माघ १ गते देहावसान हुनुअगाडि बताएका कुरा उपदेश तथा पृथ्वीविचारको नामले जानिन्छ र त्यसलाई दिव्योपदेश भन्ने चलन पनि छ। उनका धेरै उपदेशहरूमध्ये घुुस विषयमा निम्न विवरण रहेको पाइन्छ।

राज्यले न्याय निसाफ राम्ररी हेर्ने गर्नुपर्छ। मुलुकमा कुनै पनि किसिमको अन्याय हुन दिनु हुँदैन। देशमा न्याय निसाफ बिगार्ने भनेको घुुसले नै हो भन्ने सिलसिलामा उनले भनेका थिए- ‘घुस् दिन्या र घुष षान्या, ईन दुईको ता धन जीव गरि लियाको पनि पाप छैन, इ राजा (राज्य) का महासतुर हुन्।’ पृथ्वीनारायणको विचारमा घुस लिने र दिने दुवै दोषी हुन्। यी दुवैथरी व्यक्ति राज्यको महाशत्रु हुन्। त्यसैले यी दुवैथरी व्यक्तिको जीउ-धन जफत गरी सर्वस्वहरण गरिएमा पनि कुनै पाप (अनुचित) लाग्ने छैन भन्ने बुझिन्छ। वास्तवमा घुसले नै इन्साफमा तल-माथि पार्न सक्छ र विवेक-बुद्धिलाई कुठाउँमा धकेल्छ। यसले समाजलाई नै विकृत बनाउँछ। यहाँ जिज्ञासा उठ्छ, के हाम्रो समाजमा घुस लिनेका साथै दिनेलाई पनि कार्बाही गरिएको छ !

दुई सय चौवालीस वर्षअघिको पृथ्वीविचार हिजोआजको आधुनिक जमानामा पनि त्यत्तिकै सान्दर्भिक छ। घुसको सञ्जालले नागरिक समाजलाई मात्रै होइन, तर राजनीतिक नेताहरूलाई पनि छोएको छ। केही दलका नेताहरू घुसका कारण जेल परेका थिए। व्यवस्थापिका संसद्को समानुपातिक सभासद्को छनोटलाई लिएर घुसको प्रकरण चलेको कुरा तिनै पार्टीका अन्य नेताहरूले प्रकाश पारेका छन्। घुस लिने र दिने विषयक प्रसंगमा यहाँ एउटा गतिलो प्रश्न उठेको छ- पृथ्वीविचारअनुसार वर्तमान कालमा के घुस दिने व्यक्तिलाई कार्बाही गरिएको छ ? के घुस ख्वाउने व्यक्ति पक्राउ परेका छन् ? यसबारे अलिपछि वर्णन गरौंला। त्यसभन्दा अघि घुस भनेको के हो ? भन्ने सम्बन्धमा थोरै चर्चा गर्नु सान्दर्भिक होला।

घुसको चर्चा गर्दा यसैसँग जोडिएको ‘भ्रष्टाचार’ शब्द पनि गाँसिन आइपुग्छ। विभिन्न नेपाली शब्दकोष पल्टाउँदा घुस भनेको अवैधरूपले काम गरिदिनाका लागि कर्मचारी (काम गरिदिने) लाई दिइने धनमाल भन्ने बुझिन्छ। भ्रष्टाचार भनेको नीति नियम आदिविरुद्धको आचरण, दूराचार, अनैतिक काम, अनुचित फाइदा उठाएको वा उठाउन लगाएको कामकाज भन्ने जानिन्छ। यसअनुसार घुस भन्नाले अवैध सम्पत्ति मानिन्छ र भ्रष्टाचार भनेको अनैतिक कार्य हो भन्ने बुझ्नुपर्ने हुन्छ।

यस परिभाषाअनुसार रकम-कलम लिएको ‘घुस’ र दिएको चाहिँ ‘भ्रष्टाचारी कामकाज’ भन्नुपर्ने हुन्छ। अड्डा, अदालत, संस्थान, कार्यालय, आयोग आदिमा अनियमित तरिकाले काम गरी अवैध कमाउ गर्ने कर्मचारी कामदारलाई ‘घुस्याहा’ भन्ने गरिएको छ। तर त्यही काम गराउन अनैतिक तरिकाले गुप्तरूपमा धनमाल दिने व्यक्तिलाई ‘भ्रष्टाचारी’ भन्ने गरिएको छैन। हाम्रो देशमा घुस खानेलाई कार्बाही गरिएको छ, तर खुवाउनेलाई अधिकांशतः केही गरिएको छैन। घुस खुवाउने व्यक्ति को हुन् ? भन्ने अक्सर प्रकाशमा आउने गरेको पाइँदैन। पृथ्वीनारायणका उपदेशअनुसार घुस दिने (दूराचारी व्यक्ति) लाई पत्ता लगाई कार्बाही गर्ने गरिएको भए समाजमा भ्रष्ट आचरण भएका व्यक्तिको संख्या घट्दै जाने थियो।       

खुमबहादुर खड्का, जेपी गुप्ता, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशीजस्ता पार्टीका नेतालाई भ्रष्टाचार मुद्दामा जेल सजाय दिइयो। तर तिनीहरूलाई भ्रष्टाचार गराउने अर्थात् धनमाल दिने व्यक्ति को थिए ?        भन्ने कुरो जनमानसले सुन्न पाएको छैन। दिनेले नदिई लिनेले घुस खान पाउँदैनन्, यो सत्य कुरा हो। मन्त्रीले सरकारी रकम कुम्ल्याएको भए अनियमित तरिकाले भौचर कागजात सदर गरी बैंक चेकमा ‘काउन्टर सिग्नेचर’ गर्ने को थिए र उनलाई किन कार्बाहीको दायरामा ल्याइँदैन ?        घुस एकतर्फी कार्य होइन। यो दुवैको सहमतिमा र विचौलियाको प्रायोजनमा हुनेगर्छ। तर दोस्रो पक्षका क-कसलाई दण्डित गरिएको छ ? सुडान डाफर काण्डका भ्रष्टाचार प्रायोजन गर्ने शम्भु भारतीलाई २०६८ फागुन १ गते सजाय सुनाएबाहेक घुसखान प्रेरित गर्ने अर्थात् घुस दिने भ्रष्ट आचरणका सयौं अनैतिक व्यक्तिलाई कार्बाही गरिएको छैन।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले २०५९ साउन ३१ गते राजस्व सेवाका बाईस कर्मचारीलाई साहसिक र आत्म दृढताका साथ पक्राउ गरी दोषीलाई मुद्दा चलाए। तथापि अवैध तरिकाले कर्मचारीलाई धनमालरुपी घुस दिने व्यापारी व्यवसायी व्यक्तिको नाम आजसम्म सार्वजनिक भएको छैन। त्यस काण्डका घुस दिने व्यक्ति पनि पृथ्वीनारायणको उपदेशअनुसार पक्राउ परेको भए नेपालमा भ्रष्टाचारको मात्रा निकै कम भइसकेको हुने थियो।

२०७५ मंसिरमा सञ्चारमाध्यमले उजागर गरेअनुसार विभिन्न निकायमा धेरै भ्रष्टाचार मौलाएको बुझिन्छ। स्मार्ट लाइसेन्स तथा पोलिमर नोट छपाइ कार्यमा, सिक्टा सिँचाइ नहर निर्माण, एनसेल कर निर्धारणमा भ्रष्टाचार गरिएका समाचार बजारमा आएका छन्। भूकम्पपीडित घरबारविहीन नागरिकसँग पनि अधिकारीहरूले साढे सात करोड घुस खाएको समाचार गत वर्ष पुस १८ मा प्रकाशमा आएको थियो। वाइडबडी हवाईजहाज खरिदमा अर्बौं रकम घोटाला भएको शंका बजारमा आएको छ। हुँदाहुँदै नयाँ प्रधानसेनापतिले सेनामा पनि भ्रष्टाचार हुने गरेको रहेछ भन्ने उजागर गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved