चराहरु सुरक्षित रहून् !

  • प्रकाशित मितिः चैत्र २५, २०७६
  • १४५४ पटक पढिएको
  • हेम विश्वकर्मा
alt

असाधारण छ जीवन शैली । अनि परिस्थिती पनि । चराहरु उडेको मैले देखेको छैन । बाटोभरि आफ्नो संसार बनाएर हिँड्ने कुकुरहरुको हुल मैले देखेको छैन ।

मैले कुनै कविको उच्च स्वरमा ट्युन भएको कविता देखेको छैन र अरु मलाई हेर्न मन लागेको धेरै कुरा देख्न पाएको छैन ।

किनकि देश, विदेश र लगभग पुरै विश्व लकडाउनमा छ ।

मेरा थुप्रै दैनिकीहरुको खुट्टा भाँचिएको छ । उठ्ने र सुत्ने समयको टुङ्गो छैन । जीवन रुखजस्तै भएको छ । आजकल निदाउने र बिउँझने बाहेकाका सबै काम अन्यौलमा छन् । निन्द्राबाट बिउँझिए पछि सोँच्छु, यी सबै छुमन्तर भएर हटिसकेको होस् ! तर उल्टो, उल्टो भइदिन्छ ।

तर पनि मच्छरले टोक्न छाडेको छैन ।

यो कम्प्युटर र मोबाइल स्कृनसँग जिस्किएर कतिञ्जेल बस्ने ? कहर समाचार कति हेर्ने ? सामाजिक सञ्जाल त लगभग असामाजिक झैँ भैगएको छ । यस्तो संकटमा पनि सोसल डिस्ट्यान्सिङ् छोडेर मानिस सोसल कमेडीतिर लागेको छ । ओहो ! हामी मात्र हौँ सायद त्रासलाई समेत जोकको पन्चलाईन बनाएर बाँच्न सक्ने । यो एउटा मनोप्रवृत्ति हो । हाँसो जीवनको उर्जा पनि त हो नि ।

तर रुँदारुँदै फिस्स हाँसेको अवोध बालक जस्तो ।

सबैभन्दा पहिला मृत्युलाई जित्न नसकेका प्रति हार्दिक श्रद्घाञ्जली ! मृत्युलाई जितेर बाँचेका प्रति नयाँ जीवनको शुभकामना । मैले जीवनमा दुईओटा युद्ध भोग्दैछु । जनयुद्ध र कोरोना विरुद्धको युद्ध । जनयुद्धमा जसोतसो बाँचियो । यो भीमकाय युद्धमा सम्पूर्ण मानव जातीकै जीत होस्, आशा गरौँ ।

लकडाउन सबैभन्दा बढि राज्य चिन्ने र बुझ्ने मौका रहेछ । राज्यले संकटका बेला आफ्ना नागरिकलाई कसरी म्यानिपुलेट गर्दछ भन्ने बुझिँदोरहेछ, जनताले बुझ्दैछन् । प्रतिपक्षले यतिबेला सहयोग गर्नुुहुँदैन, बरु सरकारको राजिनामा माग्नुपर्छ । सरकार असफल भयो हैन ? आज सम्म नेपालमा एउटै मात्र भएपनि कुनचाहीँ सरकार सफल भयो ? असफलता बहुदलीय व्यवस्थाको सुन्दर आयाम हो । असफलता त जीवनको एक अंश हो ।

नेपाली मनोविज्ञान कतातिर छ ? आफू आफू जति सकिन्छ, आफ्नो विज्ञापन गर्न तिर लागि परेका छौँ । जसरी हुन्छ, जहाँबाट हुन्छ आफू भाइरल हुने मौका सबैले खोजेर बसेका छौँ । केही सञ्चारमाध्यमका नाममा भए नभएका समाचार लेखेर आफ्नो विज्ञापन गरिरहेका छन् । केही संघसंस्था र राहत वितरणमा खटिएका कतिपय साथीहरु ठूलो फ्रेमिङ र हाइ रिजोलुशन भएको क्यामेरामा आफ्नै विज्ञापन गरिरहेका छन् । कोही जे मन लाग्यो त्यही लेखेर पनि आफूलाई म चाहीँ खत्रै हो भन्ने साबित गर्न तयार छन् ।

तर आजको परिस्थिती कसरी सहज होला भन्नेतर्फ कसैले सोँचेको भने देखिएन । चराहरु पुनः आकाशमा उड्नका लागि कसले वातावरण तयार गर्न सक्छ ? हामी सबैको साझा प्रयासले ।

नत्र त ढिलो हुन्छ ।

यो समय मेरो लागि जीवनमा कहिले नआउने समय भएर आईदियो । परिवारसँग रमाइलो कुराकानी, उहिलेका कुरा, तँ सानामा यस्तो थिइस्, यसो गर्थिस् । कस्तो रमाइलो । पुराना याद निकै मीठा हुन्छन् । धेरै त वाल्यकालका किस्साहरु सुनिरहेछु ।

“एकताका तँ साह्रै विरामी भइस् । रातभरि सुतिएन । बाहिर मुसलधारे पानी । आँखै घोच्ने अन्धकार । बाँच्छस् जस्तो लागेको थिएन । कसलाई बोलाउनु ? बल्ल रिमरिम भयो । धामी बोलाउन काँधमा बर्को हालेर हुरुरुरु कुदेको हिजो जस्तो लाग्छ ।”

यतिबेला मेरो देशमा धेरै बिरामी परेभने हालत के होला ? कसलाई बचाउने कसलाई मर्न दिने ? त्यसका लागि पर्याप्त स्रोत हुनु पर्‍यो, जनशक्ति हुनु पर्‍यो । हामीभन्दा सयौँगुणा ठूलाहरुका त मष्तिस्क काँपिरहेको छ ।

घरिघरि लाग्छ । आहा ! यो स्वच्छ आकाश । धुँवा धुलोरहीत । शान्त । गहिरो निन्द्रामा झैँ । एउटा चित्रकारले कोरेको चित्रझैँ विचित्र । धनि र गरिबको यो उदेक लाग्दो खण्ड काव्यको सुखद अन्त्य जस्तो । धन हुनु सबै कुरा हैन, मानव अस्तित्वका अघि ।

हैन समाज त चलायमान हुनुपर्छ । समय नै चलायमान छ ।

यहाँ आफूले आफैँलाई बँचाउन तर्फ सोँच्नु पर्छ । जसरी चराहरु आफ्नो गुँडमा बस्छन्, त्यसैगरी । उडानका लागि पछि बाँचिएछ भने समय आउँछ । वेगले पखेँटा फट्फटाउँदै उडौँला ।

चराहरुको आहारा बारे सोँच्यो भने दिमाग खराब हुन्छ । त्यसका लागि अलिकति दालचामल र केहि थान फोटाहरु भए त भैगो ।
फोटाहरु इतिहास बन्छन् ।

मानसिक रुपमा तयार हुन आवश्यक छ । आज हामी अदृश्य शक्तिसँग लडिरहेछौँ । जतिबेला पनि जताबाटपनि आक्रमण हुन सक्छ । यसरी एड्भेन्चरस् भएर बाहिर नहिँडौँ । डिफेन्सिब भएर खेलौँ ।

अनि आवश्यकता भनेको मानिसको दिमागमा भरिएको अनावश्यक त्रास । यसलाई कसले व्यवस्थापन गर्ने । एकोहोरो एउटै कुरा सोँचिरहेर आजित भएको बेला दिक्दार लाग्ने, बोल्न मन नलाग्ने, कसैलाई सुन्न मन नलाग्ने — मनोवैज्ञानिक भाइरस । यसको उपचार कसले गर्छ ?

त्यसका लागि मनोविज्ञान दह्रो बनाउन  पर्‍यो । त्यसैले दीप प्रज्वलन आवश्यक भयो । दीपकले मानिसलाईं शान्ती दिन्छ । शान्ती सुख हो । यो त फेरि धार्मिक आयाम भयो । यसको सन्देश के हो ? मानव जगत फेरि प्रकृति तर्फ फर्क भन्ने हो ? या धर्मले मानिसलाई सुखि बनाउँछ भन्ने हो ।

तर धर्मका नाममा भएका युद्धहरु त रोकिँदैनन् त ! अहिलेको संकटलाई विज्ञानले हराउन सक्छ कि अध्यात्मले ? यो अनुसन्धान र एक्सपेरिमेन्टलाई छोडौँ । तर हराउनलाई त विज्ञानले नै हराउला । गहिरो आशा व्यक्त गरौँ ।

चराहरु सुरक्षित रहून् ।

हामी सुरक्षित रहौँ ।

सम्पूर्ण जगत् सुरक्षित रहोस् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved