जग्गा कारोबारको हटस्पट बन्दैछ इटहरी, जग्गाको मुल्य कहाँ कति ?

  • प्रकाशित मितिः जेठ १, २०७८
  • ३६९१ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी (सुनसरी) । इटहरी पूर्वी नेपालकै चर्चित व्यापरिक नगरीका रुपमा परिचित बन्दैछ । व्यवसायिक गतिविधिसँगै बसोबासका लागि पनि इटहरी पूर्वी नेपालकै उपयुक्त थलो बनेको छ । नेपालमा तिब्र गतिमा विकास भइरहेका शहरहरुको नाम लिँदा इटहरी पहिलो नम्बरमा पर्न थालेको छ । एक समय गुमनामजस्तै रहेको इटहरीले पछिल्लो २५ वर्षयता चमत्कारिक फड्को मारेको हो । यो शहरमा वस्ती बस्न थालेको एक सय बर्ष हाराहारी भएको स्थानीय बताउँछन् ।

अहिले इटहरी क्षेत्रमा घरजग्गाको भाउ चर्किएर आकाश छुन थालिसकेको छ । इटहरी उपमहानगरभित्र जग्गाको कारोबार पनि उछालिएको स्थानीय घरजग्गा व्यवसायी बताउँछन् । उपमहानगरभित्र जग्गाको सरकारी मूल्यांकन नै प्रतिकठ्ठा एक करोड ३० लाख रुपैयाँसम्म रहेको छ ।

इटहरी पूर्वी नेपालका पहाडी र हिमाली भेगका मानिसहरुको बसाइसराइका लागि सबैभन्दा उपयुक्त थलोका रुपमा अगाडि देखिएको छ । इटहरीमा व्यापार सुरु भएको सात दशक हाराहारी भयो । त्यसैले पनि इटहरीले लोभलाग्दो विकास गरेको हो ।   

के–के छन् इटहरीमा पूर्वाधार ?

छोटो अवधिमै इटहरीले कसरी चमत्कारिक फड्को मार्यो त ? इटहरी विराटनगर–धरान जोड्ने कोशी राजमार्ग र पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गको चौबाटोमा पर्छ । यी दुई चौडा सडक नै इटहरीलाई चम्काउने मुख्य आधार बनेको छन् ।

इटहरी धेरै पुरानो शहर होइन । यहाँ बसोबास सुरु भएको पनि सय बर्षमात्र पुगेको छ । बरु इटहरीभन्दा पकली, रंगेली, दुहबी र हरैंचा बजारमा चहलपहल थियो । आधा शताब्दी अघिसम्म इटहरीको कुनै अस्तित्व नै थिएन, सुनसान र गुमनाम थियो । इटहरीमा गाडा गुड्ने डगहर र गोरेटो बाटो मात्र थियो । 

पछिल्लो २५-३० बर्षमा इटहरीले यसरी चमत्कारिक फड्को मार्यो कि, दुहबी, हरैंचा, रंगेली नगरपालिका बन्दा इटहरी उपमहानगरपालिका बनिसकेको छ । इटहरीले १ नम्बर प्रदेशको राजधानी दाबी गर्ने हैसियतमा पुगिसकेको छ । 

स्थानीय बुढापाका भन्छन्, इटहरीमा महेन्द्र राजमार्ग बनेपछि चहलपहल सुरु भएको हो । पहाडबाट सुविधा खोज्दै राई, लिम्बु, बाहुन, क्षेत्री समुदायले इटहरीमा जग्गा किनेर बसाई सर्न थाले । त्यहाँ अरु ठाउँबाट पनि मान्छे आएर बस्न थाले । विभिन्न थरीका मान्छे बढेपछि धेरै थरी उद्यम व्यवसाय हुन थाल्यो । 

०५३ सालमा इटहरी नगरपालिका बन्यो । अहिले उपमहानगरपालिका बनेको छ । खेत र चारकोसे झाडिसहितका क्षेत्रमा बजार बसेको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरले इटहरीमा नयाँ आयाम थपिदिएको बताइन्छ । अहिले यहाँ दर्जनौं होटल, रेष्टुरेन्ट, उद्योग कलकारखाना, होलसेल तथा खुद्रा व्यापार, डिपार्टमेन्टल स्टोरदेखि मल्टिप्लेक्सम्मको सुविधा पुगिसकेको छ । 

मुलुककै पुरानो र विरासत बोकेको शहर बिराटनगरमा भन्दा पहिला इटहरीमा मल्टिप्लेक्स हल सञ्चालनमा आएको हो । विराटनगरका मान्छे मल्टिप्लेक्समा सिनेमा हेर्न इटहरी आउनुपथ्र्यो । गत बर्षमात्र विराटनगरमा भाटभटेनी स्टोरमा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याएपछि बल्ल विराटनरवासीले आफ्नै शहरमा मल्टिप्लेक्समा सिनेमा हेर्न पाएका हुन् ।

कुन ठाउँमा जग्गाको मूल्याङ्कन कति ?

पछिल्ला बर्षहरुमा बसोबासका लागि सबैभन्दा रुचाइएको यो ठाउँमा घरजग्गाको मूल्य कसरी उकालो लागेको छ भन्ने कुरा जग्गाको सरकारी मूल्यांकनबाट पनि प्रष्ट हुन्छ । यहाँ प्रतिकठ्ठा एक करोड ३० लाख रुपैयाँसम्म सरकारी मूल्य तोकिएको छ । 

जग्गा किनबेच गर्दा रजिष्ट्रेसन पारित हुने लिखतमा थैली अंक काम गर्ने प्रयोजनका लागि इटहरीको जग्गाको न्यूनतम सरकारी मूल्याङ्कन प्रतिकठ्ठा मूल्य ठाउँ हेरिकन २ लाख रुपैयाँदेखि १ करोड ३० लाख रुपैयाँसम्म कायम गरिएको हो । 

सरकारले जग्गा किनबेच हुँदा राजश्व उठाउनका लागि जग्गाको न्यूनतम मूल्यांकन गरेको हुन्छ । तर, सरकारी मूल्यांकन र बजार (चलनचल्ती)को मूल्यबीच निकै अन्तर हुन्छ । बजारमा सरकारी मूल्यांकन भन्दा निकै बढी रकममा जग्गा खरिद बिक्री भइरहेको हुन्छ ।

यसको मतलब, अहिले इटहरीको मुख्य ठाउँमा जग्गाको भाउ धुरकै दशौं लाख पर्न थालेको छ । शहरको मुख्य चोक र सडकमा कठ्ठामा जग्गा पाउन पनि छाडिसकेको छ । पछिल्लो समय आकासिएका जग्गा टुक्राएर धुरमा कारोबार गर्न थालिएको छ ।

इटहरी वार्ड नम्बर १ (क) महेन्द्र राजमार्ग र कोशी राजमार्गसँग जोडिएको जग्गाहरुको सरकारी मूल्यांकन प्रतिकठ्ठा १ करोड ३० लाख रुपैयाँ तोकिएको छ ।  इटहरी वार्ड नम्बर ४ (ख) का मुल सडकसँग जोडिएको जग्गाको सरकारी मूल्यांकन प्रतिकठ्ठा एक करोड रुपैयाँ तोकिएको छ । इटहरी वडा नम्बर ८ (ख), ८ (ग) का मुल सडक तथा बसपार्क भित्रका सडकसँग जोडिएका जग्गाहरुको सरकारी मूल्यांकन पनि एक करोड रुपैयाँ रहेको छ ।

इटहरी वडा नम्बर १ (ख) का मुल सडकसँग जोडिएका जग्गाहरुको सरकारी मूल्यांकन ९० लाख रुपैयाँ छ ।  

इटहरीका कुन ठाउँमा जग्गाको सरकारी मूल्यांकन कति ? हेर्नुहोस यो विवरण ! नेपालहोम्सबाट 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved