सडक सुविधाले उदाएको सहर इटहरी

  • प्रकाशित मितिः पुष २८, २०७५
  • १३७ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी चम्किन थालेको धेरै भएको छैन । इटहरीभन्दा पकली, दुहबी, रंगेली र हरैंचा बजार बढी गुल्जार थिए । इटहरी गुमनाम थियो । पछिल्लो २० वर्षयता इटहरीको चमत्कारिक विकास भएको छ । इटहरीले पूर्वी भेगमै फड्को मारिसकेको छ । इटहरीको बढ्दो व्यस्तता र विकास लोभलाग्दो छ । ५० वर्षअघिसम्म इटहरी विरानो थियो । तर, आज पकलीको बजार इटहरीमा केन्द्रित छ । दुहबी, हरैंचा, रंगेली नगरपालिका बन्दै गर्दा इटहरी उपमहानगर हुँदै प्रदेशको राजधानी दाबी गर्ने भइसकेको छ 

  इटहरी: इटहरी चम्किन थालेको धेरै भएको छैन । इटहरीभन्दा पकली, दुहबी, रंगेली र हरैंचा बजार बढी गुल्जार थिए । इटहरी गुमनाम थियो । पछिल्लो २० वर्षयता इटहरीको चमत्कारिक विकास भएको छ । इटहरीले पूर्वी भेगमै फड्को मारिसकेको छ । इटहरीको बढ्दो व्यस्तता र विकास लोभलाग्दो छ । ५० वर्षअघिसम्म इटहरी विरानो थियो । तर, आज पकलीको बजार इटहरीमा केन्द्रित छ । दुहबी, हरैंचा, रंगेली नगरपालिका बन्दै गर्दा इटहरी उपमहानगर हुँदै प्रदेशको राजधानी दाबी गर्ने भइसकेको छ ।

इटहरी व्यापारिक नगरीका रूपमा परिचित बन्दैछ । बसोबासका लागि पनि इटहरी उत्तम थलो बनेको छ । इटहरी विराटनगर-धरान जोड्ने कोसी राजमार्ग र पूर्व-पश्चिम जोड्ने महेन्द्र राजमार्गले काटेको चौबाटोमा पर्छ । दुई सडक नै इटहरीलाई चम्काउने मुख्य आधार बनेका छन् । इटहरी धेरै पुरानो सहर होइन । बसोबास सुरु भएको पनि सय वर्षमात्र नाघेको छ । जंगलै जंगल थियो । गैसार, दरोगा, चौधरीका वस्ती अस्तित्वमा थिए । गाडा गुड्ने डगहर र गोरेटो बाटो थिए । सुरक्षाको राम्रो प्रबन्ध, खानेपानी, विद्युत्लगायतका सुविधाले यो ठाउँको विकास ५० सालयता तीव्र छ ।

२०१० देखि इटहरीमा ब्राह्मण तथा जनजाति समुदायका मानिस छिटफुट रूपमा बसोबास गर्न थाले । त्यतिबेला तराईमा बस्नेका लागि औंलो प्रमुख चुनौती थियो । त्यसैले पनि पहाडे समुदायका मानिस इटहरी उत्तरको चारकोसे झाडी तल आउने आँट गर्दैनथे । अहिले पहाडे बासिन्दाको मुख्य गन्तव्य बन्दैछ, इटहरी ।

इटहरीभन्दा एक सय वर्षअघि नै पकलीमा मानिसको बसोबास थियो । यसरी बसोबास बस्नुका कारण त्यो बेलाका चल्तीका अन्य बजार चतरादेखि हरैंचासम्म पुग्ने हुलाकी मार्ग पकली हुँदै गएकाले पनि हो । त्यसैले त्यहाँ बजार विकास भयो । इटहरीमा उत्पादन भएको धान, गहुँ, तेल बिक्री हुने ठाउँ पनि थियो, पकली । एक वर्षअघि इटहरी उपमहानगरपालिका बन्ने क्रममा पकली इटहरीमा गाभिएको हो ।

इटहरीदेखि १६ किलोमिटर पूर्वदक्षिणमा रहेको हरैंचा भन्ने ठाउँसँग पनि इटहरी जोडिएको छ । त्यहाँ राणाहरूको हात्तीसार थियो । पछि इटहरीको बुढी खोलाको पश्चिमपट्टी अर्को सानो हात्तीसार बनाइयो र हरैंचाका नर्सिङ चौधरीलाई सुब्बा पद दिएर रेखदेख गर्न लगाइयो । उनले नै पूर्व जान लागेका केही सप्तरीया थारुलाई इटहरीमै बस्न सहयोग गरे । नरसिंहसँग अपराधीलाई सजाय दिने अधिकार थियो । सजाय दिन काठ र इँटाबाट बनेको तुरुङको प्रयोग गरिन्थ्यो । तुरुङलाई सप्तरी चौधरी भाषामा हरि भनिन्थ्यो । यसरी इँट र हरी मिलेर इटहरी बनेको हो भन्ने मत बलियो छ ।

इटहरीमा व्यापार सुरु भएको सात दशक मात्रै भयो । त्यसको १० वर्षपछि औद्योगिकरण सुरु भयो । २००९ सालमा पहिलो पटक इटहरी चोकनजिक धान मिल सञ्चालन भयो । मिल वरिपरि काठ र खरले बनाइएका केही घर बनाइए । टिनको प्रचलन नै सुरु भएको थिएन । २०११ सालतिर ती घरमा आगलागी भयो । इटहरीलाई आइपरेको अहिलेसम्मकै ठूलो विपत्ती थियो ।

मोरङ जिल्लाका तत्कालीन बडाहाकिम भूपालमान सिंहकोमा गुनासो पुग्यो । सिंह गाडीमा चढेर इटहरी आइपुगे । उनले चार कुनामा रातो झन्डा गाडे । बडाहाकिमले रातो झण्डा गाडीसकेपछि त्यो जमिन सरकारीकरण हुन्थ्यो । त्यसपछि उनले आगलागी पीडितलाई जग्गा बाँडिदिए । उनले राजमार्गको योजनासमेत बनाए । इटहरीको बजार विकासका लागि समिति नै गठन गरेको स्थानीय बुढापाका बताउँछन् ।

इटहरीमा वस्ती विस्तारमा महेश्वर सुब्बाको पनि नाम आउँछ । २०१० सालमा कोसी बाढीका कारण विस्थापित भएर इटहरी पुगेका सुब्बाले झोडा (जंगल) फँडानी गरेर आफू बसोबास गरे । साथै, चिनेजानेका मानिस र पहाडबाट तराई झर्न चाहने सर्वसाधारणलाई बसोबास गर्न सघाए । त्यतीखेर मानव वस्ती कम र जंगल बढी भएपनि फँडानी गर्न राज्यले कडाइ गर्न थालिसकेको थियो । त्यसैले फँडानीका क्रममा उनी पटकपटक जेलमा परेको बताइन्छ । तरपनि उनले बसाएको वस्तीका मानिसले पछि लालपूर्जा हाता पार्न सके । उनको योगदानको कदर गर्दै झोडावासीले इटहरी चोकमा चार तले काठको घर बनाइदिए । पछि महेन्द्र राजमार्ग बन्ने क्रममा उक्त घर भत्काइयो ।

महेन्द्र राजमार्गले चम्कायो

महेन्द्र राजमार्ग बनेपछि इटहरीको सम्भावना चुलियो । चोकको जग्गा दरबारीयाको कब्जामा थियो, भित्री जग्गा सीमित थारु परिवारको हातमा थियो । २०२१ सालमा भूमिसुधार योजना लागू भएपछि बढी मालपोत तिर्नु नपरोस् भनेर थारुले जमिन बेच्न थाले । खेती गर्न र सुविधा खोज्न पहाडबाट झरेका राई लिम्बु, बाहुन, क्षेत्री समुदायका मानिसले जमिन किने । जग्गा सानासाना टुक्रा पारेर बेच्न थालेपछि इटहरीमा बाहिरबाट आएका मानिसको भीड बढ्यो । कुनै समय सम्पूर्ण इटहरीको विरासत बोकेका थारु समुदायपछि बाहिरबाट आएका मानिसको भीडमा हराएका छन् ।

विभिन्न खाले समुदाय र विचारका मानिस भेला भएपछि धेरै थरीका व्यापार र गतिविधि सुरु भयो । २०३० सालपछि एक तरिकाले विकासका केही नयाँ आयाम इटहरीले देख्यो । खोलाको पानी पिउने इटहरीवासीले ट्युबेलको पानी पिउन थाले । विस्तारै पक्की घर बने, चर्पीको प्रचलन सुरु भयो । इटहरी महत्त्वपूर्ण ठाउँ थियो ।

-पछिल्लो २० वर्षयता इटहरीको चमत्कारिक विकास भएको छ । इटहरीले पूर्वी भेगमै फड्को मारिसकेको छ ।
-दुहबी, हरैंचा, रंगेली नगरपालिका बन्दै गर्दा इटहरी उपमहानगर हुँदै प्रदेशको राजधानी दाबी गर्ने भइसकेको छ ।
-इटहरीमा व्यापार सुरु भएको सात दशक मात्रै भयो । त्यसको १० वर्षपछि औद्योगिकरण सुरु भयो ।
-इटहरीमा बस्ती बाक्लिदै गइरहेको छ । निजी सवारी चढ्ने बढ्दैछन् । पूर्वपश्चिम र उत्तर दक्षिण दौडिने गाडीको चाप इटहरीमै पर्छ ।

समयसँगै परिवर्तन पनि हुँदै थियो । सुरुवातमा मलिलो माटोसहितको तराईका हिसाबले इटहरीलाई मानिसले रोजे, पछि चौबाटोका रूपमा महत्व दिए । २०५० पछि माओवादी युद्धकालमा इटहरीलाई सुरक्षित ठाउँको रूपमा मानिसले रुचाए । इटहरीमा मानिसको वास्तविक आवादी ५० सालपछि नै सुरु भएको बताइन्छ । सुरक्षा निकायको बाक्लो उपस्थितिकै कारण अप्रिय घटना भएनन् । इटहरीमा बसोबास विकासको मुख्य कारक सुरक्षा क्षेत्रमा नेपाली सेनाको पूर्वी पृतना मुख्यालय र पकलीको सशस्त्र ब्यारेक हुन् ।

दक्षिणको मधेस आन्दोलन र उत्तरको लिम्बुवान आन्दोलनले समेत पूर्णप्रभावमा पार्न नसक्ने ठाउँ बन्यो, इटहरी । त्यसैले विराटनगर, इनरुवालगायत पहाडी क्षेत्रबाट मानिसमा बस्न आएका छन् । व्यापारिक सम्भावना खोज्दै आउने मानिसको संख्या बढेछ । इटहरीमा अहिले स्थायी र अस्थायी गरेर दुई लाख हाराहारी मानिस बस्छन् ।
२०५३ सालमा इटहरी नगरपालिका घोषित भयो । त्यसको २० वर्ष नपुग्दै खनार, हाँसफोसा, पकली र एकम्बा गाविस समेटेर २६ वटा वडासहितको उपमहानगरपालिका बनेको छ ।

खनार क्षेत्र सुनसरी-मोरङ औद्योगिक करिडोर, उत्तरको चारकोसे झाडीसहितको क्षेत्र, तरहरामा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, इटहरीमा खुलेका दर्जनौं होटेल, रेस्टुरेन्ट, होलसेल व्यापारले इटहरीको आर्थिक रूपमा पनि समृद्ध बन्दै गइरहेको छ । इटहरीमा होटेल, रेस्टुरेन्टदेखि डिपार्टमेन्ट स्टोर, मल्टिप्लेक्स सिनेमा हलसम्म खुलेका छन् । विराटनगरका मानिस मल्टिप्लेक्समा सिनेमा हेर्न इटहरी धाउनुपर्छ । कोसी अञ्चल यातायात कार्यालय, राजस्व कार्यालय, हेभी इक्युपमेन्ट डिभिजन, जुट विकास अनुसन्धान केन्द्र आदि इटहरीमै छन् ।

इटहरीमा साँस्कृतिक विविधताबीच पनि सबैमा एकता छ । कहिल्यै फरक समुदाय, धर्म, जातजातिबीच झगडा भएन । जातीय, धार्मिक आन्दोलन त भए तर आपसमा कहिल्यै रिसिवी साँधेनन् । साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा इटहरी पूर्वकै उर्वर सहर मानिन्छ । महाकाव्य लेखेका पीताम्बर भोला लम्साल, विश्वविद्यालय नै नटेकी दर्शन र साहित्यका किताब लेखेका साहित्कार जीवी लुगुन, मानव विकाससम्बन्धी अध्येता धरणीधर दाहालसम्म इटहरीकै हुन् ।

इटहरी सांस्कृतिक सहर पनि बनेको छ । पहिले थारु समुदायमा रमाइलोका लागि परम्परागत झुम्रा नाच, रामलीला, नौटंकी आदि देखाउने गरिन्थ्यो । इटहरीमा जनस्तरबाट नेपालमै पहिलो पटक संगीत साधना प्रतिष्ठानको भवन बन्दैछ ।

सडक र होटेल, रेस्टुरेन्टका कारण इटहरीमा पर्यटकीय चहलपहल बढ्दैछ । इटहरीका तालतलैया, खोर्सानेखाप तथा भवानीपुरको सिमसार क्षेत्र घुम्नकै लागि पनि बर्सेनि लाखौं पर्यटक इटहरी आउँछन् । इटहरी आउने मानिसले इटहरी वरिपरिका अन्य पर्यटकीय स्थलसम्म सहज पहुँच पाउँछन् । धनकुटाको भेडेटार, नाम्जेदेखि धरानका धार्मिक क्षेत्र, चतरा, बराहक्षेत्र, कोसीटप्पु वन्यजन्तु आरक्ष, सुनसरीकै रामधुनी मन्दिर, बर्जुतालमा पुग्न इटहरीबाट सहज हुन्छ । सुनसरी र मोरङका हसिना, तालतलैया, बेतना सिमसार इटहरीबाट घुम्न सकिने नजिकका ठाउँ हुन् ।

इटहरीको विकासको सम्भावना देखेरै विश्व बैंकलगायत विभिन्न निकायले हातेमालो गरिरहेका छन् । इटहरीको बाहिरी चक्रपथ, ढल निकासमा मुख्य चासो छ । यस्तै, विदेशी ऋण तथा सहयोगमै इटहरीको साना सहरी विकास तथा खानेपानी आयोजनाले आफ्नो क्षमता विस्तार गरिरहेको छ । इटहरीमा पातला प्लास्टिकका झोला प्रयोग निषेध छ । खुला दिसामुक्त क्षेत्र पनि हो । लक्का जवान र योग्य सहर बनाउन इटहरीले गरिरहेका व्यक्तिगत र सामूहिक प्रयास उल्लेख्य छन् । अहिले इटहरीमा बर्सेनि घर निर्माणको क्रम उच्च छ । शैक्षिक संस्थाको हब बन्नेतर्फ पनि इटहरी उन्मुख छ ।

इटहरीका समस्या पनि उत्तिकै छन् । इटहरीसँग दीर्घकालीन गुरुयोजनाको अभाव छ । फोहोरमैला व्यवस्थापनका लागि पूर्वाधार बनिरहेको छ । तर, तत्कालको लागि फोहोर फाल्न समस्या नै छ । इटहरी भएर बग्ने टेंग्रा खोला र शेहरा खोलालाई व्यवस्थापन गर्न नसक्दा डुबानको समस्याले इटहरी बर्सेनि पिरोलिरहन्छ । इटहरीका केही टोल डुबानमा पर्छन् । इटहरीमा स्तरीय अस्पतालको आवश्यकता छ । ठूलो रोगब्याधी लागेमा धरान अथवा काठमाडौं नै कुद्नुपर्ने हुन्छ । पार्किङ यहाँको अर्को ठूलो समस्या र चुनौती बनेको छ ।

इटहरीमा बस्ती बाक्लिदै गइरहेको छ । निजी सवारी चढ्ने बढ्दैछन् । पूर्वपश्चिम र उत्तर दक्षिण दौडिने गाडीको चाप इटहरीमै पर्छ । यसले इटहरीमा केही महिनायता सवारी जामको समस्या देखा परेको छ । पुल साँघुरो बनेका छन् । कोसी राजमार्गलाई ६ लेनको बनाउने काम सुरु भइसकेको छ । तर, महेन्द्र राजमार्गका पुल र सडकलाई समेत तुरुन्तै विस्तार गरिहाल्नुपर्ने आवश्यकता छ ।

चौबाटो र चौबाटोले बढाएको व्यापार इटहरीको मुख्य विशेषता हो । बाटोकै कारण कुनै समय चल्तीमा रहेका पकली, रंगेलीजस्ता बजारको हविगत देखिसकेको इटहरीले विभिन्न कोणबाट आफूलाई विशेष बनाउने प्रयास गरिरहेको छ । त्यसैले भोलिको आवश्यकता र सम्भावनालाई हेरेर दीर्घकालीन योजना बनाइ त्यसमा अग्रसर हुनुपर्ने आवश्यकता इटहरीको अगाडि छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved