बजार अनुगमन गर

  • प्रकाशित मितिः आश्विन १०, २०७७
  • १९९ पटक पढिएको
  • सञ्चारपाटी
alt

लकडाउनको फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुको मुल्यमा उच्च वृद्धि भएको छ । लकडाउनका कारण सामानको ढुवानी खर्च बढेको भन्दै व्यवसायीहरूले मनोमानी रुपमा दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि गरेका छन । खाद्यान्न मौज्दात पर्याप्त भएकाले मूल्य नबढेको सरकारले दावी गरे पनि बजारमा भने उपभोग्य वस्तुको मूल्य अकाशिनु दुःखद् हो ।

दशैँ तथा महत्वपूर्ण चाडबाडका बेलामा कृत्रिम मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट, म्याद सकिएका वस्तुको विक्री तथा नापतौलमा ठगी हुन सक्ने धेरै सम्भावनाहरु छन । चाडबाडका बेला उपभोक्तासँग चर्को मूल्य लिइने मात्र होइन पुुराना तथा कमसल वस्तुको विक्री र खासगरी खाद्यपदार्थमा मिसावट गरिने विगतको अनुभव छ ।

तर स्थानीय प्रशासन, घरेलु कार्यालय, खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालय, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, स्थानीय तहको हकमा उप–प्रमुख तथा उपाध्याक्षको नेतृत्वमा नियमित रुपमा बजार अनुगमन गर्ने कानुनी प्रावधान भएपनि त्यसको बेवास्ता भएको छ ।

विपतका बेला जनतालाई सहज र सुलभ रुपमा उपभोग्य वस्तुहरुको व्यवस्था गर्नु पर्नेमा सम्बन्धित निकाय मौन बस्नु आम उपभोक्ता माथि नै थप पीडा थप्नु हो । उपभोग्य वस्तु पहिलेको जस्तो सर्वसुलभ रूपमा पाइन पनि छाडेको छ ।

धेरैजसो व्यापारीले खाद्य तथा दैनिक रूपमा चाहिने अन्य सामान लुकाई कृत्रिम अभाव सिर्जना गरेका छन । यसै कारणले बजारमा रहेका सामानको भाउ पनि उल्लेख्य रूपमा वृद्धि भएको छ । समग्र देशमा मात्र नभई इटहरी बजारमा लामो समय देखि बजार अनुगमन हुन सकेकाके छैन ।

यसलाई नियन्त्रण गर्न सरकारले कुनै चासो देखाएको छैन । नेपाली जनता कोरोना भाइरस बाट भन्दा पनि अहिले दैनिक उपभोग्य सामान नपाइनु र पाइए पनि महंगो मूल््यमा खरिद गर्नु पर्दा चिन्तित बनेका छन । बजार अनुगमन तथा नियमन गर्ने निकायले आफ्नो जिम्मेवारी पुरा नगरेको कारण व्यापारीहरुले उपभोग्य वस्तुमा मूल्य वुद्धि गरेका छन ।

विगतमा भारतले नाकाबन्दी गर्दा र भूकम्प जाँदा जुन कठिनाई भोग्नुपरेको थियो, सोही अवस्था आउने बेला भइसकेको आम जनताले महशुस गरेका छन । केही दिन सरकारले वास्ता नगर्ने हो भने यस्तै अवस्थाको सिर्जना हुने निश्चित छ ।

त्यसैले सरकारले अब कडा कदम चाल्नु नै पर्ने भएको छ । मुलुकमा कुनै एउटा समस्या देखापर्दा लुट्न पल्केकाहरूलाई खोजी–खोजी कारवाही गर्ने बेला यही हो । तसर्थ सम्बन्धित निकायले सामान लुकाउने तथा महँगोमा बेच्नेलाई बढी मात्रामा निगरानी बढाई निरन्तर अनुगमन गर्न जरुरी छ ।

विक्री गर्न नहुने सामग्री बजारमा पुग्नै नसक्ने वितरण पद्धति बनाउनु आवश्यक छ । सामान बेच्ने साना व्यापारीभन्दा त्यो सामानको आधिकारिक थोक विक्रेता को हो र कसले कहाँबाट कसरी गुणस्तरहीन वस्तु विक्री गरेको छ भन्ने जानकारी प्राप्त हुने अनुगमन प्रणाली बनाउन सकिए अनुगमन अगाडी बढाउनु पर्छ ।

नेपालको संविधान र उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्ताका अधिकार संरक्षण गरेका छन तर जीवन मरणसँग सम्बन्धित औषधिमा समेत मिसावट वा नक्कलीको विक्री गरिएका घटना नयाँ लाग्दैनन । अस्वस्थकर माछामासु समयावधि नाघेका दूध तथा दुग्धजन्य पदार्थ, तथा तेलघिउ, मिठाईलगायतमा बढी मिसावट हुने गरेकाले यी पदार्थमा उपभोक्ता बढी सचेत हुनुपर्ने हुन्छ ।

सजाय र नियन्त्रणभन्दा पनि सरकारले वितरण प्रणाली र उपभोक्ताले मूल्य देखि म्याद तथा परिमाणमा ध्यान दिन सक्ने हो भने समस्यालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । बजारमा हुने अनियमितता एकै दिन र एकै निकायको पहलले नियन्त्रण गर्न सम्भव नहुने भएकाले सबै सरोकारवाला पक्षको संलग्नता र अल्पकालीन तथा दीर्घकालीन योजना सहित निरन्तर बजार अनुगमनको पहल हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved