यसपालि तिहारमा छैन पर्याप्त फूल

  • प्रकाशित मितिः कार्तिक १४, २०७७
  • १४७ पटक पढिएको
  • सञ्चारपाटी
alt

यस वर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ। 

तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ। तर, यस वर्ष तिहार अगाडि नै सयपत्री फूल फुलिसक्ने भएकाले मागअनुसार फूल आपूर्ति हुन नसक्दा बजार प्रभावित हुने देखिएको छ। 

तर, व्यवसायीहरूले भने तिहारमा स्वदेशी उत्पादनले नै फूलको माग धान्ने बताएका छन्। 

अधिकमासका कारण यस वर्षको तिहार झन्डै एक महिना पछाडि धकेलिएको छ। त्यसैले, यसपटक तिहारमा फूलको बजार प्रभावित हुने अनुमान गरिएको छ। 

किसानहरूले लगाएको सयपत्री फूल फुल्ने समयभन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आँकलन गरिएको हो। तर, पुष्प व्यवसायीहरू भने क्यालेण्डरको आधारमा फूल खेती गरिएकाले नेपाली उत्पादनले नै यस वर्षको मागलाई सहजै धान्ने बताएका छन्। 

फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले अधिकमासका कारण यसपटकको तिहार २०/२२ दिन पछाडि धकेलिए पनि फूलको बजारलाई कुनै असर नपर्ने बताए। घरेलु किसानले उत्पादन गरेको फूल तिहारअगाडि नै सुकेर जाने भए पनि व्यावसायिक रुपमा गरिएको फूलको उत्पादन निरन्तर चलिरहेकोले तिहारको मागलाई सजिलै धान्ने उनले बताए। 

गत वर्षको तिहारमा २५ लाख माला खपत भएको थियो। जसमध्ये मखमली माला पाँच लाख र सयपत्री माला २० लाख रहेको थियो। यस वर्ष भने कोभिड संक्रमणको जोखिमका कारण फूलको माग कम हुने आँकलन गरिएको पनि अध्यक्ष कसजुले बताए। 

यसवर्ष १२ देखि १५ लाख मालाको माग हुने अनुमान गरिएको र सबै मालाको आपूर्ति स्वदेशी उत्पादनबाट हुने उनको भनाइ छ। यस वर्ष फूलको मूल्य भने केही महंगो पर्ने भएको छ। 

अध्यक्ष कसजुका अनुसार सयपत्री फूलको एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्न सक्ने बताए। गत वर्ष सयपत्री फूलको एउटा मालाको मूल्य ५० देखि ६० रुपैयाँ परेको थियो।

पुष्प व्यवसायी श्यामसुन्दर प्रजापतिले भने तिहारका लागि लगाइएको सयपत्री फूल फुलिसकेको बताए। केही फूल तिहारसम्म काम नलाग्ने गरी सुकिसकेको पनि उनले बताए। 

चिसो बढ्दै जाँदा फूल झाँगिन नसक्ने र फुलेको फूल समेत सुक्ने भएकाले तिहारसम्म सयपत्री फूललाई जोगाइराख्न समस्या भएको उनले बताए। 

तिहार पछाडि भए पनि नेपालमा उत्पादित फूलले बजारको मागलाई धान्ने भएकाले बाहिरी मुलुकबाट फूल आयात गर्न नहुने व्यवसायीहरूको भनाइ छ। अन्य मुलुकबाट नआउँदा आन्तरिक फूलको मूल्य बढ्छ भन्ने बुझाइले गर्दा आत्मनिर्भर भइसकेको अवस्थामा पनि फूल आयात हुने गरेको व्यवसायीहरूले गुनासो गरेका छन्। 

गत वर्ष तिहारमा करिब १० लाख फूलका माला भारतबाट आयात भएको थियो।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved