गुणस्तरीय शिक्षामा अब्बल बन्दै इटहरीको जनता मा.वि

  • प्रकाशित मितिः असार ७, २०७८
  • ४५९५ पटक पढिएको
  • मिलन त्रिताल
alt

इटहरीको पुरानो सामुदायिक विद्यालय जनता माध्यमिक विद्यालयले गत ३ वर्ष यता आफुलाई आमुल परिवर्तन गरेको छ । शिक्षामा सामुदायिक विद्यालयहरु पनि अब्बल साबित हुँदैछन् । इटहरीको पुरानो सामुदायिक विद्यालयको रुपमा रहेको जनता माध्यमिक विद्यालयले आफुलाई समयानुकुल परिवर्तन गर्दै आएपछि विद्यालय प्रति विद्यार्थीहरुको आर्कषण बढ्न थालेको


इटहरीको पुरानो सामुदायिक विद्यालय मध्येको एक जनता माध्यमिक विद्यालयमा अँग्रेजी माध्यमबाट पढाई हुन थालेपछि अभिभावकहरु आफ्ना छोराछोरीलाई जनता माध्यमिक विद्यालयमा भर्ना गर्न आर्कषित भएका हुन ।

विभिन्न विषयमा स्नात्तकोत्तर गरेका शिक्षक नियुक्त गरेर अँग्रेजी माध्यमको पढाई शुरु गरेपछि जनता माध्यमिक विद्यालयले लोभलाग्दो प्रगती गरेको छ । अहिले बार्षिक लाखौं रुपैँया शुल्क तिरेर नीजि विद्यालयमा छोराछोरी पढाईरहेका अभिभावकको रोजाईमा जनता माध्यमिक विद्यालय पर्न थालेको छ । राम्रो शैक्षिक गुणस्तर भएको भनिएका नीजि विद्यालयका सयौं विद्यार्थीहरु जनता माध्यमिक विद्यालयमा भर्ना हुन थालेका छन् ।

अहिले विद्यालयमा विद्यार्थीको चाप बढेर २ हजार ३ सय ९५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । आफुलाई आधुनिक शिक्षा प्रणाली अन्तर्गत डोहोर्याईरहेको विद्यालयले ४८ कोठाको पक्की भवन निर्माण गरी पठनपाठन गाईरहेको छ । नयाँ शैक्षिक सत्रका लागि समेत जनता माध्यमिक विद्यालयले खोलेको भर्नामा कक्षा ४ देखि कक्षा ९ सम्म भर्ना हुन ७ सय जना विद्यार्थीले आवेदन दिएका छन । तर भौतिक पूर्वाधार र जनशक्तिका हिसाबले कक्षा ४ मा ४० जना र कक्षा ५ देखि कक्षा ९ सम्म प्रत्येक कक्षामा ७ जनाका दरले जम्मा ७५ जना नयाँ विद्यार्थीलाई मात्र भर्ना लिन सकिने विद्यालय स्रोतले जनायो । भर्ना हुन चाहने विद्यार्थीको संख्या अत्याधिक भएकाले आगामी असार ११ गते प्रवेश परीक्षा लिनुपर्ने वाध्यता भएको विद्यालयको भनाई छ ।

सामुदायिक विद्यालयहरु मध्ये नमुना विद्यालय बनाउने संकल्पका साथ अघि बढिरहेको विद्यालयले एउटा स्कुल बसको व्यवस्था गरी सबै कक्षामा अध्ययनरत विद्यार्थीलाई विभिन्न स्थानहरुमा शैक्षिक भ्रमण समेत गराउने गरेको छ । विद्यार्थीलाई व्यवहारिक विषयगत ज्ञान दिलाउन विद्यालयले ईटहरीमै पहिलो मोबाईल क्लास समेत संचालन गरिरहेको छ ।

शिक्षामा नीजि विद्यालय र सामुदायिक विद्यालयको विभेद हटाउदै गुणस्तरीय शिक्षा दिने उद्देश्यले विद्यालयले ५० थान कम्प्युटर र १० थान ल्यापटपको मद्धतले विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा दिनुका साथै ७ थान इन्टरेक्टीभ बोर्ड, १० थान प्रोजेक्टर र ७ थान आई र्यासको सहयोगमा वैज्ञानिक शिक्षामा जोड दिईरहेको छ ।

विद्यार्थीहरुको सैद्धान्तिक ज्ञानलाई मात्र नभएर विद्यालयले बाईजोजी ल्याब निर्माण सम्पन्न गरी व्यवहारिक ज्ञान बाँडिरहेको छ । भौतिक र रसायनिक प्रयोगशालालाई व्यवस्थित गर्न प्रयोगशाला निर्माणलाई विद्यालयले तीव्रता दिएको छ ।

अँग्रेजी माध्यमबाट कक्षा नर्सरी देखि ११ सम्म सञ्चालन भईरहेको जनता मा.विमा शिक्षक कर्मचारीको संख्या ३८ बाट बढाएर ८५ जना पुर्याईएको छ । पाठ्यक्रमका अतिरिक्त विद्यार्थीको समग्र सर्वाङ्गिण विकासलाई प्राथमिकता दिएको जनता माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ्ग शिल्डमा इटहरी नगरको प्रथम स्थान ओगट्न सफल भईसकेको छ ।

कोरोना कहरको समयमा लकडाउन भएपछि भौतिक रुपमा विद्यालय सञ्चालन गरी पठनपाठन सुचारु गर्न कठिनाई भएता पनि विद्यालयले प्रविधिको साहायतामा वैकल्पिक माध्यममा सिकाईमा सहजीकरण गरी शैक्षिक गतिविधिलाई निरन्तरता दिईरहेको छ ।

सिमित स्रोत तथा साधनको कारण विद्यालयमा कक्षाकोठाको कमीका कारण भर्ना हुन चाहने हजारौं विद्यार्थीहरुलाई भर्ना लिन सकेको छैन । पर्याप्त स्रोत र साधनको कमीले विद्यालयले आवश्यकता अनुसार शौचालयको व्यवस्थापन र स्कुल बसको व्यवस्थापन गर्न सकेको छैन ।

कोभिड कहरका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकसँग प्रत्यक्ष अन्तरिक्रया गर्न नसकेको विद्यालय प्रशासनले जनजीवन सामान्य भएपश्चात अभिभावकसँगको सम्पर्क तथा अन्तरक्रियालाई बढाउने दाबी विद्यालय प्रशासनको छ ।

वर्तमान समयमा महंगो शुल्क भएका नीजि विद्यालयले मात्र विद्यार्थीहरुलाई समय सापेक्ष शिक्षा दिन्छन भन्ने अभिभावकको मान्यतालाई जनता माध्यमिक विद्यालयले परिवर्तन गरिदिएको छ । समयसापेक्ष दक्ष विषय विज्ञ शिक्षक कर्मचारी नियुक्त गरेर अँग्रेजी माध्यमबाट पढाई शुरु गरेपछि जनता माध्यमिक विद्यालयप्रतिको आर्कषण बर्षेनी बढ्दो छ ।

नमुना विद्यालयको रुपमा विकास हुँदै गईरहेको विद्यालयमा अहिले जुनसुकै तहमा विद्यार्थी भर्ना खुले पनि विद्यार्थीको चाप भौतिक पूर्वाधार र जनशक्तिका हिसाबले थेग्न कठिन हुन थालेको छ । नीजि विद्यालयमा भन्दा उत्कृष्ट पठनपाठन हुने भन्दै सबैको उद्देश्य जनता माध्यमिक विद्यालयमै पढ्ने भएकाले विद्यालयको क्षमता बमोजिम भर्ना गर्न कठिन भएकाले निष्पक्ष रुपमा विद्यालयले भर्ना गर्दा प्रवेश परीक्षा लिनुपरेको तर्क विद्यालय व्यवस्थापनको छ । यदि पर्याप्त भौतिक पूर्वाधार, जनशक्ति र स्रोत हुने हो भने मात्र भर्नाको चाप थेग्न सकिने विद्यालय स्रोतको ठम्याई छ ।

अहिले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना खुलेको जनता माध्यमिक विद्यालयमा इटहरी भरमै उत्कृष्ट पढाई हुने अपेक्षाका साथ एस.ई.ई परीक्षमा उत्कृष्ट नतिजा हाँसिल गरेका विद्यार्थीहरु समेत आर्कषित भई भर्ना हुन आवेदन दिईरहेका छन् । आगामी शैक्षिक सत्र देखि विद्यालयले ईटहरी ९ मा व्यवस्थापन संकायमा कक्षा ११ बाट अँग्रेजी माध्यममा पठनपाठन शुरु गर्न आवेदन माग गरेको छ भने हाल इटहरी ६ मा व्यवस्थापन, मानवीकि र शिक्षाशास्त्र संकायमा नेपाली माध्यमबाट ५ सय ५० जना विद्यार्थीलाई पठनपाठन गराईरहेको छ ।

काशिराम दंगालको नेतृत्वमा रहेको वर्तमान विद्यालय व्यवस्थापन समिति गठन हुनुअघि जनता माध्यमिक विद्यालयमा जम्मा विद्यार्थी संख्या ७ सय ७४ रहेकोमा अहिलेको विद्यालय व्यवस्थापन समितिको मेहनत र सक्रियताले अहिले विद्यालयमा विद्यार्थी संख्या लगभग २ हजार ५ सयको हाराहारीमा पुग्न सफल भएको छ । सामुदायिक विद्यालयतर्फ यो संख्या प्रदेशभरकै बढि भएको दाबी विद्यालय व्यवस्थापन समितिको छ ।

देशकै नमुना सामुदायिक विद्यालय बन्ने अभियान अन्तर्गत विद्यालयले अर्को शैक्षिक सत्रमा कक्षा ११ देखि विज्ञान संकाय र प्राविधिक धार तर्फ सिभिल ईञ्जिनियरिङ्गको कक्षा सञ्चालन गर्ने योजनाका साथ तयारी शुरु भईसकेको छ ।

Janata Final Calender school-006

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved