व्यवस्थित सहर धरान

  • प्रकाशित मितिः पुष २८, २०७५
  • ८२ पटक पढिएको
  • सञ्चारपाटी
alt

विकासका हिसाबले धरान पूर्वका अन्य सहरभन्दा अब्बल मानिन्छ। यसै वर्ष धरानले उत्कृष्ट उपमहानगरको पुरस्कार पाउनु यसको उदाहरण हो। सुनसरीका १२ स्थनीय तहमध्ये धरान उपमहानगरपालिका विकास निर्माणका दृष्टिले मात्र नभई धार्मिक, सांस्कृतिक र सुन्दरताले समेत अब्बल र देशैभरि निकै परिचित छ।

 

समृद्ध पूर्व

धरान : विकासका हिसाबले धरान पूर्वका अन्य सहरभन्दा अब्बल मानिन्छ। यसै वर्ष धरानले उत्कृष्ट उपमहानगरको पुरस्कार पाउनु यसको उदाहरण हो। सुनसरीका १२ स्थनीय तहमध्ये धरान उपमहानगरपालिका विकास निर्माणका दृष्टिले मात्र नभई धार्मिक, सांस्कृतिक र सुन्दरताले समेत अब्बल र देशैभरि निकै परिचित छ।

जनजाति समुदायको बाहुल्य रहेको धरानलाई यहाँका पिण्डेश्वर, दन्तकाली र बूढासुब्बा मन्दिरको सौन्र्दयले थप आकर्षित गरेको छ। चर्चित गायक राजेश पायल राई र कुन्ती मोक्तानले समेत धरानलाई गीतको भाकामा ढालेर देश विदेशसम्म प्रचार गराएका छन्। नयाँ संविधानको कार्यान्वयन र गणतन्त्रको सुरुवातसँगै धरान प्रदेश १ को सुन्दर अनि रमणीय पर्यटकीयस्थलका रूपमा झनै विकसित हुँदै गएको छ।

धरानका धेरैजसो सडक कालोपत्रे भइसकेका छन्। बेलायती डिजाइनमा बनेका घर अनि छतमा लगाइएको नीला टिनका छानाले धरानललाई थप सुन्दरता दिएको छ। २० वर्षपछि स्थानीय तहमा जनप्रतिनिधिहरू आएसँगै नगरवासीमा अब धरानको विकासले अझ फड्को पार्ने आशा पलाएको छ। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको धरानलाई पर्यटन र शैक्षिक हबका रूपमा अघि बढाउन लागिएको धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारीले बताइन्।

उनले धरानको विजयपुर दरबार क्षेत्रको उचित संरक्षण गर्दै बूढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिर र बराहक्षेत्र, चतरासम्मको सडक स्तरोन्नति गरी धार्मिक पर्यटकको आवागमनलाई सहज बनाउने बताइन्। भनिन्, 'धरानमा केबुलकार निर्माण र सेउती र सर्दु खोला करिडोर स्थापना गरी हर्दिया कन्या पोखरीदेखि भेडेटारसम्म रिङ रोडको निर्माण गर्ने गुरुयोजना आउँदैछ।'

धरानका धेरैजसो सडक कालोपत्रे भइसकेका छन्। बेलायती डिजाइनमा बनेका घर अनि छतमा लगाइएको नीला टिनका छानाले धरानललाई थप सुन्दरता दिएको छ। 

धरानको विकासमा समृद्धि ल्याउन तीनकुनेमा बसपार्क निर्माण, डाँडाघोपामा विमानस्थल निर्माण गरी स्वदेशी तथा विदेशी पर्यटकहरूको आगमनलाई सहज बनाउने उपमेयर भण्डारीको भनाइ छ। साइक्लिङ र प्याराग्लाइडिङ, फुटबल र भलिबल खेलको विकास गरी धरानलाई खेलकुदको माध्यमबाट समेत अगाडि बढाउने लक्ष्य उपमहानगरले अगाडि सारको उनले भनाइ छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, र इन्जिनियरिङ कलेजको समेत स्तरोन्नति गरी अन्य कलेजमा नयाँ विषमा समेत अध्यापन गराई शैक्षिक जनशक्ति उत्पादनमा जोड दिने र कृषि उत्पादनलाई जोड दिएर धरानमा प्रदेश स्तरको व्यापारिक पर्दशनी केन्द्र सञ्चालनमा ल्याउने बहुजातीय संग्रहालयको निर्माण गर्नेसम्मका योजना उपमहानगरले तयार गरेको छ। धरानलाई धार्मिक सहिष्णुताको सहरका रूपमा विश्वमै चिनाउने तयारी भइरहको उपमेयर भण्डारीको भनाइ छ।

धरानको नामकरण

विसं १९६० मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले हालको धरानमा रहेको गौधारा आसपासको अनाकन्टर जंगल फडानी गरी काठ काट्न लगाइ उक्त काठ निकासी गर्न धनकुटाका चन्द्रप्रसाद श्रेष्ठ र रत्नप्रसाद श्रेष्ठलाइ ठेक्का दिएका थिए। जंगल फडानीपश्चात् ठेकेदारले विजयपुरवासीलाई काठ काट्न काठकै खाँबा लगाएर धरान (आरा काट्ने ठाउँ) बनाएर आरा कट्न सुरु गरेपछि धरान शब्दको उच्चारण सुरु भएको धरान नगरपालिकाका प्रथम उपसभापति कृष्णप्रसाद श्रेष्ठले बताए। उनका अनुसार विजयपुरवासी तल झरेपछि बाटोमा कसैले कता हिँडेको भन्दा धरान हिँडेको भनेर जवाफ फर्काएपश्चात् धरान नाम रहन गएको हो। त्यतिबेला विजयपुरमुनिको समतल भूभागमा आरा काट्ने १०,२० जना व्यक्तिले छाप्रो हालेर बस्ती बसाएपछि धरानले थप चर्चा पाउन थालेको उपसभापति श्रेष्ठले बताए।

विसं १९६० मा धरान नामकरण सुरु गरिएको भए पनि सरकारले धरानको न्वारान भने २०१७ सालमा गरेको हो। ०१३ सालमा विजयपुरका भागतगोविन्द श्रेष्ठ, पण्डित मेघराज शर्मा, गणेशमान श्रेष्ठ पण्डित छविलाल पोखरेललगायत छ जनाको टोली धरानलाई नगरपालिका माग गर्दै काठमाडौं डेलिगेसन गएका थिए। त्यसपश्चात तत्कालीन सरकारले २०१५ सालमा नगरपालिका भएको घोषणा गरेको उनले बताए। नगरपालिकाका प्रथम सभापति केदारनाथ खनाल र कृष्णप्रसाद श्रेष्ठ उपसभापति निर्वाचित भए। नगरपालिका घोषणा भएपछि राजनीतिक पहुँचका हिसाबले धरानले अझ बढी चर्चा पायो। तर, बहुदल आएपछि धरानले सिंहदरबारसँग जहिल्यै विद्रोहको राजनीति ग¥यो। त्यसपछि धरानमा विकास निर्माणले गति लिन नसकेको महेन्द्र क्याम्पस धरानका प्राध्यापक डा. राजेन्द्र शर्मा बताउँछन्।

बेलायत, सिंहापुर र हङकङसंगको सम्बन्ध

नालापानी लडाइँमा बेलायतले भीमसेन थापा नेतृत्वको नेपाली फौजसँग पराजित भएपछि नेपालसँग दौत्यसम्बन्ध राखेर गोर्खा भर्ती सुरुका र त्यसपछि धरानको बेलायत, सिंगापुर र हङकङसंग सम्बन्ध कायम भएको हो। गोर्खा भर्ती भएका जवानहरूलाई आफ्नो परिवार ल्याउन बेलायत र सिंगापुर सरकारले अनुमति दिएसँगै गोर्खालीका परिवारहरू बेलायत, सिंगापुर र हङकङ बसोबास गर्न थालेको पूर्वबेलायती गोर्खा मेजर झप्तमान पारघरी लिम्बूले बताए। उनका अनुसार हङकङमा बेलायतले ९० वर्ष शासन गरेपछि गोर्खालीहरूलाई हङकङ लगे र उनीहरूको बसोबास हङकङसम्म पुर्‍याए।

हङकङमा गोर्खाली परिवारका सन्तान जन्मिन थालेपछि त्यहाँको सरकारले रातो पासपोर्ट र नागरिकतासहित आईडी दिन थाल्यो। त्यसयता नेपालीहरू हङकङ बस्न थालेका छन्। रोजगारी र सुविधाका हिसाबले नेपालभन्दा बेलायत, सिंगापुर र हङकङमा सहज हुन थालेछि धरानलगायत गोर्खालीका सन्तान उतै रोजगारीमा रमाउन थालेका मेजर लिम्बूको भनाइ छ। धराने लाहुरेका सन्तती बेलायत, सिंगापुर र हङकङ बस्न थालेपछि धरानमा रेमिटेन्समार्फत रकम भित्रिन थालेको र यसले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएको उनले बताए।

सन् १९६० मा धरानमा बेलायत सरकारले अवकाशप्राप्त गोर्खालीहरूका लागि पेन्सन सुविधा दिन ब्रिटिस घोपा क्याम्प स्थापना गरेसँगै पूर्वी पहाडी जिल्लाबाट लाहुरेहरू धरान बसाइँ सर्न थालेका हुन्। धरान बस्दै आएका आधाभन्दा बढी गोर्खाली सुविधा खोज्दै बेलायत, हङकङ र सिंगापुर जान थालेसँगै यहाँका लाहुरेहरूका घर खाली हुँदै गएका छन्।

पूर्वीपहाडी व्यापारिक केन्द्र

धरान सुन्दर नगरीका रूपमा मात्र नभई पूर्वी पहाडको एक व्यापारिक केन्द्रका रूपमा पनि परिचित छ। पहाडी जिल्लाहरू धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, खोटाङ, इलाम र पाँचथर जिल्लाको व्यापरिक केन्द्र हो धरान। धरानबाटै दैनिक उपभोग्य वस्तुहरू अन्यत्र लगिने गरिएको पाइएको छ। मधेस र पहाडको संगमस्थल भएका कारण धरान अझै पनि प्रदेश १ को व्यापारिक केन्द्रका रूपमा सतीसालझैं उभिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साह बताउँछन्।

मिश्रित बसोबास

किराती समुदायको बाहुल्य भए पनि धरानमा राई, नेवार, लिम्बू, क्षत्री, बाहुन, मगर, तामाङ, गुरुङ, सुनुवार, शेर्पा, कामी, दमाई, सार्की, मधेसी र मुस्लिम समुदायको मिश्रित बसोबासले यहाँको धार्मिक सहिष्णुता र सद्भाव कायम राखेको छ। करिब २ लाख जनसंख्या रहेको धरानमा राई जतिको साकेला, लिम्बूको च्याब्रुङ, धाननाच, मगरको हुर्रानाच र नेवारहरूको लाखेनाचमा यहाँका बासिन्दा रमाउने गर्छन्।

शैक्षिक क्षेत्रमा अब्बल

सन्। १९९५ सालमा एक पाठशालावाट पठनपाठन सुरु भएको धरानमा हाल ६० बढी विद्यालय, एक दर्जन बढी उच्च मावि र चार क्याप्सप र एसियाकै चर्चित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्। धरानमा डाक्टर, इन्जिनियर अन्य कलेजहरूको गुणस्तरीय शिक्षाले बर्सेनि दक्ष जनशक्ति उत्पादन भइरहेको पिण्डेश्वर क्याम्पसका प्राडा भीम खतिवडाले बताए। धरानमा संघीय प्रहरी इकाई, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालयलगायत सरकारी कार्यालय र ब्रिटिस पेन्सन पेय अफिस, भारतीय पेन्सन क्याम्प र ब्रिटिस गोर्खा भर्तीकेन्द्रलगायत कार्यालय छन्।

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved