इटहरीले बलियो सभापति पाउँछ : कोविदजङ्ग कार्की

  • प्रकाशित मितिः चैत्र १४, २०७७
  • १८७८ पटक पढिएको
  • मिलन त्रिताल
alt

नेपालकै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस अहिले आफ्नो १४ औं महाधिवेशनको चटारोमा व्यस्त छ । महाधिवेशनको संघारमा रहेको नेपाली काँग्रेस अहिले नयाँ क्रियाशिल सदस्यता वितरणमा व्यस्त छ ।

सुनसरीको इटहरीमा पनि अहिले काँग्रेसको अधिवेशनको चहलपहल शुरु भएको छ । नेपाली काँग्रेसको महाधिवेशनकै सन्दर्भ नेपाली काँग्रेसका महासमिति सदस्य तथा नेपाली काँग्रेस इटहरीका सहसभापति कोविदजङ्ग कार्की सँग सञ्चारपाटी डटका लागि मिलन त्रितालले गरेको  कुराकानीको अंश ।

प्रश्न : १४ औं महाधिवेशनका कार्यक्रम शुरु भईरहँदा नेपाली काँग्रेस इटहरी अहिले के गर्दैछ ?

जवाफ : नेपाली काँग्रेसको आसन्न १४ औं अधिवेशनलाई लक्षित गर्दै हामीले इटहरीका २० वटै वडाको पुराना क्रियाशिल सदस्यहरुको नवीकरण कार्य सम्पन्न गरेका छौं । नवीकरण कार्य सम्पन्न भईसकेपश्चात वडामा नयाँ क्रियाशिल फारम पठाईसकिएको अवस्था छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम अहिले वडा वडामा नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने कार्य शुरु भएको छ ।

प्रश्न : नेपाली काँग्रेसले नयाँ क्रियाशिल सदस्यता कस्ता व्यक्तिलाई दिन्छ ?

जवाफ : पार्टीको विधानमा उल्लेख भएका व्यवस्थालाई पुर्ण रुपमा पालना गर्दै पार्टीका कार्यक्रम तथा गतिविधिमा निरन्तर संलग्न लामो समय देखि पाटीमा योगदान गरेका सदस्यहरुलाई पहिलो प्राथमिकता दिएर क्रियाशिल वितरण गरिनेछ । नयाँ क्रियाशिल सदस्यता वितरणलाइ व्यस्थित गर्न अहिले नगरले वडा कार्य समितिहरुसँग निरन्तर समन्वय गरिरहेको छ ।

प्रश्न : इटहरीमा क्रियाशिल सदस्यताका हिसाबले काँग्रेसको संगठनको अवस्था के छ ? अब इटहरीले थप कति क्रियाशिल सदस्यता पाउँछ ?

जवाफ : स्वभाविक रुपमा अहिले नेपाली काँग्रेसको संगठन इटहरीमा बलियो छ । अहिले काँग्रेसका हरेक टोल टोलमा टोल समिति गठन गरिएको छ । अग्रज पुस्ता देखि युवा पुस्ताको भरोसा तथा विश्वास काँग्रेस प्रति बढेको छ । इटहरीको आवश्यकता क्रियाशिल सदस्यता लिन चाहाना गर्ने आकांक्षीको पार्टीमा योगदान, विगतको भुमिका र सामाजिक छवीलाइ ध्यान दिएर पार्टीको नीति बमोजिम क्रियाशिल सदस्यता वितरण हुन्छ । पार्टीलाई माया गर्ने, पार्टीको नीति तथा सिद्धान्तमा प्रतिबद्ध ईमान्दार र निष्ठावान सबैले क्रियाशिल सदस्यता पाउँछन् ।

प्रश्न : काँग्रेस भित्र कार्यकर्ता प्रशिक्षण भएन भन्ने गुनासो छ, यो जायज हो ?

जवाफ : केही हद सम्म यो गुनासो सत्य हो । तर मुलुकमा माओवादी शसस्त्र युद्धलाई शान्तीपुर्ण राजनीतिको मुलधारमा ल्याउन नेपाली काँग्रेसले नेतृत्व लिएपछि संविधान निर्माण, नयाँ संविधानको कार्यान्वयन र केपी ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सरकारका असंवैधानिक कदम तथा गलत क्रियाकलापहरुको खबरदारी गर्ने मुल दायित्व नेपाली काँग्रेसकै थियो र यी सबै युगिन जिम्मेवारी पार्टीले निर्वाह गरेको अवस्था छ । यस्तो अवस्थामा स्वभाविक रुपमा नेता कार्यकर्तालाई दिनुपर्ने प्रशिक्षण केही हदसम्म कमी भएको हो । यद्यपी पार्टीका नीति तथा सिद्धान्तहरुका विषयमा इटहरी उपमहानगरसमितिले केही नगरेको भने होईन यसमा सत्यता छैन । समय समयमा अगुवा कार्यकर्ता भेला गरी समयसामयिक परिस्थिति, काँग्रेसको नीति सिद्धान्त र पोजिसनका विषयमा कार्यक्रमहरु भएकै छन् ।

प्रश्न : काँग्रेसका कार्यकर्ता आसन्न अधिवेशनलाई लिएर कतिको उत्साही भएको पाउनु भयो ?

जवाफ : नेपाली काँग्रेसको १४ औं अधिवेशन झण्डै साढे ५ वर्षको अन्तरालमा हुन लागेको छ । १२ बर्षे शसस्त्र युद्धको शान्तीपुर्ण रुपमा अन्त्य गर्दै संविधान निर्माण र कार्यान्वयनको समेत नेतृत्व गरेको काँग्रेसको अवको अधिवेशन संघिय संरचना अनुरुप संसोधित विधानका व्यवस्थामा टेकेर हुँदैछ । यस हिसाबले आसन्न अधिवेशनबाट पार्टीमा नयाँ संरचनाका समितिहरु पनि चयन गर्नुपर्ने अवस्था छ । पार्टीमा प्रतिबद्ध भई लागेका कार्यकर्ताहरुमा स्वभाविक रुपमा महाधिवेशनले नयाँ उर्जा तथा जोश थपेको छ ।

प्रश्न : नेपाली काँग्रेसको पार्टीको हरेक अधिवेशनमा पार्टीको भावी नीति तथा कार्यक्रम,सिद्धान्त र रणनीतिमा छलफल भन्दा पनि नेतृत्व हत्याउने उद्देश्यले मात्र गतिविधि हुने गरेको आरोप पनि लाग्ने गरेको छ, यस सम्बन्धमा तपाईको प्रतिक्रिया के छ ?

जवाफ : नेपाली काँग्रेस प्रजातान्त्रिक धारको मास वेस पाटी हो । पार्टीमा आबद्ध जो कोही कुनै अमुक पदमा पुग्छु भनेर लाग्नु अस्वभाविक होईन । पदमा पुग्ने व्यक्तिको आकांक्षालाई बन्देज लगाउन सकिदैन, मिल्दैन नत्र प्रजातान्त्रिक पार्टीको चरित्र समाप्त भएर जान्छ । पार्टीको नीति तथा सिद्धान्त नबुझ्ने व्यक्ति महत्वपुर्ण पदको आकाक्षी चुनिन हुदैन, नीति सिद्धान्त नबुझेको व्यक्तिले पार्टीलाई पार्टीको विधान र भावना बमोजिम पार्टीलाई अघि बढाउन सक्दैन भन्ने मेरो बुझाई हो ।
मास बेस पार्टीमा तलै देखि निर्वाचित भएर जाने महासमिति सदस्य, जिल्ला समितिका सभापति, प्रदेश समितिका सभापति र केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने प्रतिनिधिले नीति तथा कार्यक्रमको तय समयसापेक्ष विधान तथा सिद्धान्तमा शंसोधन गर्ने हो ।

प्रश्न : इटहरी काँग्रेसमा भावी नेतृत्वका लागि एउटै पदमा धेरै आकाक्षीहरुको दाबेदारी छ ? तपाईको भुमिका के हुन्छ ?

जवाफ : देशको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसमा पदका लागि आकाक्षां राख्नु स्वभाविक हो । कुनै पनि पदमा जति धेरै आकांक्षी हुन्छन सो पदमा पुग्ने अथवा निर्वाचित हुने व्यक्ति त्यति नै बढि योग्य,क्षमतावान र पार्टीलाई अघि बढाउन सक्ने हुन्छ । पार्टीको उज्जवल भविष्यमा लागि यो सकारात्मक विषय हो ।
अहिले म पार्टीको महासमिति सदस्य र नेपाली काँग्रेस इटहरीको सहसभापतिको भुमिकामा छु । आसन्न अधिवेशनमा स्वभाविक रुपमा पार्टीलाई एकताबद्ध बनाउदै इटहरीमा काँग्रेसलाई एकढिक्का बनाएर अघि बढाउने सदैव मेरो भुमिका रहन्छ ।

प्रश्न : तपाँईको दाबेदारी के मा रहन्छ ? १४ औं महाधिवेशनमा कतिवटा समुह नेतृत्व चयनका लागि भिड्लान ?

जवाफ : नेपाली काँग्रेस इटहरीको कार्यवाहक सभापति भई काम गरेको, पार्टीमा अहिले सहसभापतिको भुमिका निर्वाह गरिरहेकोले म स्वभाविक रुपमा सभापति पदको आकाक्षीं हुँ । इटहरीमा पार्टीलाई भावनात्मक रुपले एक बनाउदै आसन्न सबै निर्वाचनमा विजयी गराउन सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
अहिले नै आसन्न महाधिवेशनमा नेतृत्वका लागि कतिवटा समुह होलान भनेर आँकलन गर्नु हतार हुन्छ ।

प्रश्न : तपाईको समुहबाट अहिले आधा दर्जन बढि सभापतिका आकांक्षी छन, भावी सभापतिमा वर्तमान नगर सभापतिको चर्चा पनि शुरु भएको छ । यस्तो अवस्थामा तपाईको भुमिका के हुन्छ ?

जवाफ : नेपाली काँग्रेसको विभिन्न तह र तप्कामा काम गरेर अनुभव हाँसिल गरेका साथीहरु नै अहिले नगर सभापतिको आकांक्षी हुनुन्छ । मैले पनि संगठन विस्तार गर्ने क्रममा इटहरीका हरेक वडा गाउँ टोल पुगेको छु । धेरै साथीहरुले मेरो सांगठनिक कौशलतालार्ई विश्वास गर्दै नगर सभापति बन्नुपर्छ भन्ने सुझाव आएको छ । त्यसर्थ मेरो दाबी स्वभावत बलियो छ ।

सभापतिका अन्य आकांक्षी साथीहरुलाई मलाई समर्थन गर्ने वातावरण बनाउने मेरो पहिलो प्रयास हुनेछ । हामी आकाक्षीं छलफल गरेर एक जना सभापतिको उम्मेद्वार हुने निश्चित जस्तै छ । समुहबाट एकै जना उम्मेद्वार बन्ने वातावरण बन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved