काँग्रेसको वर्तमान र आसन्न महाधिवेशन

  • प्रकाशित मितिः श्रावण २३, २०७७
  • २५८ पटक पढिएको
  • मिलन त्रिताल
alt

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस अहिले १४ औं महाधिवेशनको चटारोमा छ । देशकै पुरानो प्रजातान्त्रिक शक्तिको रुपमा रहेको काँग्रेस इतिहासकै कठिन र संक्रमणकालिन अवस्थाबाट गुज्रीरहेको छ । मुलुकमा २००७ सालदेखि भएका यतिका परिवर्तनको नेतृत्व गरेको दल काँग्रेस अहिले विचारशुन्य पाटीको रुपमा चित्रित हुँदै गएको छ ।

आफ्नै जनप्रतिनिधिद्वारा संविधान निर्माण गर्ने नेपाली जनताको दशकौं पुरानो सपना काँग्रेसले आफ्नै नेतृत्वमा पूरा नगरेको होइन । नयाँ संविधान कार्यान्वयनको ढोका समेत आफ्नै नेतृत्वमा खोलेको काँग्रेस इतिहासमा कहिल्यै यति कमजोर र सिद्धान्तविहिन जस्तो भएको देखिएको थिएन ।

काँग्रेसका संस्थापकहरुको निधन पश्चात विभिन्न गुट र उपगुटमा विभक्त काँग्रेसमा पछिल्लो केही दशक यता विचार,सिद्धान्त र नयाँ पुस्तालाई पाटीमा आकर्षण गर्ने गरि संगठन सुदृढीकरण गर्ने भन्दा पनि पाटीमा पद प्राप्तीको लडाईले पाटी कमजोर बन्न पुगेको छ ।

पटक पटक नेतृत्व हस्तान्तरण भएता पनि काँग्रेस आजसम्म रुपान्तरण हुन सकेको छैन, उल्लेख्य मात्रामा युवाहरु नेतृत्वमा स्थापित भए पनि पाटी रुपान्तरण हुन नसक्दा नयाँ पुस्ताको काँग्रेसप्रतिको आकर्षण घट्दो छ ।

मुलुकमा प्रजातन्त्र प्राप्ती र जनताका मौलिक अधिकारका निम्ति कठोर संघर्षहरु र जनआन्दोलनको नेतृत्व गरेको काँग्रेस आफ्नो आन्तरिक संगठनमा भने पुर्ण प्रजातन्त्रका मामिलामा पटक पटक चुक्दै आएको छ । पाटीको मुल नेतृत्व बाहेक पाटीको मेरुदण्डको रुपमा रहनुपर्ने भातृ  तथा शुभेच्छुक संघ संस्था तदर्थवादबाट सञ्चालन भइरहेका छन ।

अहिले देश नयाँ शासन प्रणालीमा गए पश्चात आफ्नो चुनावी घोषणा पत्र मार्फत नेपाल कम्युनिष्ट पाटीले तीनै तहका सरकार सुविधाजनक बहुमतका साथ सञ्चालन गरिरहेको छ । लोकतन्त्रको पहरेदारको रुपमा मानिने प्रमुख प्रतिपक्षी दलको हैसियतमा नेपाली काँग्रेसले अहिले जुझारु प्रतिपक्षको भुमिका समेत खेल्न सकिरहेको छैन । बरु सरकारलाई प्रतिपक्षबाट भन्दा आफ्नै दलभित्र रहेका गुट उपगुटहरुबाट खतरा छ ।

वर्तमान सरकार प्रजातान्त्रिक मुल्य मान्यतामा निरन्तर धावा बोलिरहेको, संस्थागत भ्रष्टाचारमा लिप्त रहेको, संवैधानिक मूल्य र मान्यतालाई व्यापक उल्लंघन गरिरहेको र कानुनले दोषी ठहर गरेका व्यक्तिहरुलाई महत्वपुर्ण राजनितिक नियुक्ती दिदा समेत काँग्रेस मौन छ ।

विकास र सम्वृद्धिको आशामा सरकार छानेका जनताहरु नै सरकारका गतिविधी तथा क्रियाकलापबाट आजित हुँदासमेत काँग्रेसले संसदमा जनताका एजेण्डा उठान गर्न नसक्नु नै विचार शून्य ,एजेण्डा विहिनताको प्रमाण हो ।

प्रजातान्त्रिक अभ्यासका नाममा नेतृत्वमा स्थापित हुने आशयका साथ पाटी भित्र झाँगिएका विभिन्न गुट तथा उपगुटका बीच पाटीका मार्गनिर्देशक सिद्धान्त,एजेण्डा र संगठन सुदृढीकरणमा समान धारणा नहुदा काँग्रेस आजको अवस्थामा पुगेको हो ।

टीको सर्वोच्च निकायको रुपमा रहने महाधिवेशनमा वैचारिक तथा सैद्धान्तिक एजेण्डा भन्दा पनि नेतृत्व चयनको विषयले बढी प्राथमिकता पाउँदा काँग्रेसले आफ्नो साख गुमाउदै गइरहेको छ ।

प्रजातान्त्रिक समाजबादका प्रतिपादक नेपाली काँग्रेसका संस्थापक महामानब विश्वेश्वरप्रसाद कोईरालाले परिकल्पना गरे बमोजिमको समाजवाद स्थापना गर्ने अभियानमा काँग्रेस चुक्दा राष्ट्रिय राजनीतिमा काँग्रेसको यो अवस्था भएको हो ।

प्राय स्काँग्रेसजनमा प्राय एउटा दम्भ र दाबी जहिल्यै रहेको पाईन्छ त्यो हो विगतमा काँग्रेसले प्रजातन्त्र स्थापना र जनताका मौलिक तथा राजनितिक अधिकार प्राप्तिका पक्षमा खेलेको भुमिका । तर समय परिवर्तन सँगै काँग्रेसले गरेका योगदानको चर्चा गरेर मात्र  नयाँ पुस्ता काँग्रेस प्रती आकर्षित हुने छैनन भन्ने बुझाई नेतृत्व पंक्तिमा रहेको पाईन्न ।

अब, बिपि कोइरालाले प्रतिपादन गर्नुभएको समाजवादको मुल मर्मलाई आत्मसात गर्दै समयसापेक्ष नीति,सिद्धान्त तथा एजेण्डा तय नगरी यथास्थितिमै पाटी सञ्चालन गर्ने हो भने त्यो स्वयं काँग्रेसका लागि प्रत्युत्पादक मात्र हुनेछैन काँग्रेस इतिहासको पानामा समेटिने दिन समेत नआउला भन्न सकिन्न ।

अहिले काँग्रेसको वडा तहदेखी,गाउँ ,नगर,जिल्ला,प्रदेश र केन्द्र सम्म महाधिवेशन सरगर्मी लागिसकेको छ । काँग्रेस संगठनको आधारस्तम्भको रुपमा रहेका कृयाशिल सदस्य वितरणमा वडा देखि केन्द्र सम्मै नेतृत्व मात्र हत्याउने दाउले हानाथाप छ ।

गठनको भावी नीति,वैचारिक लाईन,सिद्धान्त र एजेण्डामा बृहत सहमती गरी संगठन सुदृढ बनाउनुपर्नेमा नेतृत्व केन्द्रित अधिवेशन तयारीले भविष्यमा पनि काँग्रेस विचारशुन्य पाटीकै रुपमा कायम रहिरहने त होइन भन्ने शंशय पैदा भएको छ ।

वास्तवमा पुर्ण प्रजातन्त्र र जनताका अधिकार संविधानमा लिपिबद्ध भइ त्यसको कार्यान्वयन पक्षमा आवाज बुलन्द गर्नुपर्ने अहिलेको अवस्थामा अब महामानब बिपि कोइरालाले भनेझै पाटी भित्र तल्लो तहका कार्यकर्ताले एकपटक पुनः संघर्ष  गर्ने  दिन आएको छ ।

त्यसर्थ काँग्रेस स्थापना हुनुको मुल मर्मलाई जोगाउदै यो मुलुकमा प्राप्त उपलब्धिको रक्षा गर्दै सुशासन र अमनचयन मार्फत जनताका विकास र सम्बृद्धिका चाहाना पूरा गर्न तल्लो तहका कार्यकर्ताहरु एक भएर  अब वडा देखि नै वैचारिक,सैद्धान्तिक र नितिगत एजेण्डामाथी सहमती गरि जनताका इच्छा र आवश्यकताको उठान गर्ने,बिपिले परिकल्पना गरेको समाजवाद स्थापना गर्ने दिशामा अग्रसर हुने,सरकारका स्वेच्छाचारी प्रवृत्तिलाई रोकी विधि र संवैधानिक सर्वोच्चता कायम गराउन एक इन्च दायाँबायाँ नहुने काँग्रेस पाटी निर्माण गर्ने तर्फ लाग्नु जरुरी छ ।

अब पनि निति,बिचार र सिद्धान्तलाई ख्याल नगरी लहडको भरमा कुनै अमुक नेतालाई पदमा स्थापित गराईयो भने अहिले र भविष्यको काँग्रेसमा कुनै तात्विक अन्तर नहुने प्रष्ट छ ।

त्यसर्थ मुलुकमा हाल सम्म भएका परिवर्तनको रक्षा गर्न र नेपाली जनताको विकास,सम्बृद्धी र तत्कालिन आवश्यकताहरुको सम्बोधन गर्न उमेर समुहमा मात्र ध्यान नदिई समय सापेक्ष निति,बिचार तथा सिद्धान्त अबलम्बन गर्दै देशलाई समेत अग्रगमनमा लैजाने भिजन तथा योजना भएको नेतृत्व चयन गर्ने तर्फ आम कार्यकर्ताले विवेक पुर्‍याउनु जरुरी छ । 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved