के हामी खाना खान जान्दछौं? कुन खानासँग के खाने, के नखाने?

  • प्रकाशित मितिः कार्तिक १३, २०७७
  • २१६ पटक पढिएको
  • रमादेवी महर्जन
alt

अहिले हाम्रो भान्छामा धेरै किसिमका परिकार पाक्छ। पोषणका लागि थरिथरिका खाना मिसाएर खाने चलन छ। यसरी मिसाइएको खानाले शरीरमा कस्तो असर गर्छ, पाचन ठीक तरिकाले हुन्छ-हुँदैन, शरीरलाई ठीक छ-छैन भन्नेमा हामीले ध्यान दिएका छैनौं।

एकैचोटी धेरै थरिका खाना खाँदा शरीरलाई बल होइन, पाचन प्रक्रियालाई भार पर्छ। त्यसैले स्वस्थ रहन खाने सही तरिका के हो, कुन खानासँग कस्तो खाना मिलाएर खान मिल्छ र कुनसँग कुन मिसाएर खानु हुँदैन भन्ने सामान्य ज्ञान सबैमा हुनुपर्छ। त्यसका लागि पहिला शरीरलाई चाहिने खाना के-के हुन्, ती कहाँ र कसरी पाचन हुन्छ भन्ने बुझ्न जरुरी छ।

हाम्रो शरीर निर्माण र सञ्चालन गर्न विभिन्न पोषक तत्व चाहिन्छ। ती तत्व शरीरले खानाबाटै पाउँछ। शरीरका लागि चाहिने पोषक तत्वमा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, भिटामिन, मिनिरल्स, रेशा र पानी हुन्।

कार्बोहाइड्रेट

हाम्रो दैनिक काम गर्न र शरीर सञ्चालन गर्न सबभन्दा बढी चाहिने खाद्य पदार्थ हो कार्बोहाइड्रेट। यसले शरीरलाई शक्ति दिन्छ।

यो विशेषतः भात, रोटी, मकै, गहुँ, दाल र गेडागुडीमा पाइन्छ। गुलिया खाद्यपदार्थ, गुलिया फलफूल, छोकडा, किसमिसका साथै आलु, पिँडालु, तरुल, सखरखण्ड, काउली र गाजरमा पनि प्रशस्त हुन्छ। कार्बोहाइड्रेटको दैनिक आवश्यकता मानिसले गर्ने शारिरीक गतिविधि र परिश्रममा भरपर्छ। कार्बोहाइड्रेट पाचनपछि चिनी अर्थात ग्लुकोजमा परिवर्तन हुन्छ।

प्रोटिन

शरीर निर्माण र मर्मतका लागि प्रोटिन चाहिन्छ। प्रोटिन मांसाहार खाना माछा, मासु, अण्डा, दूध, दही, दाल र गेडागुडीमा पाइन्छ। प्रोटिन पाचन पछि एमिनो एसिडमा परिवर्तन हुन्छ।

चिल्लो

हाम्रो शरीरका हाड सञ्चालन गर्न चिल्लो चाहिन्छ। चिल्लो वनस्पति र जीवजन्तुबाट पाइन्छ। शरीरमा चिल्लो पाचन भएपछि फ्याटी एसिडमा परिवर्तन हुन्छ। आवश्यकताभन्दा बढी चिल्लो खानु हुँदैन नभए शरीरको तौल, रगतमा कोलस्टेरोल र रक्तचाप बढ्ने हुन्छ। 

भिटामिन

भिटामिन शरीरलाई अति आवश्यक खाद्यतत्व हो। यो हाम्रो शरीरमा सुक्ष्म मात्रामा हुन्छ तर यसको कमी भए समस्या हुन्छ। यो हरिया सागसब्जी, फलफूल र पूर्ण अन्नमा पाइन्छ।

मिनिरल्स

हाम्रो शरीरमा २४ किसिमका मिनिरल्स हुन्छन् जसमा क्याल्सियम, फोस्फोरस, सोडियम, पोटासियम, आइरन, आयोडिन र म्याग्नेसियम मुख्य हुन्। यसले शरीर निर्माण र रोग प्रतिरोधात्मक क्षमता विकास गर्न मद्दत गर्छ। मिनिरल्स सबैखाले फलफूल र हरिया सागसब्जीमा पाइन्छ।

पानी

बाहिरी सरसफाइका लागि जसरी पानी चाहिन्छ त्यसैगरी शरीरको भित्री सफाइका लागि पनि पानी आवश्यक हुन्छ। हाम्रो शरीरमा पसिना, शौच, पिसाब र स्वास मार्फत फोहोर निष्कासन हुन्छन्। शरीरमा पानीको कमीले शरीरबाट निष्कासन हुनुपर्ने फोहोर निष्कासन हुन पाउँदैन।

साथै पानीको कमीले खाएको खाना राम्रोसँग नपच्ने, दिशा कडा र कब्जियत हुने हुन्छ। सामान्यतः एक वयस्क व्यक्तिलाई दैनिक ३‍ देखि साढे ३ लिटर पानी चाहिन्छ।

रेशा

खानु मात्र ठूलो कुरा होइन। खाएपछि २४ घन्टामा पाचन भएर शरीरलाई चाहिने रस सोसेर बाँकी भएको ठोस अंश बाहिर निष्कासन भई पेट सफा हुनुपर्छ। स्वास्थ्यका लागि सही खानपान, सही पाचन र पेटको सफाइ अनिवार्य छ। पाचन राम्रोसँग हुन र पेट सफा हुन खानामा प्रशस्त रेशा, छोक्रा-बोक्रा हुनुपर्छ। प्रशोधन नगरिएका खाद्य पदार्थ, नफलेको चामल, गहुँ, आँटा, मकै आदिमा रेशा हुन्छ भने सबै खाले हरिया तरकारी र ताजा फलमा पाइन्छ।

हाम्रो खानामा माथि उल्लेखित ७ पोषक आहार हुनुपर्छ। तर धेरै थरी खाना मिसाएर खाएमा पाचन राम्रोसँग हुन सक्दैन जसले रोग पैदा गर्छ।

शरीरको पाचन प्रक्रिया

हामीले जुनसुकै खाद्यवस्तु खाए पनि शरीरले त्यसलाई आफू अनुकूल बनाएपछि मात्र ग्रहण गर्न योग्य बन्छ। हामीले खाएको खाना पाचन प्रणालीमा पुगेपछि पाचन रससँग घुलेर विभिन्न चरणमा टुक्रिन्छ र द्रव्य रसमा रुपान्तरण हुन्छ।

आन्द्राले त्यो रस सोसेर रगतमा मिसिन्छ र बाँकी ठोस अंश मलद्वारबाट बाहिर निस्कासन हुन्छ। यसलाई पाचन प्रक्रिया भनिन्छ। यो एक लामो नली हो, जसमा मुख, घाँटी, भोजन नली, आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा र मलद्वार रहन्छन्।

कार्बोजको पाचन– यसको पाचन हुन क्षारिय रस चाहिन्छ। मुखको र्‍याल क्षारिय हुन्छ। त्यसैले यसको पाचन मुखबाटै सुरू हुन्छ। मुखमा खाना जति चपाउँछौं, त्यत्तिकै र्‍याल निस्कन्छ। मुखमा सेलिभरी ग्रन्थी हुन्छ, जसमा टायलिन र म्यूसिन नामक पाचन रस हुन्छन्। टायलिनले कार्वोहाइड्रेट पाचन गर्न मद्दत गर्छ भने म्यूसिनले खाना चिप्लो बनाउँछ।

टायलिनसँग पाचन भएको कार्बोहाइड्रेट पेटमा पुग्छ। पेटमा कार्बोजको पाचन हुँदैन। पेटमा खाना पुगेपछि पेट चल्न थाल्छ र पेटको ग्यास्ट्रिक जुसमा खाना मुछिएर लेदो बन्छ। त्यसपछि स्टार्च पेटबाट ग्रहणी (सानो आन्द्राको पहिलो भाग) मा पुगेर पाचन हुन्छ। त्यहाँ रहेको एमाइलेज पाचक रसले स्टार्चलाई बाइसेकेराइड्समा बदल्छ भने आन्द्राको मध्य भागमा पुगेर माल्टेज, सुक्रोज र लैक्टेज पाचक रसको सहयोगले गुल्कोजमा परिवर्तन हुन्छ।

गुल्कोज नै कार्बोहाइड्रेटको अन्तिम अंश हो जसलाई शरीरले लिन योग्य बन्छ।

प्रोटिनको पाचन– प्रोटिन पाचनका लागि अम्लीय रस चाहिन्छ। यो रस पेटमा निस्कासन हुन्छ। त्यसैले प्रोटिनको पाचन पेटमा पुगेर मात्र हुन्छ।

पेटमा अधिकांश त प्रोटिनकै मात्र पाचन हुन्छ। पेटमा पेप्सिन, रेनिन र एचसिएल नामक पाचन रस हुन्छन्। पेटमा रहेको पेप्सिनले प्रोटिन खानालाई पेप्टोनमा बदल्छ। त्यसपछि यो सानो आन्द्राको पहिलो भागमा पुगेर त्यहाँ रहेको प्यान्क्रियाटिक रसमा हुने ट्रिप्सिन र सानो आन्द्राको मध्य भागमा रहेको इरेप्सिन पाचन रसको सहयोगले पेप्टोन एमिनो एसिडमा परिवर्तित हुन्छ। एमिनो एसिड नै प्रोटिनकोे अन्तिम अंश हो।

चिल्लोको पाचन– यसको पाचन सिधा सानो आन्द्रामा गएर मात्र हुन्छ। सानो आन्द्रामा पित्त र अग्न्याशायिक रस हुन्छ। सानो आन्द्रामा रहेको पित्तले चिल्लोलाई सानो-सानो टुक्रा बनाउँछ र यसलाई आन्द्रामा रहेको अर्को रस लाइपेजले फ्याटी एसिडमा परिवर्तन गर्छ।

भिटामिन र मिनिरल्स– यी तत्व शरीरले सिधै ग्रहण गर्न योग्य हुन्छन्।

पानी र रेशा– पानी र रेशा आफैं पाचन हुँदैन। तर पाचनको कामलाई सही ढंगले अगाडि बढाउन यी नभई हुँदैन। पानीले पाचनमा खानालाई अघि बढाई सहयोग गर्छ भने रेशाले फोहोरलाई बाहिर निस्कासन गर्न सहयोग गर्छ। मानिसको खानामा दैनिक ६० देखि ७० प्रतिशत रेशा र पानी हुनुपर्छ।

शरीर शास्त्र र रसायन शास्त्र अनुसार भोजनको मेल-बेमेल

१. कार्बोहाइड्रेटसँग अमिला खाद्यपदार्थ नलिने

दैनिक प्रयोग हुने भात, रोटी, ढिँडो आदि कार्बोहाइड्रेटका श्रोत हुन्। पाचन प्रक्रियामा यी खाना पाचन हुन क्षारीय रस चाहिन्छ जुन मुखमा र्‍यालसँगै निस्कन्छ। अमिलोले मुखमा कार्बोहाइड्रेट पचाउन निस्कने टायलिन निष्कासन कम गर्छ र पाचनमा बाधा पर्छ। त्यसैले कुनै पनि कार्बोहाइड्रेटसँग अमिला परिकार र फलको मेल हुँदैन। कागती, इमली, टमाटर आदिसँग खानु हुँदैन। 

मेलः कार्बोहाइड्रेट सागसब्जी र गुलिया फलफूलसँग लिँदा पाचन राम्रो हुन्छ। जस्तैः खाना या रोटीसँग सब्जी तरकारी र सलाद।

२. प्रोटिनसँग कार्बोहाइड्रेट नखाने

प्रोटिन वर्गको कुनै पनि कार्बोहाइड्रेटसँग मेल हुँदैन। कार्बोहाइड्रेट पच्न क्षारीय रस चाहिन्छ भने प्रोटिनलाई अम्लीय पाचक रस चाहिन्छ।

कार्बोहाइड्रेटसँग प्रोटिन खाँदा, पेटमा पुगेपछि पेटले प्रोटिन पाचनका लागि अम्लरस निष्कासन गर्छ। उसले कार्बोहाइड्रेट पाचनका लागि मुखबाट आएको क्षारीय रस काटिदिन्छ। अनि कार्बोहाइड्रेट र प्रोटिन दुवैको पाचनमा बाधा पर्छ।

त्यसैले पाचन हिसाबले यी दुई खाना एकैसाथ नलिनु राम्रो। भात, रोटी जस्ता कार्बोहाइड्रेटसँग दाल, मासु, दूध आदि प्रोटिन नलिनु ठीक हुन्छ। प्रोटिनलाई कार्बोहाइड्रेट खाएको ४ घन्टापछि लिन सकिन्छ।

मेलः सबै अमिलो वर्गका खाना, फल र हरिया सब्जीसँग प्रोटिन लिन सकिन्छ। जस्तैः दाल गेडागुडीसँग कागती, माछा-मासुसँग हरिया तरकारी र अमिलो फलफूल राम्रो मेल हुन्छ।

भातसँग दाल, माछा मासु खानु हुँदैन भन्दा सबैमा किन भन्ने जिज्ञासा हुन सक्छ। हाम्रा पुर्खादेखि खाँदै आएको हो, अहिले किन खानु हुँदैन त?

हाम्रा बाजेबराजु मौसम अनुकूल खाना खान्थे। दाल, भात मात्र होइन मौसम अनुसार हरिया तरकारी र फलफूल हुन्थ्यो। खाना धेरै चिल्लो र मसलेदार हुँदैनथ्यो। ठीक समयमा खाने, सुत्ने र उठ्ने गर्थे। कडा शारीरिक परिश्रम गर्थे। यसले शरीरको कसरत भई खाना सजिलै पच्थ्यो। समयसमयमा उपवास पनि बस्थे जसले पाचनलाई आराम मिल्थ्यो।

अहिले हामी भातसँग दाल, माछा, मासु टन्न खाने, अझ सन्तुलित भोजनका नाममा १० थरी मिलाएर खान्छौं तर शारिरीक परिश्रम गर्दैनौं। स्वस्थ रहन निद्रा अति आवश्यक हो। तर हाम्रो सुत्ने-उठ्ने समयको ठेगान छैन। त्यसैले हामीले मौसम अनुकूल खाना मिलाएर खाने, अनिवार्य परिश्रम गर्ने, ठीक समयमा सुत्ने-उठ्ने पनि गर्नुपर्छ।

के दाल र भात सँगै खानै नहुने हो त ?

हाम्रो खानाको मुख्य अंश भात, रोटी वा ढिँडो हो। यसमा अपुग प्रोटिन पूर्ति गर्न दाल, माछा, मासु लिइन्छ। यी खाना बढी अम्लकारक र वायुकारक हुन्छन्, पचाउन पनि गाह्रो हुन्छ। त्यसैले यस्तो खाँदा पर्याप्त शारीरिक परिश्रम र कसरत हुनुपर्छ।

पाचन क्रियाअनुसार यी दुई एकै साथ खाँदा पाचनमा गडबडी हुन्छ। त्यसैले पाचन ध्यानमा राखी यी चिज मात्रा मिलाएर खानुपर्छ। स्वस्थ र शारीरिक अवस्था ठीक भएकाले भातसँग जुनसुकै प्रोटिन खाना जस्तै दाल, गेडागुडी या मांसाहार लिँदा खाना एक भाग कम गरी यी खाद्यान्न करिब ३० देखि ५० ग्रामसम्म लिन सकिन्छ। हरियो सब्जी र सलाद अनिवार्य हुनुपर्छ। दाल तथा गेडागुडी सधैं लिनै पर्छ भन्ने छैन।

यसरी मिलाएर खाए पाचनलाई राहत मिल्छ। तर यसरी खाँदा पेट भारी हुने, फुल्ने र कब्जियत भए खानु हुँदैन। स्वास्थ्य समस्या भएकाले पनि खानु हुँदैन।

बेमेल खानाहरू लामो समयसम्म खाँदा शरीरमा काम गर्ने अंग कमजोर हुँदै जान्छन्। जसरी मोटरबाइकमा पेट्रोल राख्नु पर्नेमा पानी राखेर चलाएमा केही बेर घ्यारघ्यार हुन्छ र चल्न सक्दैन त्यसैगरी लामो समयसम्म बेमेल खाना खाँदा विस्तारै हाम्रा मर्म अंग कमजोर हुँदै जान्छन्। काम गर्न नसक्ने हुन्छन्। मर्म अंगहरूले गर्नुपर्ने काम गर्न नसक्नु नै रोगको अवस्था हो। त्यसैले जेसुकै खाँदा पनि आफ्नो शरीरको अवस्था हेरेर  अनुकूल खानु बुद्धिमानी हुन्छ।

३. कार्बोहाइड्रेट र प्रोटिन दुवैसँग दूध नखाने

दूध पोषिलो आहार हो एक्लै खाँदा सजिलै पच्छ। यसको पाचन पेटमा रेनिन इन्जाइमको सहायताले हुन्छ र यो अम्लीय हुन्छ। त्यसैले यसलाई कार्बोहाइड्रेटसँग र प्रोटिन वर्गसँग खानु हुँदैन।

मेलः दूध अमिलो फलफूलसँग लिन सकिन्छ।

४. दही

दही सबैखाले गुलियो फलसँग लिन सकिन्छ। अमिलो चिजसँग भने खानु हुँदैन।

५. चिल्लो

चिल्लो सिधा सानो आन्द्रामा गएर मात्र पाचन हुन्छ। त्यसैले चिल्लो प्रोटिन र कार्बोहाइड्रेट दुवै सँग लिन सकिन्छ। तर चिल्लोमा धेरै भुटेर तारेर खानु हुँदैन।

६. आलु, तरुल, सखरखण्ड, केरा र आँपः यी खानेकुरामा कार्बोहाइड्रेट धेरै हुनाले यिनलाई कार्बोहाइड्रेट कम हुने हरिया सागसब्जीसँग मिलाएर खाने। खानासँग नखाने। साथै यी खानेकुरासँग अमिलो फल र प्रोटिनवर्ग पनि नलिने। जस्तै आलु बढी हुँदा खाना कम गर्ने।

एक पटकमा एक आहार

प्राकृतिक चिकित्सामा एउटा भनाइ छ– मान्छेका लागि सबभन्दा राम्रो र लाभदायक, एक समयमा केबल एक आहार खानु हो। धेरै मिसाएर नखानु।

वास्तवमा संसारका सबै जीवजन्तु एक पटकमा एक आहार मात्र खान्छन्। मान्छे मात्र यस्तो जिव हो जो दसतिरबाट खाना मिलाएर खान्छ र पनि रोग तथा दुःखको दलदलमा फस्छ। संसारमा खान नपाएरभन्दा खाना धेरै खाएर र खाने तरिका नमिलेर रोगी र मृत्यु हुने संख्या ठूलो छ।

अब प्रश्न उठ्छ एकपटकमा एक आहार मात्र किन? के एक आहारले हामीलाई चाहिने पोषक तत्व पुग्छ?

जति धेरैथरी र विपरीत गुणका खाना मिसाएर खान्छौं, त्यत्तिकै रुपमा खानाको गुणअनुसार पाचन हुन र त्यत्तिकै रुपमा अलगअलग पाचक रस निष्कासन गर्नुपर्छ। पाचन हुन समय पनि अलगअलग लाग्छ। यसले सबै खाना पूर्णरूपमा पच्न सक्दैन। त्यसैले एक घानमा एक प्रकारको आहार जस्तै एक समय फलफूल मात्र, दोस्रो समयमा भात या रोटी र तेस्रो समयमा सागसब्जी खान सकिन्छ।

यसरी खाँदा राम्रो पाचन हुन पाउँछ र पोषण पुग्छ। तर वर्षौंदेखि भातसँग दाल, तरकारी र धेरैथरी मिसाएर खाने बानी भएका हामीलाई अहिलेको अवस्थामा एकपटकमा एक आहार मात्र खानु सम्भव हुँदैन। त्यसैले खानालाई शरीर अनुकूल मिलाएर खान सकिन्छ।

सही तरिका मौसमअनुसार उपलब्ध समान गुणका खानाको मात्रा मिलाएर खानु हो। धेरै परिकारका खाना एकै चोटी खाँदा पाचनमा भार पर्छ। त्यसैले एक पटकमा ३ परिकारभन्दा बढी नमिसाउने। 

खाने नियमः शरीरको नियमअनुसार भोक लागेपछि खानु उपयुक्त हुन्छ। तर भोक लाग्यो भन्दैमा पटकपटक खाइरहनु हुँदैन। सामान्यतया दिनमा ३ पटक खाने- बिहान र बेलुकी खाना र दिउँसो खाजा। खाजामा ताजा तरकारीको सुप या फलफूल जस्ता हल्का आहार उपयुक्त हुन्छ।

सामान्य खाने विधि

बिहानको खाना– ९ देखि १० बजेभित्र। भात या रोटीसँग हरिया तरकारी दुई कचौरा (लगभग ३०० ग्राम)। अन्त्यमा सलाद-फल १५० देखि २०० ग्राम।

दिउँसोको खाजा– २ देखि ३ बजे। तरकारी सुप या मौसम अनुसारका फल।

बेलुकीको खाना– ८ बजेभित्र। बिहानको जस्तै खाना। बेलुकी खाएको कम्तिमा १-२ घन्टापछि मात्र सुत्ने।

नास्ता– अचेल नास्ता खाने चलन छ। खाना ढिला भएमा (बिहानको ११ पछि) नास्ता लिन सकिन्छ। अन्य अवस्थामा नास्ता खानै पर्ने होइन।

एक खाना र अर्को खानाको समय अन्तर ४-५ घन्टा हुनुपर्छ। पेटमा खाना पाचन हुन ४ घन्टा लाग्छ। त्यसैले भारी खाना खाएको ४-५ घन्टापछि मात्र अर्को खाने। फलफूल जस्ता हलुका आहार २-३ घन्टामा र पानी पिएको आधादेखि एक घन्टापछि खान सकिन्छ।

अन्त्यमा, खाना कसरी र कुनसँग के खाने भन्नेमा कुनै मत-मान्यता बनाई राख्न जरुरी भने छैन। शरीरलाई मापदण्ड बनाएर खाँदा राम्रो हुन्छ। जुन खाना खाँदा राम्रोसँग पचेर शरीर हलुका हुन्छ, त्यो मिश्रण उचित हुन्छ। खाएपछि शरीर भारी हुनु अनुचित हो।

मतमान्यतामा नपरी शरीर रचना र पाचनक्रिया अनुसार भोजन सिद्धान्त र गुण अनुसार मिलाएर खाँदा हामी स्वस्थ रहन सक्छौं।

ध्यान रहोस्, शारीरिक अवस्था ठीक भएकाले कहिलेकाहीँ बेमेल भोजन खाँदा केही अप्ठ्यारो हुँदैन। तर सधैं बेमेल खाँदा पाचन सही हुन सक्दैन र समस्या आउँछ। शारीरिक अवस्था ठीक नभएकाले भने यो सिद्धान्त सधैं अनुशरण गर्नुपर्छ। भोजनसम्बन्धी यो सामान्य ज्ञानमा ध्यान दिएर खाना बनाए परिवारै स्वस्थ बन्छ। 

ध्यान दिऔं,

–कार्बोहाइड्रेट प्रधान खाना- भात, रोटीसँग अमिला खाद्यपदार्थ जस्तै कागती, अमिलो फल नलिने। प्रोटिनप्रधान- खाना माछा, मासु, दाल आदिसँग कागती र अमिला फल खान सकिन्छ।

– दालसँग माछा, मासु र अन्डासँग मासु या दाल नलिने।

– पनिर या दूग्धजन्य खाद्यसँग दाल, माछा, मासु खानु हुँदैन।

– गुलिया फलसँग गुलियै फल मात्र लिने। गुलियो र अमिलो मिसाएर नलिने।

– एक पटकमा एक प्रकारको फल मात्र लिने। मिसाएरै खान परे समान गुण भएका मात्र मिसाउने। ठोसिलो फलसँग झोल बढी भएको फल नमिसाउने। जस्तै स्याउ र गाजर मिसाउन सकिन्छ, दुवैको गुण उस्तै र दुवै ठोसिलो हुन्छ। सुन्तला र अंगुर सँगै लिन सकिन्छ। तर स्याउ र सुन्तला मिसाएर नलिने। यी दुवैका गुण बेग्लाबेग्लै हुन्छ।

– कुनै पनि तरल पेय पदार्थ र पानीसँग ठोस आहार नलिने। तरल पदार्थले मुखको पाचन रस पातलो बनाउँछ र पाचनमा गडबडी हुन्छ। त्यसैले खाना खाँदा वा अन्य कुनै पनि ठोस आहारसँग पानी नपिउने। त्यसैगरी मदिरासँग माछा, मासु खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ। कोल्ड ड्रिंक्ससँग बिस्कुट र पाउरोटी आदि नलिने।

– तातोसँग चिसो र चिसोसँग तातो नमिसाउने।

– रातीको खानामा भारी खानेकुरा जस्तै माछा, मासु, अन्डा, दाल, दही आदि नलिने। साधारण हल्का खाना लिने।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved