संस्कृत साहित्य र वैदिक युग

  • प्रकाशित मितिः आश्विन ५, २०७७
  • २२७ पटक पढिएको
  • बन्धु घिमिरे
alt

विश्वका आदिम भाषाहरू मध्येकै बृहद्भाषा परिवार भारोपेली भाषा परिवार भित्रै पर्ने ग्रीक, ल्याटिन, तथा संस्कृत भाषा मध्ये संस्कृत सबैभन्दा जेठो र समृद्व भाषा हो । यस भाषाको अस्तित्व ईसा पूर्वको ४५०० वर्ष अगाडि रहेको ऐतिहासिक प्रमाण भेटिन्छ ।

परा–पूर्वकालदेखि नै आर्य जातिहरूले प्रयोग गर्दै आएको संस्कृत भाषा देववाणी वा देवभाषाका रूपमा स्वीकार्ने गरिन्छ । आधुनिक आर्य भाषाहरूको मूल भाषा पनि संस्कृत नै हो । यो भाषा अव्याकृत रहेकाले सर्वसाधरण व्यक्तिहरूलाई भाषिक सम्प्रेषणका लागि प्रातिपदिक पाठ (प्रत्येक पदहरूको पाठ) अध्ययन गर्नु पर्ने भएकाले बोधगम्य भएन । तसर्थ देवताहरूको अनुरोधमा देवराज इन्द्रले यसलाई प्रकृति र प्रत्ययको विभाजन गरी शब्दहरूको उपदेश गरी अध्ययनलाई सुगम तुल्याएका र यसको नाम संस्कृत रहेको कुरा महाभाष्यमा उल्लेख छ ।

(शर्मा ः ३) साहित्यको सम्पन्न परम्परा, धर्म, दर्शन, नीति र व्यवहारिक आदि ग्रन्थहरूमा संस्कृत  भाषाको आदिम प्रयोग भएको र अभिव्यक्तिगत प्रभावकारिताका कारण यसको महत्व पहिलेदेखि नै रहेको स्पष्ट हुन्छ । यास्क, पाणिनी, कात्यायन, पतञ्जली, जस्ता वैयाकरणिकहरूले यस भाषालाई वैदिक भाषाभन्दा फरक ढङ्गले लौकिक संस्कृतमा निर्वचन गरी जन साधारणको भाषाका रूपमा प्रतिस्थापन गरे । चिँनिया यात्री ह्वेन साङ्ले भारतीय उपमहादीपमा प्राचीनकालमा आधिकारिक बोलीचालीको भाषा संस्कृत नै रहेको बताएका छन् (शर्मा ः ४) ।

यसरी बोलीचालीका माध्यमका रूपमा स्थापित भइसके पछि जुनसुकै भाषाको पनि समृद्विका निम्ति साहित्य सृजनाहरूको आवश्यक पर्दछ । वेद र वैदिक साहित्यको युग स्मृति, पुराण र काव्य रचनाको युग तथा भाष्य र प्रकीर्ण रचनाका युगका रूपमा यस भाषाको विकास भयो । फलस्वरूप यसले समृद्विको पूर्णतः फड्को मार्यो । यसरी भाषाकै परिचायक रूपमा अगाडि बढेको संस्कृत साहित्यको युगलाई निम्नानुसार काल विभाजन गर्न सकिन्छ ः

संस्कृत साहित्यलाई दुई भागमा विभाजन गरिएको छ ।
१. वैदिक संंस्कृत युग
२. लौकिक संस्कृत युग
वैदिक संस्कृत युगलाई पनि २ भागमा विभाजन गरिएको छ ।
१.१. पूर्व वैदिक युग
१.२. उत्तर वैदिक युग

       वैदिक संस्कृत युगलाई वैदिक साहित्यको युग भनिन्छ । यसलाई दुई भागमा विभाजन गर्न सकिन्छ । १. पूर्व वैदिक युग २. उत्तर वैदिक युग । पूर्व वैदिक युगमा वेदका चार संहिताहरू छन् । १.ऋक् २. यजु ३. साम ४. अथर्व संहिता पर्दछन् भने उत्तर वैदिक युगमा ब्राह्मण, आरण्य र उपनिषद्देखि लिएर षड् वेदाङ्ग (वेदका ६ अङ्गहरू– शिक्षा, कल्प, निरूक्त, व्याकरण, छन्द, ज्योतिष) सम्म पर्दछन् । वास्तवमा वेद भनेको मूलतः मन्त्रहरूकै संहिता हो । साथसाथै उत्तरवर्ती ब्राह्मण, आरण्यक र उपनिषद् ग्रन्थहरू वेदकै मर्मका व्याख्याता हुन् ।
 
       धर्म, संस्कृति, समाज, राजनीति, दर्शन, कर्म आदि विषयगत आधारमा वैदिक साहित्यकाल पूर्व वैदिक र उत्तर वैदिक युग गरी दुई भागमा वर्गीकरण गरिएको छ । पूर्व वैदिक युग अन्तरगत ४ वेद संहितालाई समावेश गरिएको छ भने उत्तर वैदिक युग अन्तरगत व्राह्मण ग्रन्थदेखि लिएर (६) वेदाङ्गसम्मको साहित्यलाई राखिएको छ  ।

  वैदिक सनातन धर्मीहरूको धर्मग्रन्थ मानिने वेद नै वैदिक संस्कृत साहित्य अन्तरगतको पहिलो रचना हो । भनेको ज्ञान हो र यो ज्ञान मन्त्रहरूमा समाविष्ट भएको छ । वेद ग्रन्थहरूलाई विभिन्न समयमा विभिन्न ऋषिहरूले सङ्कलन गरेका हुन् । ऋषिहरूद्वारा सङ्कलित र सम्पादित यी वेदहरूका अनेक समूह छन् र त्यस्ता समूहलाई नै संहिता भनिएको छ । वेदमा आर्यजातिको आध्यात्मिक जीवन र सांस्कृतिक विकासको ऐतिहासिक दिक्दर्शन पाइन्छ । वेदको मुख्य विषय ज्ञान कर्म र उपासनाको विश्लेषण गर्न हो ।
 
यद्यपि यसमा हिन्दू वा वैदिक सनातन धर्मीहरूको धार्मिक, सांस्कृतिक, साहित्यिक, वैज्ञानिक, सामाजिक, राजनैतिक, ऐतिहासिक, र आध्यात्मिक उन्नतिको विस्तृत विवेचनाका साथै मानव जातिको विकासको कथा पनि वर्णित छ । यसै आधारमा वेदलाई सर्वज्ञानमयो वेदः भनी सबै प्रकारका ज्ञानका मूलका रूपमा स्वीकारिन्छ ।यसरी वेदलाई ज्ञान र धर्मको मूल भनिएको हो । मनुस्मृतिले वेदलाई धर्मको सबैभन्दा ठूलो प्रमाण मानेको छ । वेद विश्वकै सबैभन्दा पुरानो ग्रन्थ हो र यसमा प्रयुक्त भाषा आर्यहरूको प्राचीनतम् भाषा हो ।
 
   पहिले वेद भनेर मन्त्र संहिता र ब्राह्मण ग्रन्थलाई मात्र लिइन्थ्यो भने पछि असुरादि ५ वेदका साथै नाटकलाई समेत वेदको संज्ञा दिइएको पाइन्छ । यद्यपि आजका सन्दर्भमा वेद भन्नाले ४ वेदलाई नै बुझिन्छ । वेदका व्याख्याका रूपमा देखिएका उत्तरवर्ती उपनिषद् आदि ग्रन्थहरू चाहिँ वेद नभएर वैदिक साहित्य अन्तरगत पर्दछन् ।

   वेद शब्दको अर्थ ज्ञान हो र यो ज्ञान मन्त्रमा समाविष्ट गरिएको छ । वेद सम्बन्धी ज्ञानको सङ्कलन मन्त्रमा गरिएको हुनाले यिनै मन्त्रहरू नै संहिताका नामले चिनिन्छन् । वेदको सङ्ख्या ४ रहेको छ र यी चारवेदका चारवटै संहिता रहेका छन् । चार वेदका ४ चारै भाग पनि छन् । ती संहिता, ब्राह्मण, आरण्यक, उपनिषद् ग्रन्थ हुन् ।

 संहिता भनेको वेदस्तुति वर्णित मन्त्रहरूको समूह हो । जसलाई विभिन्न युगमा पढिँदै आएको छ । ब्राह्मण ग्रन्थ भनेका वेद मन्त्रका विधि भागको व्याख्या पाइन्छ । आरण्यक ग्रन्थमा वानप्रस्थ जीवन बिताउने वीतरागी मनुष्यहरूको कर्म विधानको उल्लेख पाइन्छ भने उपनिषद्मा वेद मन्त्रको दार्शनिक व्याख्या प्रदर्शन गरिएको छ ।

विषयगत दृष्टिले हेर्दा वेदलाई कर्मकाण्ड र ज्ञानकाण्ड गरी दुई भागमा वर्गीकरण गरिएको छ । वैदिक साहित्य वेदका यिनै दुई विषयको केन्द्रीयतामा निर्मित छ । संहिता, ब्राह्मण र आरण्यक ग्रन्थहरूमा याज्ञिक अनुष्ठान सम्बन्धी विधानको उल्लेख पाइनाले यी कर्मकाण्ड र कर्म काव्यक विषय मानिन्छन् । उपनिषद्मा चाहिँ आत्मा, ब्रह्म र सृष्टि ज्ञानको रहस्यको ज्ञान पाइन्छ । त्यसैले उपनिषद्लाई वेदको ज्ञान काण्ड भनिएको हो । वेदको अन्तिम व्याख्यामा उपनिषद्हरू देखिएकाले उपनिषद्लाई वेदान्त पनि भनिन्छ । समग्रमा वेद (ज्ञान) सँग सम्बन्धित यिनै संहिता ब्राह्मण, आरण्यक र उपनिषद्को समष्टि रूपलाई नै वैदिक साहित्य भनिन्छ ।

वेद शब्दको व्युत्पति र अर्थ

वेद हिन्दू जातिको सबैभन्दा पुरानो र पवित्र ग्रन्थ हो । हिन्दू वा वैदिक संस्कृति अन्तरगतका सम्पूर्ण क्रियाहरूको मूल वेदलाई मानिन्छ । आर्य जातिका संस्कृति धर्म दर्शन साहित्य आदि सम्पूर्ण विषयहरूको मूल स्रोत वेद आधुनिक वेदज्ञ विद्वान्हरूले पनि यसको सर्व ज्ञानमय स्वरूपलाई स्वीकारेका छन् । वास्तवमा वेद भनेको हिन्दू सनातन धर्म परम्पराअनुसार तपस्वी ऋषिमुनिहरूद्वारा दृष्टि वा साक्षात्कार गरिएको ईश्वरीय ज्ञान हो । वेद शब्दको व्युत्पत्तिका सम्बन्धमा संहिता देखि लिएर उपनिषद् आयुर्वेद, नाट्यशास्त्र, कोश मनुस्मृति आदि ग्रन्थहरूमा व्यापक चर्चा भएको पाइन्छ । संस्कृत व्याकरणका अनुसार वेद शब्दको व्युत्पत्ति ४ धातुबाट हुन्छ ।
ड्ड विद् ज्ञाने
ड्ड विद् सत्तायाम्
ड्ड विद् लाभे
ड्ड विद् विचारणे ।
  उक्त सबै ग्रन्थहरूले वेद शब्दको प्रयोग मन्त्र संहिताका अर्थमा गरेका छन् । ऋग्वेदको भाष्यकर्ता स्वामी दयानन्द सरस्वतीले वेदको निर्वचन गर्ने क्रममा वेदलाई मान्छेहरूले सत्य विद्याप्राप्त गर्ने, विचार गर्ने विद्वान् बन्ने अथवा सत्य विद्याप्राप्तिका लागि प्रवृत्त रहने माध्यमका रूपमा चिनाएका छन् । यसरी वेद शब्दको निर्वचन गर्दा विद्वान्हरूले आ–आफ्नो शैली अपनाए पनि यसको अर्थका सम्बन्धमा सबैको आशय एउटै रहेको देखिन्छ । वेद शब्दको व्युत्पत्ति ज्ञानार्थक  विद् धातुबाट हुने भएकाले यसको व्याकरण निष्पन्न शास्त्रीय अर्थ पनि ज्ञान नै हुन आउँछ ।
 
वेदको विभाजन
 
वेदको संख्या कति थियो भन्ने सन्दर्भमा कूल तीन किसिमका विचारहरू प्रसिद्ध रहेका छन् । एकथरी विद्वानहरू वेदको एकल अस्तित्व स्वीकार गर्दछन् भने अर्काथरी विद्वानहरू वेद आरम्भमा तीन थिए र पछिबाट ४ वेदको अस्तित्व कायम भएको कुरा बताउँछन् ।

एउटा यस्तो समुह पनि छ जसले वेद, आरम्भ देखि नै चतुष्पाद् रहेको तर्क अघि सारेको छ । भाष्यकार महिधरले मन्त्र परम्पराबाट प्राप्त वेद मनुष्यको हितलाई ध्यानमा राखेर व्यासले ४ भागमा वर्गीकरण गरेका र यस क्रममा पैल्ह नामक शिष्यलाई ऋग, वैशम्पायनलाई यजु, जैमिनीलाई साम र सुमन्तुलाई अथर्ववेदको उपदेश दिएको कुरा उल्लेखित छ ।

       वेदको एकल अस्तित्व स्वीकार गर्ने यारकीय निरक्तका टिकाकार दुर्गाचार्य लगायतका विद्वान्हरू वेद मूल रूपमा एउटै थियो र सबै वैदिक  मन्त्रहरू एक अर्कासँग अन्तर सम्बन्धित थिए भन्दै वेद अलग अलग हुनै नसक्ने बताउँछन् । प्राचीनकालमा वेद अति नै दुर्बोध्य रहेकाले त्यसलाई सुगम बनाउन व्यासले विभिन्न शाखामा विभाजन गरेका हुन भन्ने राय यिनीहरूको छ ।

तीन वेदको अस्तित्व स्वीकार गर्ने विद्वान्हरू समष्टिगत रूपमा वेद एउटै भए पनि विषय र प्रस्तुतिका दृष्टिले वैदिक मन्त्रहरूमा विविधता थियो र त्यही विविधताका आधारमा वेदलाई ऋग्यजुसाम गरी तीन भेदमा विभाजन गरी वेदका तीन प्रकार स्वीकार्नु पर्ने बताउँछन् । ऋक्यजु र सामको समष्टि रूपलाई नै वैैदिक साहित्यमा वेदत्रयी भनिएको हो भन्ने यिनीहरूको विचार छ ।
 
वैदिक मन्त्रहरू ऋग् (स्तुति), यजु (पुजा) र साम(गीति) विषयक भएकाले स्तुतिपरक, छन्दोबद्ध मन्त्रहरूको संयोजन ऋग्वेदमा, पूजापरक गद्यात्मक मन्त्रहरूको संयोजन यजुर्वेदमा, गीतिपरक मन्त्रहरूको संयोजन सामवेदमा भएको र यसै आधारमा वेदत्रयीले प्रसिद्धि पाएको भन्ने विचार विद्वान्हरूको छ ।

परमात्माले यज्ञसिद्धिका लागि उक्त तीन वेदहरू क्रमशः अग्नि, वायु र सूृर्यबाट प्राप्त गरेको कुरा मनुस्मृतिमा उल्लेख गरिएको छ भने शतपथ ब्राह्मण ग्रन्थमा अग्नि, वायु र सूर्यले स्वयम् तपस्या गरेर तीन वेद उत्पन्न गरिएको भन्ने लेखिएको छ (शर्मा ः १७) । आरम्भमा वेदत्रयीको अस्तित्व स्वीकार गर्नेहरू स्तूति, पूजा र गीतिपरक मन्त्रहरूको संयोजन तीन वेदमा भएको र अवशिष्ट मन्त्रहरूलाई पछिबाट अथर्ववेदमा संयोजन गरेपछि मात्र वेदको सङ्ख्या ४ पुगेको बताउँछन् ।
 
यसका विपरित वेद आरम्भदेखि नै चतुष्पाद थियो भन्ने विचार पनि छ र अन्य विचारका तुलनामा त्यो तेस्रो विचार सर्वाधिक मान्य देखिन्छ । यजुर्वेद मूल रूपमा एउटै भए पनि यो आरम्भदेखि नै चतुष्पाद रहेको तथ्य पाइन्छ । ब्राह्मण ग्रन्थ, पौराणिक ग्रन्थ, वैदिक भाष्य ग्रन्थका साथै अधिकांश विद्वान्हरूका दृष्टिमा तथा यजुर्वेदमा समेत वेद चतुष्पाद् रहेको भन्ने देखिएको हुँदा यही मन्त्र नै बढी सान्दर्भिक छ । ऋक्वेदमा वैदिक देवताहरूको स्तुति गरिएका मन्त्रहरू छन् ।
 
पद्यमा लेखिएका यस्ता मन्त्रहरूलाई ऋच् भनिन्छ । यजुर्वेदमा देव यज्ञ र पूजा सम्बन्धी विधान वर्णित गरिएका मन्त्रहरूलाई यजुष् भनिन्छ । यज्ञका अवसरमा देवतालाई प्रशन्न तुल्याउन तथा विग्न विनासका लागि ऋषिहरूद्वारा गाइने मन्त्रहरू सामवेदमा पाइन्छ । सर्वज्ञानमयो वेदः भनी व्याख्या गरिने वेदका चार संहिताहरू रहेका छन् । ती संहिताको छोटो परिचय ः—
(क) ऋग्वेद संहिता ः—
ऋच्यते स्तुयते अनया इति ऋक्  यसरी स्तुति भन्ने अर्थमा रहेको ऋग्वेद संहिता भित्र देवतासँग सम्बन्धित अतिगुह्य ज्ञानको प्रतिपादन गर्ने स्तुतिपरक छन्दोबद्ध पद्यात्मक ऋचाहरूको सङ्कलनलाई ऋग्वेद संहिता भनिन्छ । महर्षी वेदव्यासले सर्वप्रथम आफ्ना शिष्य पैललाई यस वेदको शिक्षा दिएका थिए ।
(ख) यजुर्वेद संहिता ः—
यजुष् अर्थात् पूजा एवं यज्ञ भन्ने अर्थ रहेको यजुर्वेद संहिता भित्र देवविषयक पूजा अर्चनाका विधि तथा अनुष्ठानहरूको वर्णन भएका गद्यात्मक मन्त्रहरूको समूहलाई यजुर्वेद संहिता भनिन्छ । आफ्ना शिष्यहरूको पहिचान गर्ने क्रममा यस संहिताको शिक्षा वेदव्यासले सर्वप्रथम वैशम्पायनलाई दिएका थिए ।
(ग) सामवेद संहिता ः—
सामन् अर्थात् गीत वा लयात्मकता भन्ने अर्थ रहेको यस सामवेद संहितामा यज्ञका समयमा प्रत्युहार (बिग्न) निवारणका लागि वा देवदेवीहरूलाई प्रशन्न गर्नका लागि गाइने स्वर तालबद्ध गेयात्मक मन्त्रहरूको समूहलाई सामवेद संहिता भनिन्छ । यसको शिक्षा सर्वप्रथम ऋषि जैमिनीलाई वेदव्यासद्वारा प्रदान भएको थियो ।
(घ) अथर्ववेद संहिता ः—
 अथर्वन् अर्थात् अग्निको पूजा गर्ने पुरोहित यस अथर्ववेद संहितामा बिग्न विनासका लागि र मरण, मोहन तथा उच्चाटन जस्ता अभिचारका विषयसँग सम्वन्धित मन्त्रहरूको समूहलाई अथर्ववेद संहिता भनिन्छ । महर्षी वेदव्यासले सर्वप्रथम आफ्ना प्रिय शिष्य सुमन्तुलाई यस संहिता सम्बन्धि शिक्षा दिएका थिए ।
                                                             लेखक – फाल्गुणी घिमिरे ‘बन्धु’ (शास्त्री÷बि.एड.÷एम.ए. नेपाली)


सन्दर्भ ग्रन्थहरू ः —
शर्मा, गोपीकृष्ण, संस्कृत साहित्यको रुपरेखा (२०६३), काठमांडौः शब्दार्थ   प्रकाश ।
आचार्य ,कृष्णप्रसाद आदि, साहित्य इतिहास, सिद्दान्त, नेपाली साहित्यको इतिहास र संस्कृत साहित्यको रुपरेखा, काठमांडौ ः क्षितिज प्रकाशन ।
उपाध्याय वलदेव, संस्कृत साहित्यको इतिहास, वाराणसी ः सारदा निवेदन ।
गैरे, इश्वरीप्रसाद, नेपाली साहित्यको इतिहास तथा संस्कृत र पाश्चात्य साहित्यको रुपरेखा, कीर्तिपूर ः क्षितिज प्रकाशन ।
दिक्षित मदनमणि, ऋग्वेदः केही प्रमुख सुक्त, काठमाडांैः पैरवी प्रकाशन ।
स्वामी, प्रपन्नाचार्य, वेदमा के छ, काठमाडौं ः साझा प्रकाशन ।  

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved