कोरोना पछि पर्यटकीय क्षेत्र भीडभाड हुदै भारतीय पर्यटक आएनन,आन्तरिक पर्यटकको घुईचो

  • प्रकाशित मितिः पुष १९, २०७७
  • ३५७ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । कोरोना भाइरस संक्रमणका कारण गत चैतदेखि थलिएको पर्यटन व्यवसाय चलायमान हुने क्रम शुरु हुँदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष–२०२१ ले आशा जगाएको छ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन पर्यटकिय क्षेत्रहरुमा आन्तरिक पर्यटकले भरिएका छन् । आन्तरिक पर्यटकहरु कोरोनाको त्रास विनानै रमाईलो गरिरहेका छन ।

नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सुनसरीको शंकरबेली सामुदायिक वन क्षेत्रमा दिनभर आन्तरिक पर्यटकहरुले भरिभराउ भयो । दिनभर नाचगान गरी नयाँ वर्षको उल्लासमय रुपमा स्वदेशी पर्यटकको घुइँचो लागेको स्थानीय सामाजिक अगुवा सरोज गुरागाईले बताए । उनले भने आन्तरिक पर्यटकहरुको अहिले घुईचो लाग्न थालेको छ ।

पछिल्लो केहि समय यता पर्यटकहरु बढ्न थालेको इटहरीका पर्यटन व्यवसायी सुनिल भुषाल बताउँछन । लामो समय देखि कोरोनाले थला परेको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहल पहल बढेको बताए । अलि अलि भारतीय पर्यटकहरु पनि आउन थालेका छन हामी असाध्यै उत्साहित रुपमा लागेका छौ भुषालले भने ।

उता प्रदेश एककै पर्यटकीय गन्तव्य भेडेटारमा अङ्ग्रेजी नयाँ वर्षमा उल्लासमय देखियो । जोडिहरुको संख्या समेत उल्लेखनिय देखिएका छन । हरेक वर्ष भारतीय पर्यटकले भरिने यहाँका पर्यटकीय क्षेत्र कोरोना महामारीका कारण भारतीय पर्यटक नआए पनि स्वदेशी पर्यटकको आगमन देखेर होटल व्यवसायी उत्साहित भएको होटल एसोसिएसन भेडेटारको अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । उनले भने २०२१ ले व्यवसायीहरुमा आशा पलाएको छ ।

कोरोनाका कारण गत चैतदेखि नै बन्द रहेका सानादेखि ठूला होटल धमाधम खुल्न थालेका छन् । कोभिड–१९ को संक्रमण विश्वव्यापी भएपछि रित्तिएका यहाँका होटल नयाँ वर्ष २०७७ मा पहिलो पटक खाली भए पनि अङ्ग्रेजी नयाँ वर्ष २०२१ मा भने विदेशी पर्यटक नभए पनि स्वदेशी पर्यटकको आगमन राम्रो रहेको होटल व्यवसायीहरुले बताएका छन । इटहरीमा पनि होटलहरुमा पर्यटकहरुको संख्या बढेको होटल व्यवसायी संघ इटहरीका निर्वतमान अध्यक्ष अनुरोध थापा बताउँछन । उनी भन्छन् व्यवसायीहरुमा केहि उत्साह थपियो व्यवसायी खुसी भएका छन ।

सुनसरीको पर्यटन क्षेत्रको विकासको लागि जिल्ला होटल तथा पर्यटन व्यवसायी पनि उत्साहित भएका छन । लामो समय सम्म कोरोनाले थला परेको पर्यटन क्षेत्रमा केहि आशा पलाएको संघका सुनसरी अध्यक्ष तेजबहादुर पुरीले बताए । उनले इटहरीका होटलहरुमा समेत आन्तरिक पर्यटकहरुको चहलपहल सुरु भएको बताए । लामो समय देखि करोडौ रुपैया लगानी गरे व्यवसायी गरेका पर्यटन व्यवसायीहरुमा आशा पलाएको उनी बताउँछन ।

हप्तामा दुई दिन विदा दिन माग

पर्यटन क्षेत्रलाई व्यापा बनाएर लौजाने हो भने सरकारले हप्तामा दुई दिन विदा दिनु पर्ने अभियान्ताहरु बताउँछन । पर्यटकीय क्षेत्रमा सरकारले लगानी बढाउँदै हप्तामा दुई दिन विदा दिए पर्यटन क्षेत्रमा पर्यटकहरु बढ्ने पर्यटनकर्मीहरु बताउँछन ।

इटहरीका क्याफे सञ्चालक तथा पर्यटनकर्मी दिव्य गुरुङले पछिल्लो समयमा पर्यटकहरु बढेको बताउँछन । सरकारले पर्यटकीय क्षेत्रमा लगानी समेत बढाउनु पर्ने उनको सुझाब छ । पर्यटककीय क्षेत्रलाई व्यवस्थित गर्ने हो भने हप्तामा दुई दिन विदा दिनु पर्ने बताउँछन ।

दुहवी नगरपालिका वडानम्बर ८ का कार्यवहाक वडाध्यक्ष विनय दाहालले पर्यटकीय क्षेत्रमा लगानी बढाउनु पर्ने बताउँछन । लगानी बढाएर मात्र हुदैन शुत्रबार र शनिबार विदा दिने हो भने पर्यटन क्षेत्रमा उत्साह थपिन्छ वडाध्यक्ष दाहाल भन्छन् । पर्यटन क्षेत्रमा नगरपालिकाले पनि लगानी बढाउनुको विकल्प नभएको उनको धारणा छ ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved