नेविसंघ अस्तव्यस्त

  • प्रकाशित मितिः पुष २८, २०७५
  • ६३ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौँ  । कांग्रेसमा नेता जन्माउने ‘नर्सरी’ मानिने नेविसंघ महाधिवेशन हुन नसकेपछि अस्तव्यस्त बन्न पुगेको छ । दुई पटकसम्म तिथि तोकिए पनि महाधिवेशन हुन नसकेको संघका गतिविधि समानान्तर रूपमा चल्दै आएका छन् ।

दोस्रोपटक पुस २८ मा तोकिएको महाधिवेशन नहुने निश्चित भएपछि उपाध्यक्षद्वय पुष्पा शाही, विकास केसी, महामन्त्री सरोज थापासहित पदाधिकारी तथा केन्द्रीय सदस्य गरी एक दर्जन बढीले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् ।

संघको कार्यकाल भदौ २ मै सकिएकामा महाधिवेशन गर्न पहिलोपटक तीन महिनाको अवधि थपिएको थियो । कात्तिक २८ बाट सुरु हुने गरी अधिवेशनको तालिका सार्वजनिक भयो पनि तर अधिवेशन हुन सकेन । पुरानो विधानमा तीन महिनामा महाधिवेशन गराउन नसके स्वत: विघटन हुने प्रावधान थियो ।

भर्खरै संशोधित विधानमा ३ बाट ५ महिना थप्न सक्ने प्रावधान राखियो । जुन सुविधा प्रयोग गर्दा पनि माघ २ गते नैनसिंह महर नेतृत्वको अहिलेको कार्यसमितिको अवधि सकिन्छ ।

पुस २८ देखि माघ २ सम्म तोकिएको अधिवेशन नहुने भएपछि यसलाई विघटन गरेर तदर्थ समितिमा परिणत गर्ने या अर्को समिति बनाउने भन्ने दुइटा बाटो पार्टी नेतृत्वसामु छ । नेविसंघभित्रै पनि अहिलेकै नेतृत्वलाई तदर्थ समितिमा परिणत गरेर अधिवेशन गराउने या नयाँ तदर्थ समिति बनाउने भन्नेमा विवाद छ ।

नयाँ समिति बनाउन माग गर्ने पक्षले नेतृत्वबाट राजीनामा दिएका छन् ।

नेविसंघको अधिवेशन गर्न खटिएका निर्देशक समितिका संयोजक प्रकाशरण महतले के गर्ने भन्नेबारे नेताहरूसँग छलफल गरेर निर्णय लिने बताए ।

पार्टीको संशोधित नयाँ विधानमै भ्रातृसंस्थाले तोकिएको पदावधिभित्र महाधिवशेन गर्न नसके स्वत: भंग हुने प्रावधान राखिएको छ ।

 
‘विधानको यो व्यवस्था लागू हुँदा बारम्बार समय थप्न सकिने अवस्था छैन,’ स्वत: भंग हुने संकेत गर्दै महतले भने, ‘तैपनि के गर्नेबारे पार्टी नेताहरूसँग छलफल हुँदै छ ।’
 
‘अहिलेको कार्यसमिति निर्वाचित हो, छुट्टै तदर्थ समिति होइन, यहीँ कार्यसमितिले संघको १२ औं अधिवेशन सम्पन्न गर्छ,’ संघका अध्यक्ष महरले भने ।
 
उनले समय थपेर अधिवेशन गर्न दिनुपर्ने माग गरेका छन् तर संस्थापन इतरपक्षीय धेरैजसो नेता भने पार्टी सभापति देउवा नै संघको अधिवेशन गराउन इच्छुक नदेखिएको आरोप लगाउँछन् ।
 
उनले झन्डै आठ वर्ष नेविसंघको नेतृत्व गरेका थिए । अर्का वरिष्ठ नेता रामचन्द्र पौडेल यसका संस्थापक सदस्य हुन् ।
 
निरंकुश पञ्चायतविरुद्ध आन्दोलन चर्काउन कांग्रेसले २०२७ सालको प्रतिबन्धित अवस्थामा यो संस्था जन्माएको थियो । पार्टी उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, एनपी सावद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, गुरुराज घिमिरे, कल्याण गुरुङ, प्रदीप पौडेल नेविसंघ अध्यक्ष भएर नै पार्टी नेतृत्वमा आएका हुन् ।
 
केन्द्रीय सदस्य बलबहादुर केसी कार्यवाहक सभापति, महामन्त्री पूर्णबहादुर खड्का र मिनेन्द्र रिजाल उपाध्यक्ष, रामशरण महत, प्रकाशशरण महत, दिलबहादुर घर्ती, चन्द्र भण्डारी, गगन थापा महामन्त्री भएर पार्टी नेतृत्वमा छाएका हुन् ।
 
यीबाहेक पार्टीको केन्द्रीय तहमा रहेका अधिकांश नेताहरू नेविसंघ पृष्ठभूमिकै छन् ।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved