शैक्षिक शत्र र नबनोस अलपत्र

  • प्रकाशित मितिः आश्विन ५, २०७७
  • १६३ पटक पढिएको
  • बाबुकाजी कार्की
alt

बाबुकाजी कार्की (पूर्व उपसचिव शिक्षा मन्त्रालय)

कोरोना प्रकोपको फैलावटको तीब्रताको प्रबृति हेर्दा यसको अन्त्य हुने समय आंकलन गर्न कठिन छ। यस्तो अन्यौलताम शैक्षिक शत्र अलपत्र हुनबाट कसरी जोगाउने ? कतिन्जेल सम्म विद्यार्थीलाई विद्यालय जान बाट रोक्ने? सामाजिक, आर्थिक र भौगोलिक विविधतामा हुर्केका विद्यार्थीलाई वैकल्पिक शिक्षण विधिबाट कसरी सहज पठनपाठन गर्न सकिएला?

वैकल्पिक शिक्षण पद्दतिलाई प्रभावकारी बनाउन सरकार, विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थीको के कस्तो भूमिका हुनु पर्ला? कस्ता मूल्यांकनका विधिहरु प्रभावकारी हुन सक्लान? संघीय सरकारले संचालन गरेका वैकल्पिक शिक्षण कार्यक्रममा स्थानीय सरकारको सक्रियता र स्वामित्व कसरी बढाउन सकिएला? संविधानअनुसार विद्यालय शिक्षाको समग्र व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिए तापनि उदासिनता किन देखिएको छ? यी र यस्तै जिज्ञाषाको सेरोफेरोमा वैकल्पिक शिक्षणको माध्यमबाट शैक्षिक शत्रलाई अलपत्र हुन बाट जोगाउन सकिन्छ।

शैक्षिक शत्र सुरु हुने समय झण्डै ५ महिना भइसकेको छ। शैक्षिक सत्रलाई कसरी नियमितता दिने भनेर सरकार र सरोकार पक्ष तथा शिक्षाविदहरु बीच चर्चा चुल्लिएको अवस्था छ। कोरोना कहर चाँडै निमिट्यान्ह हुने छाँट देखिदैन्। बालबालिका सँदाझैं विद्यालयमा गएर पढ्ने वातावरण चाँडै नबन्ने निश्चित छ। अहिलेको विषम् परिस्थितिमा शैक्षिकसत्र बैशाख बाटै शुरु हुनुपर्छ भन्ने तर्क सान्दर्भिक हुन सक्दैन। विद्यालयतहका विद्यार्थीहरुको पढाइलाई कसरी निरन्तरता दिने चुनौतिको विषय बनेको छ।

अहिले विद्यालय खुले पनि अभिभावकले ढुक्क भएर केटाकेटी पढ्न पठाउने छाँट देखिदैन्। कोरोना प्रतिरोधका स्थास्थ्य नियम विद्यालय र विद्यार्थीले पालना गर्ने अवस्था देखिदैन्। विश्वका विकसित भनिएका देशहरु अमेरिका, डेनमार्क, कोरिया, जापान, बेलायत लगायतका युरोपेली देशहरमा आंशिकरुपमा स्कूल खुले तापनि नियमितता छैन्। त्यहाँ पालना गरिएका स्वास्थ्य नियम तथा सावधानीहरु हाम्रो परिवेशमा कल्पना भन्दा बाहिरका विषय हुन। यस अप्ठ्यारो अवस्थामा पढाइको निरन्तरताको वैकल्पिक उपाय अनलाइन र अफलाइन शिक्षण नै हो। विश्वका अन्य देश तथा हाम्रोमा पनि अधिकाँश निजी तथा सामुदायक विद्यालयले शिक्षणका विविध विकल्पहरुको अभ्यास सुरु गरेका छन्।

अहिले सूचना प्रविधिमा आधारित वैकल्पिक शिक्षणलाई प्राथमिकताकासाथ अगाडी अघि बढाउन सबैखाले उपाय र अनुभव अबलम्बन गरिनु पर्दछ। देशको विभिन्न सुगम र दुर्गम भौगोलिक क्षेत्रमा छरिएर रहेका विद्यार्थीलाई समेट्ने गरी अनलाइन शिक्षण कसरी संचालन गर्न सकिएला? चिन्ता र चिन्तन विषय हो। अनलाइन शिक्षाको लागि आवश्यक उपकरण तथा नेटको सहज पहुँचको सुनिश्चितता कसरी गर्न सकिएला? राज्य गम्भिर छलफलबाट व्यवहारिक निष्कर्षमा पुग्नु पर्दछ।

त्यस्तै परंपरागत अध्यापनमा अभ्यस्त अधिकांश शिक्षकहरुबाट अनलाइन शिक्षण सहज होला त? मौजुदा पाठ्यक्रम र पाठ्यवस्तुहरुलाई अनलाइन सुहाउदो परिमार्जन नगरिकन शिक्षण सिकाइ उद्देश्यअनुरुप सार्थक होला र? यी र यस्तै चुनौतिहरुको विश्लेषणका आधारमा अनलाइन शिक्षाको तर्जुमा गरिनु पर्दछ। सूचना प्रविधिको प्रयोग गरेर अनलाइन प्रकृतिका शिक्षणको व्यवस्थापन सहज नभए पनि असम्भव छैन्। शिक्षामा अनलाइन कक्षा, इ—लर्निंग, भर्चुअल कक्षा आदीको उच्चतम प्रयोग गरी भविष्यमा डिजिटल नेपालमा रुपान्तरण गर्ने अवसरको रुपाम कोरोना महामारीलाई सदुपयोग गर्नु दूरदर्शिता ठहर्छ।

अनलाइन सिकाइ संचालनका लागि आधारभूत शर्तहरु कम्प्युटर, मोबाइल तथा इन्टरनेटको उपलब्धता र स्तर कस्तो छ? आम विद्यार्थीमा सहज पहुँच छ कि छैन्? अनलाइन प्रविधिलाई आत्मसात गर्ने दक्ष जनशक्ति पर्याप्त छ वा छैन? वस्तुपरक लेखाजोखा गर्न अल्छी गरिनु हुन्न। नेपाल दुरसंचारले भरखरै प्रकाशित गरेको तथ्यांकअनुसार कुल जनसंख्यामध्ये ७१.७६मा इन्टरनेट पहुँच छ। जसमध्ये तारसहितको सेवा १६.११ ताररहित मोबाइल आदीमा ५४.९० प्रतिशतको पहुँच देखिन्छ। पहुँच भएका घरमध्ये व्यक्तिगत सुबिधा भएका ८ प्रतिशत मात्रै छ। त्यसमा पनि शहरमा १२ प्रतिशत र पहाडमा २ प्रतिशत मात्रै छ ।

युनिसेफको पछिल्लो अध्ययनअनुसार कम्प्युटर र इन्टरनेट सुबिधा भएका विद्यार्थी संख्या ८ प्रतिशत, ३७ प्रतिशत बालबालिकाको घरमा टेलिभिजन, ८० प्रतिशतको घरमा मोबाइल फोन र ३० प्रतिशतको घरमा रेडियो रहेको देखिन्छ। दुर्गम तथा शहरी क्षेत्रमा सूचना प्रबिधिका सुबिधाहरुको विविधता भएको ले अनलाइन कक्षाको योजना पनि सोही अनुसार गरिनु पर्दछ। साथै दक्ष र जाँगरिलो तथा जवाफदेही शिक्षकको अभावमा अनलाइन

शिक्षा कागजी घोडा मात्रै नबन्ला भन्न सकिन्ना

पठनपाठनलाई निरन्तरता दिन चुनौती भएको छ। अनलाइनमा आधारित शिक्षणबाट ग्रामिण भेग र विपन्न वर्गका बालबालिकालाई समेट्न संभव छैन्। विभिन्न सुविधामा रहेका विद्यार्थीहरुको पढाइलाई निरन्तरता दिन विविध कार्यक्रमहरु अपनाउन सकिन्छ। कोही रेडियोमा, कोही पुस्तक र सहयोगी छापाम, कोही अनलाइन र भर्चुअल, कोही घर टोलमा झूण्ड बनाएर तथा थोरै विद्यार्थी भएका विद्यालयहरुमा आलोपालो उपस्थित भएर पठनपाठनलाई नियमितता दिन सकिन्छ।

आधारभूत तहका विद्यार्थीको लागि उमेरगत शारीरिक, मानसिक विकास तथा चञ्चले स्वभावका कारण अनलाइन शिक्षा खासै प्रभावकारी हुन सक्दैन्। त्यसकारण अहिले कतिपय सामुदायिक विद्यालयले टोल शिक्षण विधि अपनाएका छन्। पायक पर्ने घर वा चौतारीमा भए पनि बालबालिकालाई जम्मा गरेर गृहकार्य दिने, जिज्ञासा, र समस्या समाधानगर्ने, सानो तिनो प्रोजेक्ट वर्क दिने, अघिल्लो भेटमा दिएको गृहकार्य जाँच्ने, पृष्ठपोषण दिने, सिकाइलाई दैनिक दिनचर्यासंँग जोड्ने आदी क्रियाकलाप र अभ्यास टोल शिक्षणमा गरिन्छ। यस पद्दतिअनुसार शिक्षकले समयतालिका बनाएर टोल टोलमा गएर आवश्यकता अनुसार विद्यार्थी र अभिभावकसँग प्रत्यक्ष छलफल र अन्तरक्रियात्मक शिक्षण गर्दछन्।

पाठ्यक्रममा भएका विषयवस्तुलाई गहन विश्लेषण गरी आफैले अध्ययन गर्ने, शिक्षकसंग सिक्ने तथा महत्वको आधारमा ३० प्रतिशत सम्म कटौति गरेर लागू गर्ने। शैक्षिक सामग्रीहरुको निर्माणको पहल पाठ्यक्रम विकास केन्द्र र स्थानीयस्तरमा शिक्षकहरुको परिचालन गरेर बनाउदा प्रभावकारी हुन्छ। विद्यार्थीको सिकाइ उपलब्धीको मूल्यांकन परम्परागत तीन घन्टे पेपरपेन्सील परीक्षाको सट्टा खोज र अनुसन्धानमा आधारित गृहकार्यहरु बाट मौलिकता जाँच्ने नीति उपयोगी हुन्छ।

वैकल्पिक शिक्षणको प्रभावकारिता शिक्षकको सक्रियता, इच्छाशक्ति र जवाफदेहितामा मात्र सुनिश्चित हुनसक्छ। विद्यालय तहका अभिभावकलाई स्थानीयस्तरमा विद्यालयगतरुपमा वैकल्पिक शिक्षणको महत्व, अभिभावकले निर्वाह गर्नुपर्ने भूमिका बारेमा प्रशिक्षित गर्नुपर्ने हुन्छ। विद्यालय तथा शिक्षकको निरन्तर र सहज सम्पर्कले मात्रै अनलाइन र अफलाइन शिक्षण विधिहरु सार्थक हुन्छ भन्ने तर्फ हेक्का राख्न विर्सनु हुन्न।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved