यसरी बन्दै छ विराटनगर

  • प्रकाशित मितिः पुष २८, २०७५
  • ७९ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर । विराटनगर बसेको एकसय वर्ष पूरा भइसकेको छ । शताब्दी सहरले यो अवधिमा धेरै आरोह अवरोध पार गरिसक्यो । औद्योगिक नगरीको रुपमा स्थापित विराटनगरको त्यो साख अझै कायमै छ । पछिल्लो पटक मुलुक संघीयतामा गइसकेपछि प्रदेश १ को अस्थायी राजधानी विराटनगर घोषणा भएको छ । छिमेकी सहरहरु इटहरी र धरानले अझै दाबी छाडेका छैनन् । तर, विराटनगरको विकल्प देखिएको छैन ।
 
राजनैतिक र औद्योगिक आन्दोलनको अगुवाई गरेको यो सहर माओवादी द्वन्द्वकाल र मधेस आन्दोलनसँगै शिथिल बन्न पुगेको थियो । मानिस बसाईं सरेर काठमाडौतर्फ पनि लागे । केही समय बसाईं सराईं चल्यो । मधेस आन्दोलन ताका सप्तरी र सिराहबाट समेत मानिस स्थायी रुपमै बस्न विराटनगरतिर हान्निए । अहिले प्रदेश सभा र प्रदेश सरकारका मन्त्रालय विराटनगरमै राखिएका छन् । राजधानी सार्ने वा यतै कायम गर्ने भन्ने विषय टुंगो लाग्न बाँकी नै छ । तर, विराटनगरले आफूँलाई परिवर्तित स्वरुपमा ढाल्न सुरु गरिसकेको छ ।

 सहर एक पटक फेरि जाग्दैछ । यहाँ जारी परियोजनाहरुले यही संकेत गर्दैछन् । नयाँ विराटनगरको पुनःनिर्माण सुरु भइसकेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली बताउँछन् । भन्छन्,‘नयाँ विराटनगरको पुनःनिर्माण सुरु भइसकेको छ ।’

 

एक वर्षभित्रै नियमित रेल
गत कात्तिक १८ गते विराटनगरका लागि एउटा ठूलो उपलब्धि हात लाग्दै थियो । आफ्नै भूमिमा रेल आउने दिन बिहानैदेखि सीमामा नेपालीको घुइँचो सुरु भयो । लिकको दायाँबायाँ मानिसहरु लाम लागेका थिए । दिउँसो अढाई नबज्दै रेल बुधनगरस्थित नेपाल कस्टम यार्डतर्फबाट स्टेशनमा आएर रोकियो । स्थानीयले ताली बजाए । रेल्वे कर्मचारीले नेपाल र भारतको राष्ट्रिय झण्डा देखाए । रेल र त्यसमा बसेर आउने अधिकारीहरुलाई भव्य स्वागत भयो । 

 

भारतको नर्थइस्ट रेल्वेका उप–प्रमुख एस विश्वास लिक परीक्षण गर्न नर्थइस्ट रेल्वेको आसाम गुवाहटीस्थित मुख्यालयबाट अघिल्लै दिन बथनाहा आएका थिए । बथनाहा–कटहरी रुटमा एक वर्षभित्रै नियममित रेल संचालन गर्न सकिने बताउँदै उनले भने,‘यो मालबाहक रुट हो तर यात्रु बोक्ने पनि चलाउनेछौं ।’ 

 

भारतको बथनाहाबाट ८ किलोमिटर दुरी पार गर्दै नेपालतर्फको तीन किलोमिटर क्षेत्रसम्म रेल आइसकेको छ । विराटनगर–१८ भेडियारीका सदानन्द यादवले आफ्नै भूमिमा रेल दौडिएको देखे । अब चढ्न पाइएला भन्ने आशा जागेको बताउँदै उनले भने, “हाम्रो गाउँ भएर रेल चल्ने भयो ।” बुधनगरसम्म रेलको लिक परीक्षण गर्न रेलको इञ्जिन लिएर भारतीय रेल्वेका प्राविधिक तथा कर्मचारीहरु आएका थिए । 

 

नेपाल रेल्वेलाई जग्गा दिएका खटुराम यादव पनि औधी खुसी देखिन्थे । आफ्नै खेतबाट रेल कुदेको आँखैले देखेपछि उनले भने, “सोचेजस्तो मुआब्जा त पाइएन् तर सरकारलाई रेलका लागि जग्गा भने दियौं । जे होस रेल कुद्यो, खुसी छु ।” आफू र आफ्ना भाइहरुले नेपाल रेल्वेलाई १० कठ्ठा जग्गा दिएको यादवले सुनाए ।

 

भारत सरकारको सहयोगमा पहिलो चरणमा बथनाहा–विराटनगर खण्डमा आठ किलोमिटर रेलमार्ग निर्माण भएको छ । न्यूबिजी रेललाइन प्रोजेक्ट बथनाहा–विराटनगर रेल्वे परियोजनाका प्रमुख आश्विनी कुमारले भने, “यो रुटमा मालवाहकसँगै यात्रुबाहक रेल संचालन गर्ने दुबै देशको तयारी छ ।”
मोरङको कटहरीसम्म रेल पुग्न अझै ८ किलोमिटर बाँकी छ । ट्रयाक खुल्यो तर नेपालतर्फ मुआब्जा विवादले ढिलाइ भयो । भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर गरी बथनाहा–

 

बुधनगर दूरी ८ किमी मात्र हो । 

 

रेलमार्ग निर्माण कम्पनी इरकोन इन्टरनेशनलका प्रबन्धक प्रदीप कुमारले बथनाहादेखि एकीकृत भन्सार बिन्दु (आईसीपी)सम्मको दुरीमा रेलमार्ग परीक्षण भएको बताउँदै भने, “नेपालतर्फको बाँकी ८ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्ने काम पनि सकिएको छ ।” कटहरीमा स्टेशन बनाउने नेपाल सरकारको योजना छ । बुधनगरमा रेलवे स्टेसन र बाँकी पूर्वाधारमा ४२ बिघा जग्गा छुट्याइएको छ । रेलवे स्टेशन, यात्रु प्रतिक्षालय, कार्यालय भवन, कर्मचारी क्वार्टरलगायतका संरचना निर्माण भइरहेका छन् । 

 

नेपाल सरकारले यो रेललाई इटहरीमा पूर्व–पश्चिम रेलमार्गसँग जोड्ने योजना बनाएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । विराटनगरमा मोरङ व्यापार संघको ६५ औं साधारण सभामा खतिवडाले “कलकत्ता बन्दरगाहबाट तेस्रो मुलुकका सामान बोकेर नेपालसम्म ल्याउन रेलमार्ग निर्माण हुँदै गरेको’ जानकारी दिए । तर सरकारको प्राथमिकता यात्रुबाहक रेल” नै भएको मन्त्री खतिवडाको भनाइ छ । 

 

कटहरीमा जग्गा सम्बन्धी विवाद सुल्झिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताएका छन् । स्टेशनको जग्गा अधिग्रहण र मुआब्जाबारे विवाद थियो । जग्गाधनीमध्ये स्थानीय शेषनारायण माझी र घुरन माझीले मुआब्जा कम भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । रेल विभाग र जिल्ला प्रशासन कार्यालय मोरङलाई विपक्षी बनाइएको थियो । अदालतले जग्गाधनीको पक्षमा फैसला सुनाएको छ । सरकारले ५ सय ६५ जग्गा जग्गाधनीबाट १ सय १९ बिघा जग्गा अधिग्रहण गरेको थियो । रेलमार्गका लागि प्रति कठ्ठा न्यूनतम ९० हजारदेखि २५ लाखसम्म मूल्याङ्कन गरी ५३ करोड मुआब्जा वितरण भएको थियो । 

 

सहायक प्रजिअ पाण्डेले भने, “सरकारले निर्धारण गरेको मुआब्जामा चित्त नबुझेका चार जनाले जग्गाको मूल्याङकन बढाउन माग गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए । मागअनुसार उपलब्ध गराउन सर्वोच्चले निर्णय गरिसकेको छ ।”  विराटनगर–रंगेली सडकले जग्गा छोएकाहरुले प्रति कठ्ठा ८ लाख रुपैयाँ पाउनु पर्ने स्थानीयको माग छ । कटहरी रेल स्टेशन र त्यहाँसम्म पुग्ने रेलमार्गको लागि  १४ बिघा जग्गा अधिग्रहण गर्ने सरकारको तयारी छ । यो प्रक्रिया पूरा भई  हस्तान्तरण भए डेढ वर्षभित्रै रेल कटहरीसम्म आउने छ । रेलमार्गको लागत ४ अर्ब रुपैयाँ हो । यो सबै रकम भारत सरकारले व्योहोर्ने द्विपक्षीय सम्झौता छ । 

 

६ लेन सडकको आश, भारत र चीनसँग व्यापार
नेपाल, भारत र चीनलाई जोड्ने किमाथांका सडकलाई गति दिन प्रदेश १ सरकारले समेत चासो लिएको छ । भौतिक निर्माण तथा विकास मन्त्रालयले आयोजना गरेको समन्वय बैठकमा मुख्यमन्त्री राइले निर्माण कार्यमा भइरहेको ढिलासुस्ती प्रति चासो राख्दै सरोकारवाला पक्षसँग जवाफ मागे ।
 
राईले भने, “प्रदेश र प्रदेशको अस्थायी राजधानी रहेको सहर विराटनगरको सुन्दरता तथा गरिमाको विषय भएकोले सडकको काममा गति दिइनु पर्छ ।” त्रिदेशीय लिंकरोड मानिएको विराटनगरदेखि उत्तरमा चीनको किमाथांकासम्म सडक निर्माणधीन छ । भारत सीमाको जोगबनीदेखि धरानसम्म ४९ किलोमिटर सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । सडक धरानसम्म ६ लेनको हुनेछ ।

 

विराटनगरमा बरगाछीदेखि ढाटसम्मको क्षेत्र निर्माण सम्पन्न भइसकेको छ । त्यसउत्तर इटहरी र इटहरीको तरहरा खण्डमा पनि काम जारी छ । यसलाई तीन देशबीचको मुख्य व्यापारिक मार्ग भनिएको छ । निर्माणाधीन ६ लेन सडक 

 

प्रदेश १ को विकासमा निकै महत्वपूर्ण मानिएको सडकको स्तरोन्नतिको कामअन्तर्गत हाल ३२ दशमलब ६४५ किलोमिटर खण्डमा भइरहेको छ । यसको लागत १०  अर्ब ९८ करोड हो । रानी–धरान व्यापारिक मार्गको कूल लम्बाई ४९ किलोमिटर रहेकोमा ३५ किलोमिटरमा ठेक्का लागेको छ । इटहरीको तरहरादेखि धरानसम्म १४ किमी र सुनसरी दुहबी बजार क्षेत्रको काममा ठेक्का लागेको छैन ।

 

वस्ती तथा जग्गा सम्बन्धी विवादले ती ठाउँमा काम अघि नबढेको हो । मोरङ व्यापार संघका अध्यक्ष,उद्योगी पवनकुमार शारडा सडकको कामलाई अझ गति दिनुपर्ने बताउँदै भन्छन्, “तीनवटा देशलाई जोड्ने यो सडक हरेक दृष्टिले महत्वपूर्ण छ ।” उनले सडकमार्फत भारत, चीन, नेपाल र बंगलादेशबीचको व्यापार सहजतामा झन् सहज हुने बताए । विराटनगरबाट इटहरी, धरान, धनकुटा, बसन्तपुर हुँदै संखुवासभाको चैनपुर र खाँदबारीबाट चीन सीमाना जोडिएको किमाथांका नाकासम्म पुग्न सकिन्छ । 

 

बन्यो अत्याधुनिक बसपार्क 
सामान्य वर्षामै हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने विराटनगर बसपार्कको कायकल्प अहिले फेरिएको छ । अत्याधुनिक टर्मिनल भवनसहितको संरचना तोकिएकै अवधिमा पूरा भएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भन्छन्, “६ लेन सडकसँगै जोडिएको बसपार्क प्रवेश गर्ने ड्रेन निर्माण पूरा हुने बित्तिकै उद्घाटन गर्दैछौं ।” 

 

बसपार्क निर्माणको ठेक्का गौरीपार्वती निर्माण सेवा काठमाडौंले लिएको थियो । ठेक्का अवधि १८ महिनाभित्रै काम पूरा भई गत साउन महिनामै महानगरलाई हस्तान्तरण भएको गरिएको थियो । बाहिरबाट हेर्दै बसपार्क निकै आकर्षक देखिन्छ । भित्रका सुविधासमेत निकै व्यवस्थित गरिएको महानगरको दाबी छ । बसपार्कमा ८ करोड ४७ लाख रुपैयाँ खर्च भएको छ । अब उद्घाटन हुन मात्र बाँकी छ । 

 

मेयर पराजुलीले भने, “दृढ इच्छाशक्ति भए निर्माणले गति लिने रहेछ भन्ने सन्देश हामीले विराटनगर बसपार्कबाट दिएका छौं ।” विराटनगर प्रवेश गर्ने सवारी साधनको चाप थेग्ने गरी नयाँ बसपार्क निर्माण गरिएको मेयर पराजुलीले दाबी गरेका छन् । यसभित्र यात्रु,सवारी चालक र कर्मचारी सबैका लागि सुविधा उपलब्ध हुनेछ । 

 

विराटनगरमा निर्माण भएको नयाँ बसपार्क 

 

महानगरका इन्जिनियर अर्जुन थापाका अनुसार बसपार्कमा एक पटकमा सानाठूला गरी ५४ वटासम्म बस राख्न सकिन्छ । टर्मिनलमा अब पुरानो बसपार्क जस्तो धेरै समयसम्म बस रोक्न मिल्ने छैन् । यात्रु ओराल्ने र चढाएर गन्तब्यतर्फ गुडाइ हाल्नु पर्ने नियम लाग्दैछ । 

 

व्यवस्थित टिकट काउन्टर, यात्रु प्रतिक्षालय, रेष्टुरेन्ट, ब्यागेज राख्ने अलग्गै कोठा निर्माण गरिएका छन् । व्यवस्थित सार्वजनिक शौचालयको सुविधा छ । टर्मिनल भवनको पहिलो तलामा टिकट काउन्टर, यात्रु प्रतिक्षालय र पसलहरु रहनेछन् । दोस्रो तलामा रेष्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष छ । बसपार्क प्रदेश १ कै नमुनाको रुपमा निमार्ण गरिएको महानगरको दाबी छ । यो बसपार्क भएर दैनिक पाँचसमय सवारी साधन प्रदेश १ भरि तथा देशका विभिन्न भागका लागि छुट्ने गर्छन् । 

 

उद्घाटनको पर्खाइमा स्मार्ट कृषि बजार
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनको समय दिनासाथ विराटनगर ‘स्मार्ट’ तरकारी बजार संचालनमा आउने छ । गत कात्तिक १६ गते कटहरीस्थित जमटोकीमा प्रम ओलीले अत्याधुनिक सुविधासहितको संरचना उद्घाटन गर्ने तयारी थियो । तर, ओली बिरामी भएपछि कार्यक्रम स्थगित हुन पुग्यो । अहिले विराटनगरको बीच भागमा अवस्थित गुदरी बजार अव्यवस्थित र दुर्गन्धित अवस्थामा छ ।

 

तरकारी तथा फलफूलको एकीकृत बजारको रुपमा यसलाई विकास गर्ने सरकारको तयारी छ । उद्घाटन लगत्तै प्रदेश सरकार मातहत ल्याउने र यसको सम्पूर्ण संचालन तथा रेखदेख प्रदेशले नै गर्ने तयारी रहेको प्रदेश १ को भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनोज यादवले बताएका छन् । भने, “यसबारे थप छलफल हुन भने अझै बाँकी छ ।”

 

व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) का अनुसार आधुनिक तरकारी बजारको संरचना निर्माणको काम पूरा भएको छ । परियोजनाका प्रमुख भानु मैनालीले अब उद्घाटनपछि बजार संचालनमा आएको जानकारी दिए । विराटनगर महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा करिब ६ बिघा जग्गा भाडामा लिएर बजार निर्माण भएको हो । यसको लागत १७ करोड रुपैयाँ छ ।

 

तरकारी बजारमा उपभोक्ता र बिक्रेताले अत्याधुनिक सेवा सुविधा पाउने व्यवस्था छ । भित्रै बैंकिङ सेवा, खानेपानी, विद्युतलगायत सबै किसिमका सुविधा छन् । थोक र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै प्लट निर्माण भएको छ । बजारभित्र एक हजार चार सय ८८ स्क्वायर मिटरको १७ वटा होलसेल पसल रहनेछन् । तीन सय ५१ स्क्वायर मिटरमा रिटेल बजार छ । बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल लगेर बिक्री गर्न पाउने छन् । बिचौलियाको कुनै भूमिका हुने छैन् । एक सय ३८ स्क्वायर मिटरमा खुद्रा पसल रहने व्यवस्था मिलाइएको छ । 

 

बजारभित्र फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्ड छ । पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युवेल, जेनेरेटर र सोलारको व्यवस्था  गरिएको छ ।  सीसी क्यामेराको निगरानीमा रहने बजारमा आगलागी नियन्त्रण गर्न भूमिगत रुपमा पानीको व्यवस्थापन भएको छ । बजारको क्षमता  दैनिक ४४ हजार नौ सय ६६ मेट्रिक टन तरकारी र आठ हजार सात सय तीन मेट्रिक टन फलफूल बिक्री गर्ने हो ।

 

तरकारी तथा फलफूल किनबेच गर्न अत्याधुनिक भवन । पार्किङको उचित प्रबन्ध । ढुवानीमा संलग्न सवारीसाधनका चालकलाई बास बस्नका छुट्टै भवन । क्यान्टिन र सुरक्षा गार्डका लागि तथा बजारका व्यवस्थापकको आवास पनि छ । किसानलाई आराम कक्षसमेत बनाइएको छ । यसको भौतिक पूर्वाधार निर्माण भूमि कन्स्ट्रक्सनले गरेको हो ।  
कटहरीको बजार संचालनमा आएपछि गुदरी बजार स्थानान्तरण हुने विराटनगर महानगरपालिकाकी उप–प्रमुख इन्दिरा कार्कीले बताएकी छन् । भनिन्,“चाँडै स्मार्ट तरकारी बजार सञ्चालनमा आउने छ ।”

बाह्रखरीबाट

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved