इटहरीकी उपमेयर गौतम र नेकपा नेतृ पूर्व राज्यमन्त्री चौधरीको भिडन्त

  • प्रकाशित मितिः पुष ३, २०७७
  • १६२२ पटक पढिएको
  • सञ्चारपाटी
alt

 सत्तारुढ नेकपा भित्रको शक्ति संघर्ष पछिल्ला दिनहरुमा केन्द्रबाट प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्मै छरपस्ट हुन थालेको छ । केन्द्रबाट पहिलो बरियाताका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दहाल र माधवकुमार नेपाल समुहबीचको टकराब जारी रहँदा पछिल्लो समय प्रदेश,जिल्ला र स्थानीय तहमा गुटगत भेला तथा एकअर्कामा घोचपेच शुरु भएका छन् ।

नेकपा विवाद देशभर भुसको आगो झैं फैलिरहँदा हिजो मात्र नेकपाकी केन्द्र सदस्य पूर्व माओवादी पृष्ठभुमीकी नेतृ राम कुमारी चौधरीले राष्ट्रपतिको भुमिकाप्रति असन्तुष्टि जनाउदै सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरेकी थिईन । पूर्व कृषि राज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले फेसबुकमा राष्ट्रप्रमुख कुनै पनि देशको शान, इज्जत, गरिमा र सम्पुर्ण देशको प्रतिनिधित्व गरेको संस्था भएको तर राष्ट्रपति एउटा दलको पनि सानो समुहको रबर स्ट्याम्प भएको प्रतिक्रिया दिएकी थिईन ।

एउटा महिला गणतन्त्र नेपालको राष्ट्रपति हुँदा आफु असाध्यै खुसी भएको तर आज राष्ट्रपतिका गतिविधिले आफु त्यो भन्दा बढि दुखी र लज्जित भएको भन्दै नेतृ चौधरीले राष्ट्रपति विद्यादेवी भण्डारी समाज बदल्ने कसम खाएर लामो संघर्षबाट राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेपनि तानाशाही प्रवृत्तिबाट ओतप्रोत प्रधानमन्त्री केपी शर्मा ओलीको कठपुतली भएको देख्दा बिचरा भन्नु बाहेक केही भन्न सकिएन भन्दै प्रधानमन्त्रीलाई नामर्द तानाशाहीको संज्ञा समेत दिएकी छन् ।

आफ्नै पाटी नेकपाकी केन्द्रीय सदस्य तथा पूर्वराज्य मन्त्री राम कुमारी चौधरीले राष्टपति र प्रधानमन्त्रीलाई कटाक्ष गर्दै स्ट्याटस लेखेको १ दिन पछि नेकपा नेतृ तथा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले राष्टपति र प्रधानमन्त्रीको बचाउ गर्दै आफुलाई राम कुमारी चौधरीप्रति दया लागेको बताएकी छन् । उपमेयर गौतमले पनि सामाजिक संजालमा स्ट्याटस लेख्दै आफ्नो कुरा सामाजिक संजालमा नभई पाटीको बैठकमा राख्न केन्द्रीय सदस्य चौधरीलाई चुनौती दिएकी छन् ।

उपमेयर गौतमले चौधरीलाई राष्टपति देशको कार्यकारी नभएर सेरेमोनियल पद भएको हेक्का राख्न समेत चुनौती दिएकी छन् । केन्द्रीय सदस्य चौधरीप्रति आफुलाई दया लागेको बताउदै उपमेयर गौतमले आफुले विगतमा चौधरीलाई बिचारले सुजज्ति नेता सम्झने गरेको तर केन्द्रीय सदस्य भएर पनि पाटी अध्यक्षलाई प्रयोग गरेका शब्द देखेर तपाई आफ्नो आईडी आफै चलाउनुहुन्छ कि ह्याक भएर अरु कसैले लेख्यो भनेर प्रश्न समेत गरेकी छन । केन्द्रीय सदस्य चौधरीलाई पाटीको फुच्चे संगठित सदस्य नभएकोले पदको हेक्का राख्न चेतावनी दिदै उपमेयर गौतमले बोल्न र लेख्न हामीलाई पनि आउँछ तर तपाईले जस्ता फोहोरी शब्द आफुले प्रयोग नसक्ने तर आदरणीय अध्यक्षद्वय प्रति आफ्नो सम्मान रहेको उल्लेख गरेकी छन् ।

उपमेयर गौतमले केन्द्रीय सदस्य चौधरीलाई पाटी एकता बिथोल्ने कुरा सामाजिक संजालमा नगर्न सुझाव दिदै केन्द्रिय सदस्यको गरिमा जोगाउदै आफ्ना कुरा केन्द्रीय समितिको बैठकमा राख्न समेत चुनौती दिएकी छन् । चौधरीलाई पाटी पद्धति र पाटीको संगठनात्मक सिद्धान्त थाहा नभएको भन्दै उपमेयर गौतमले चौधरीको भन्दा धेरै योगदान भएका आफुहरु जस्ता हजारौं कार्यकर्ता तल बसेर दुखका साथ माथिको अवस्था हेरिरहेको उल्लेख गरेकी छन् ।

नेताहरु मिलुन,संवादबाट समस्याको हल होस पाटी एकता बलियो होस भन्ने चाहाना आफुहरुको भएको तर फोहोरी कुरा गरेर दुवै अध्यक्षलाई उक्साएर राम कुमारी चौधरी जस्ता केन्द्रीय सदस्यहरका कारण आज पाटी यो अवस्थामा पुगेको आरोप उपमेयर गौतमले लगाएकी हुन । उपमेयर गौतमले आफु सुध्रदै पाटीलाई सुधार्न नेतृ चौधरीलाई सुझाव दिएकी छन् । सुनसरीबाट केन्द्रीय सदस्य बनेकी चौधरी र इटहरीकी उपमेयर गौतमले सामाजिक संजालमा एक अर्काको मानमर्दन गर्दै स्ट्याटस लेखेपछि नेता कार्यकर्ता समेत आआफ्नो गुटका नेताको बचाउमा विभाजित भएका छन् ।

000 2

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved