व्यवस्था प्रतिको वितृष्णा किन ?

  • प्रकाशित मितिः मंसिर २८, २०७७
  • १०४९८ पटक पढिएको
  • मिलन त्रिताल
alt

 प्रस्तुत आलेखको शीर्षक अनुसार अड्डामा एक दिन कर्मचारीको नभई एक सामान्य सेवाग्राहीको रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्र भएको र अधिकारका दृष्टिकोणले सर्वसम्पन्न एक नागरिकको हो । नेताहरुले भनेजस्तो चाँहि रहेनछ परिवर्तन, मुलुकमा जनताका हक र अधिकारका पक्षमा ऐतिहाँसिक व्यवस्थाहरु संविधान कानुनमै व्यवस्था भए । तर जनतालाई संविधान र कानुन प्रदत्त आफ्ना हक कहाँ थाहा छ र ? राज्यले यसको प्रयोग गर्ने अधिकार जो कर्मचारीलाई दिएको छ ।

मुलुकमा जनताको लागि भनेर संघियता ल्याएपछि पनि जनतालाई कम कष्ट छैन । सहज सरल सेवा सुविधा त परै जाओस । जनताको तिरोबाट पारिश्रमिक बुझेर रातो मसी चलाउने प्रशासक सेवाग्राही सँग राम्रो तरिकाले बोल्दैनन पनि । राज्यले उच्च दर्जा दिएका प्रशासकको मुहार त जनताले हमेशा देख्दैनन पनि । कुनै पनि सरकारी अड्डामा सेवाग्राहीलाई नियम प्रक्रियाका शर्त देखाएर हमेशा दुःख दिने गरेको पाईन्छ । कतिपय अड्डामा त राज्यले निःशुल्क दिने सेवा लिन पनि विचौलियालाई दाम चढाउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन ।

जनताका बढि काम हुने मालपोत,नापी, यातायात, कर, पालिकामा सेवा लिनै हम्मे हम्मे पर्छ । चिया खर्चका नाममा निःशुल्क पाईने सेवालाई कर्मचारीले किम्ति बनाईदिएका छन् । यसअर्थमा जनताले आफ्नो अधिकार प्रयोग गर्न पाएका छैनन्, अधिकार लोभीपापी कर्मचारीले छिपाईदिएका छन् । पछिल्लो समय देशमा फेरी व्यवस्था परिवर्तनको माग गर्दै प्रदर्शन शुरु भएका छन् । सरकारले यस्ता प्रदर्शनलाई प्रतिगामीहरुको षड्यन्त्रको संज्ञा दिईसकेको छ ।

सायद यदि हाम्रो व्यवस्था भित्रको प्रणालीमा समेत सुधार भएको थियो भने व्यवस्थाकै बिरुद्धमा यतिका जनताका सडकमा देखिने थिएनन होला । २००७ सालको क्रान्ति पश्चात इतिहाँसको विभिन्न कालखण्डमा जनताकै त्याग र संघर्षबाट निकै व्यवस्था आए गए तर हाम्रो व्यवस्था भित्रको प्रणाली जनमुखी हुन नसक्दा सबै व्यवस्था जनताबाट तिरस्कृत हुन पुगेका छन् । पछिल्लो पुस्ताको संघर्ष र बलिदानबाट प्राप्त वर्तमान व्यवस्थालाई विलासी खर्चिलो बनाउदा र प्रणालीगत सुधारमा ध्यान नदिदा वर्तमान व्यवस्था प्रति पनि जनताको मोह भङ्ग हुँदैछ ।

संघियता धान्न जनताको थाप्लोमा करको भारी थप्दै राष्ट्र ऋण बढेको बढ्यै गर्दा हिजो परिवर्तनका लागि लडेका जनतालाई नै अहिलेको व्यवस्था मन पर्न छाडेको छ । वास्तवमा व्यवस्था त आँफैमा निर्जिव हो । संविधान कानुन मृत दस्तावेज हो । व्यवस्था र संविधान कानुनलाई जसरी यसको मर्म र भावना अनुरुप अभ्यास गरिन्छ त्यती नै यसको करिश्मा गरिमामय हुने गर्दछ । जति यसका मर्म र भावना पालना गरिन्छ त्यति नै यसप्रति जनताको भरोसा विश्वास बढ्दै जान्छ । बिरोधीका स्वर कम हुँदै जान्छन्, प्रतिगामी चिन्तनलाई धक्का लाग्दै जान्छ ।

अधिकारले सर्वसम्पन्न नागरिक सामान्य सेवाका लागि सरकारी अड्डामा पुग्दा प्रक्रियागत झन्झट र ढिलासुस्तीले निराश भएर व्यवस्था र प्रणालीलाई धिक्कार्दै फर्कन्छ । जब सम्म व्यवस्था भित्रका संरचनाहरुको प्रणालीगत सुधार गर्दै जनतालाई दिईने सेवा सुविधा चुस्त दुरुस्त बनाईदैन तबसम्म व्यवस्था प्रतिको बढ्दो वितृष्णा कम हुनेवाला छैन । हाम्रो भन्दा सानो राजतन्त्रात्मक मुलुक भुटानको सरकारी अड्डामा कुनै कामको शिलशिलामा पुगेर कागजात जोसुकै कर्मचारीलाई थमाए पनि सरल र सहज रुपमा सेवाग्राहीको काम हुने प्रणाली रहेछ ।

जनताले छानेका प्रतिनिधिले शासन गर्ने हाम्रो देशमा भने हामी भने बग्रेल्ती भिआईपी र उच्च अधिकारीलाई सहेर बसेका छौं । भुटान र हाम्रो प्रणाली तुलना गर्ने हो भने जनताका सुविधाका लागि व्यवस्था केही पनि होईन रहेछ । व्यवस्थाको करिश्मा बढोत्तरी गर्ने र जनताको भरोसा बनाउने माध्यम सबल,सुदृढ,निष्पक्ष र जनमुखी प्रणाली रहेछ भन्ने प्रष्ट हुन्छ । अहिले यहाँ व्यवस्थामा नै खोट देखाएर फेरी आफ्नै स्वार्थ पुरा गर्ने खेलतर्फ मुलुकलाई अघि बढाउने प्रयत्न भईरहेका छन् । तर संवैधानिक मुल्य मान्यता प्रति प्रतिबद्ध रहँदै प्रणालीगत सुधारमा अबिलम्ब जोड नदिने हो भने जुनसुकै व्यवस्था आए पनि त्यो दिगो हुनेवाला छैन ।

यहाँ समस्या देखाउने प्राय ः सबै छन तर समाधान कमैले मात्र बताउन सक्छन् । व्यवस्थामा भएका विकृति सबैले औंल्याईरहेका छन् तर सुधारका उपाय कसैले भन्दैनन । त्यसर्थ व्यवस्था बचाउन अब चुस्त दुरुस्त सरकारी प्रणाली बनाउन जरुरी छ । संविधान कानुन समयसापेक्ष बनाउन सकिने देशमा प्रणालीगत नीति,नियम पनि समयको माग अनुरुप चुस्त दुरुस्त बनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved