इटहरी / थारु समुदायको महान पर्व माघीलाई लक्षित गर्दै थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । मंगलबार सुनसरीको झुम्कामा एक कार्यक्रमको आयोजना गरी ‘आब आब सबकोइ नाचम माघीमे’ बोलको माघी गीतको म्युजिक भिडियो विमोचन गरेको हो ।
विमोचन कार्यक्रममा थारु चलचित्र तथा सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष परशुराम चौधरीले थारुको भाषा, संस्कृति संस्कारलाई बचाउन अब थारु युवाहरु यस्तै गीत संगीतको म्युजिक भिडियो ल्याउनु पर्नेमा जोड दिए।
उनले भने, ‘ थारु समाज आफैमा प्रकृतिप्रेमी समाज हो। थारुको आफ्नै चाडपर्व र रीतितिथि भएकाले माघी विशेष चाड हो। यसलाई जोगाउनु आजको आवश्यक्ता रहेको छ।’
यस्तै विमोचन कार्यक्रममा विशेष अतिथि थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र कुमार चौधरीले थारुको माघीलाई मात्रै होइन अब सबै चाडपर्वलाई चिनाउने खालका गीत संगीतको सृजना हुनु पर्नेमा जोड दिए।
उनले भने, ‘ थारुहरु तराइको आदवासी हुनुको नाताले उसको आफ्नै पहिचान छ। तर थारु अरुको लहैलहैमा लागेर आफ्नो संस्कृती बिर्सिदै गइरहेको छ । हामी सबै आफ्नो कला र संस्कृतिलाई जोगाउँदै समाजलाई पनि बचाऔ र पुस्तालाई थारु भाषाको पहिचान जोगाऔ।’ थारुहरु अब गीत संगीत लगायत सबै क्षेत्रमा आफै नेतृत्व लिनु पर्ने उनको भनाइ थियो।
यस्तै थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीकी जिल्ला अध्यक्ष जानकी चौधरीले थारुको मौलिक पर्व माघीलाई गीतमार्फत चिनाउन पाउँदा निक्कै हर्षित भएको बताइन्।
उनले भनिन् ‘ भाषा र संस्कारले भरिएको थारुहरुको माघी एउटा उत्सव भएकाले यसलाई हामीले म्युजिक भिडियोमार्फत लिएर आएका छौँ। माघी आँगनमै आइसकेकाले यसको गीतमा थारुको पहिचान पस्किएका छौँ।’ यो गीतको शब्द(संगीत सुनिल चौधरीले भरेका छन् साथै उनले यस गीतमा आफ्नो सुमधुर स्वर समेत दिएका छन् । यस्तै उनलाई अनुमा चौधरीले साथ दिएकी छिन्। उक्त भिडियोको निर्देशन जनक चौधरीले गरेका छ्न्।
माघीको गीतको सुटिङ इटहरी उपमहानगरपालिका १८ स्थित राहीपूरमा भएको थियो। थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीकाे युट्युब च्यानल TFCA Nepal बाट गीत सार्वजनिक गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved