शव व्यवस्थापनमा स्काउट महिला

  • प्रकाशित मितिः असार २२, २०७८
  • ७५३ पटक पढिएको
  • विवेक भट्टराई
alt

सुनसरी । झापाको वुद्धशान्ति गाउँपालिकामा कोरोना संक्रमितको मृत्यु भयो । शव व्यवस्थापन गर्न स्काउटको टिमलाई खवर आयो । टिम तयार भयो । त्यहि टिममा थिईन कनकाई नगरपालिकाकी कृतिज्ञा गौतम ।

कृतिज्ञाको जिम्मा थियो लाश बोक्ने । स्ट्रेचर ठिक पारियो । उनी भन्छिन्,“ जब स्टेचर लिएर लास उठाउन अघि बढेँ एकाएक मन चिसो भयो । शरीर नै चिसो भयो । आत्तिएँ, के गरौँ ? ,कसो गरौँ भयो । सक्दिन कि मनले भन्यो । तर सँगै गएका दाईले नडराउ है हामीसँगै छौँ भनेको सुने । अलि राहत भयो ।”

लास छोएको कृतिज्ञाको पहिलो अनुभव थियो । “ जब लास उठाउन खोजेँ लास त भारी हुँदो रहेछ । अररो पनि, एकदमै भारी,१ सय १० केजीको रहेछ, भन्नलाई त ६० केजीको लास छ भनिएको थियो ।” शवसँग उनको यो अनुभव जिवनकै अविस्मरणीय घटना रह्यो । हुन त उनले तालिमका दौरान आफै लास भएर अभ्यास गरेकी पनि थिईन ।

त्यो बेला उनलाई खासै केही लागेन । तर जव साँच्चैको लास उठाउन पुगिन अनुभव बेग्लै भयो । तर अहिले कुनै समस्या नभएको उनले सुनाईन । मनको डर हराएर गयो । अहिले त सामान्य नै लाग्छ पछिल्लो अनुभव उनले सुनाईन ।विर्तामोड ९ कि पूजा कडेल काठमाण्डौको आर आर कलेजमा व्याचलर दोस्रो बर्षमा अध्ययनरत छिन् । उनी लकडाउनमा घर आएकी थिईन ।

IMG-20210705-WA0005
साथी मार्फत स्काउटको शव व्यवस्थापन गर्ने प्रस्ताव आयो । उनी सहज तयार भईन । उनी स्काउटमा आवद्ध त थिईनन् तर सेवा भावले तान्यो । ४ दिनको तालिम लिएर पूजा पनि शव व्यवस्थापनमा खटिईन । शव व्यवस्थापनको पहिलो दिन नै ३ वटा शव व्यवस्थापन गरेको उनले बताईन ।

पहिलो दिनमा २ महिला र १ पुरुषको टोलीले ३ शव व्यवस्थापन गरे । कनकाई खोलामा २ वटा शव जलाईयो र एक वटा सितापुरीको जंगलमा गाडेर व्यवस्थापन भयो । पूजालाई शव व्यवस्थापन गर्दा खासै डर लागेन । भन्छिन “डर त त्यति लागेन, तालिममा माईन्ड डाईर्भट गर्न सिकाउनु भएको थियो । त्यसले काम गर्यो ।”

IMG-20210705-WA0003
पिपिई लगाउँदा भने निकै गाह्रो भएको पूजाको अनुभव छ । ३ वटा मास्क, फेससिल्ड, आँखामा चश्मा, पिपिइ र बुट लगाएर १ देखी २ घण्टा काम गर्दा बाफिएर सास फेर्न नै गाह्रो भएको उनले सुनाईन । “घाम लागेको बेला त बुटमा पसिना भरिएको हुन्थ्यो । हात गुम्सीएर छाला नै कालो भएर एक पत्र उप्कीएर गयो । बाफिएर सासै फेर्न गाह्रो भएर मरिने हो की भन्ने डर पनि लाग्थ्यो । ”
पूजा आफैले ८ वटा शव व्यवस्थापन गरिन् ।

शिवानी देवान, महिला टोलीको टिम लिडर हुन । उनको कमाण्डमा महिला टोलीले काम गरेको थियो ।स्काउटको मास्टर भएर २० बर्ष सेवा गरिसकेकी शिवानीका लागि शव व्यवस्थापन जिवनकै अविस्मरणीय कार्य भएको छ । उनको पहिलो शव व्यवस्थापन अझ रोचक छ । होमआईसोलेसनमा बसेका संक्रमितको शव व्यवस्थापन गर्नुपर्ने थियो । शवलाई ओल्टाई पल्टाई गरी औषधी छर्किएर तयार गर्ने उनको जिम्मा थियो ।

IMG-20210705-WA0002
“जव म शव छेउमा पुगेँ, एका एक मुटु कामेर ढक्क फूल्यो । निशब्द भएँ । शुन्यमा पुगेँ । शरीर नै फ्रिज भयो ।”
टोलीकै टिम लिडर सेनाको सरले मेरो हात समातेर नडराउ, यो वेला यस्तै हुन्छ भन्दै ५ मिनेट जति सम्झाउनु भयो ” शिवानी भन्छिन् “ ५ मिनेट सम्झाए पछि मात्रै होसमा आए जस्तो भयो ।”

त्यो बेला पछि हटेको भए सायद म जिन्दगी भरी केही गर्न सक्दिन थिए होला उनलाई अहिले यस्तो लाग्छ । त्यो ५ मिनेट जिवनकै अविस्मरणीय क्षण भएको उनी सुनाउँछिन् । त्यो घटना पछि भने उनलाई कुनै समस्या भएन । उनी आफै लागेर १३ वटा शव व्यवस्थापन गरीन् । टिममा थाके जस्तो लागे रिप्लेस गर्न पनि पाईन्थ्यो तर उनी कहिल्यै रिप्लेसमा बसिनन् । उनलाई थाके जस्तै लागेन । टिममा आएको खवर अनुसार उनी सवै ठाउँमा पुगेर काम गरिन् । उनको काम देखेर अन्य साथीहरु सबै छक्क पर्थे ।
पछि त उनी सबैकी प्रिय भईन । सबैकी अभिभावक भईन । अरुलाई अराउने, सिकाउने गर्न थालिन । नेतृत्व सम्हालिन ।

नेपालमै पहिलो पटक नेपाल स्काउटले सामुदायिक स्तरबाट कोरोना संक्रमितहरुको शव व्यवस्थापनको काम सुरु गरेको थियो । नेपाल स्काउटको संक्रमितको शव व्यवस्थापन गर्ने टोलीमा ४२ जना थिए । जसमा ७ जना महिला थिए । झापाकै मात्रै ३ जना महिलाको टोली थियो । शिवानी देवान, कृतिज्ञा गौतम र पूजा कडेलको टोलीले अब्बल काम गरेको थियो । झापाको १७ जनाको टोलीले २४ जनाको शव व्यवस्थापन गरेको थियो ।

समाजको हेय नेपाली हिन्दु संस्कारमा महिलाले मलामी जानु हुँदैन भन्ने मान्यता छ । महिलाले लास छुनु हुँदैन भन्ने धारणा छ । दागवत्ति दिन पुरुषकै खोजी गरिन्छ । महिलाले दागवत्ति दिनु हुँदैन हिन्दु संस्कारले भन्छ भन्दै वकालत गर्छन् पण्डितहरु ।
तर यी महिला टोली मलामी हैन,शव नै व्यवस्थापन गर्न तयार भए । उनीहरुले लास छुने मात्रै हैन । आफैले चितामा राखे । अनि,आफैले दागवत्ति पनि दिए । आफैले बोकेर खाडलमा गाड्ने काम गरे ।

महिलाले मलामी नै जानु हुँदैन भन्ने पुरुषवादी समाजमा नेपाल स्काउटको महिला टोली एक विद्रोही नै थियो । तर यो त्यति सहज भने थिएन । सुरुमा त धेरैले आश्र्चय र अचम्म माने । कतिले गाली गरे । कतिले सम्मान । शव व्यवस्थापनको तालिम लिन पुग्दा हामीलाई देखेर नेपाली सेनाका सरहरु नै अचम्म पर्नुभयो । कृतिज्ञाले भनिन् “मलामी नै जान हुँदैन भन्ने समाजमा तपाईहरु शव व्यवस्थापनमा आउनुभयो तपाईहरुलाई स्यालुट छ ।”

तालिमका क्रममा उनीहरुले उत्साह र हौसला पाए । कैलालीमा नेपाली सेनाको भवानी दल गणको पनि महिलाकै मात्रै एक टोलीले शव व्यवस्थापनको काम गरेको थियो । तालिममा एकदमै उत्साह दिनुभयो उनले सुनाईन । तर त्यस्तै उत्साह समाजले दिएन । संक्रमितको घरमा पुग्दा वरिपरिका छिमेकीहरुले महिला भन्दै होच्याउने गर्थे । “तपाईहरुले बोक्न त सक्नुहुन्छ ? पुरुष कोही थिएनन् र तपाईहरु आउनुभएको भन्दै होच्याउने अविश्वास गर्ने गर्थे ” पूजाले बताईन ।

महिला प्रतिको अविश्वास मात्रै नभएर फकर भोगाई पनि छ उनीहरुसँग । एक ठाउँमा संक्रमित शवलाई चितामा राखेर दागवत्ति दिने बेलामा परिवारका मान्छेले तपाईहरु छोरी मान्छे दागवत्ति दिन मल्दिैन,छोरा मान्छेले जलाउन पाए हुन्थ्यो सम्म भनेको पूजाले बताईन । तर कतै भने परिवारका सदस्यहरुलाई अलि वरैबाट दागवत्ति दिनु भन्दा तपाईहरुले यति सम्म त गर्नुभयो अब तपाईहरुले नै लगाई दिनु पनि भनेको शिवानीले बताईन ।

कहीँ भने परिवारको कुनै सदस्य पनि नआउने, संक्रमित लास भन्दै वास्तै नगर्ने । परिवारले नै माया मारेको अवस्थामा आफुले दागवत्ति दिने अवसर पाउँदा भने खुसी लागेको पूजाले बताईन । हामीलाई यो काम गर्ने अवसर प्राप्त भयो भनी खुसी लागेको उनले भनिन ।

परिवारको मन्जुरी र समाज

कृतिज्ञा स्काउटको कनकाई नगरको संयोजक थिईन । तर शव व्यवस्थापन गर्ने कार्यमा जान परिवार तयार भएन । “परिवारबाट नजाउ भन्नु भयो” उनले भनिन “अरु कसैलाई पठाउनु आफै चाँही नजाउ ।” बाहिर जाँदा आफ्नो मर्जीले गर्नुहुँदैन त्यो पनि यस्तो बेलामा भन्ने चाही उनलाई पनि लागेको थियो । गए परिवारकै मन्जुरीमै जान्छु भन्ने विश्वास उनलाई थियो । “त्यहि भएर मैले परिवारलाई कन्भिन्स गर्न सके । अन्त्यमा परिवारले नै जाउ भन्नुभयो । ” तर उनलाई यो मन्जुरी लिन निकै मेहनत गर्नुपरेको थियो ।
यता, पूजालाई त अझ गाह्रो भयो । लकडाउनले काठमाण्डौँबाट पढाई छाडेर घर आएको अवस्था थियो । अर्को तर्फ उनी स्काउट आवद्ध पनि भएकी थिईनन् । परिवारले जान अनुमति दिएन । तर उनलाई जान इच्छा थियो । उनले पनि परिवारलाई सहमतिमा ल्याईन । स्वास्थ्य प्रोटोकल, गर्ने प्रकृया र मृतक संक्रमितबाट पिपिई लगाएपछि कोरोना नसर्ने विश्वास दिलाएर पूजाले परिवारलाई मनाईन । तर समाजलाई बुझाउन सकिनन् ।

समाजमा उनलाई फरक नजरले हेर्न थालियो । घर नै नआउ । गाउँ नै नआउ । तिमिले गाउँमा कोरोना ल्याउने भयौ भन्दै छिमेकी र समाजका अन्य व्यक्तिहरुले नराम्रो व्यवहार देखाए पूजाले भोगाई सुनाईन । संक्रमण घट्दै गएपछि उनी घर गए पछि पनि छिमेकी र समाजका व्यक्तिहरुलाई बुझाउन गाह्रो पर्यो । काम गर्ने तरिका, अपनाउने स्वास्थ्य सुरक्षा लगायतका कुरा बुझाए पछि विस्तारै बुझ्दै गएको उनी भन्छिन् ।

महिलाले सवै ठाउँमा लड्नुपर्ने रहेछ । घर, समाज, काम गर्ने ठाउँ सबै तिर महिलाले लड्नु पर्ने,गर्न सक्छु भन्ने प्रमाण देखाउनुपर्ने रहेछ । पूजाको यो सिकाई हो । तर शिवानीलाई भने परिवारबाट सुरुबाटै सहयोग मिल्यो । उनी लामो समय देखी स्काउटिङ मै थिईन । अर्को तर्फ उनकी आमा एक नर्सिङ टिचर थिईन । यसले उनलाई हौसला प्राप्त भयो ।

सेवामा स्काउट

हुन त नेपाली सेनाले शव व्यवस्थापन गरिरहेककै थियो । तर परिस्थिती अप्ठ्यारो भएपछि मानविय सेवा भावले प्रदेश १ मा ४२ जना सामाजिक योद्धाहरुलाई जन्मायो । जस मध्ये ७ जना महिला टोलीले सामाजिक विद्रोही भएर छुट्टै पहिचान बनाए । अरुलाई बाटो देखाए । यी योद्धाहरुले ज्यानको बाजी थापेर सेवा गरे । भन्नेले त पैसा लिएर गरे भनि आरोप पनि लगाए । तर यहाँ कसैले पैसा लिएनन् । ज्यान नै दाउमा राखेर गरेको सेवाको मुल्य कति हुन्छ ?

नेपालमा विश्व स्वास्थ्य संगठनको मापदण्डको पालना गर्दै शव व्यवस्थापन गर्ने जिम्मेवारी नेपाली सेनालाई मात्रै दिएको थियो ।
तर दोस्रो लहरमा संक्रमितको चाप उच्च भएर संक्रमितहरु घरमै २÷३ दिन सम्म त्यसै राख्नु पर्ने अवस्था आए पछि नेपाल स्काउट प्रदेश १ ले सामुदायिक स्तरबाट शव व्यवस्थापन सुरु गरेको हो ।तालिम लिएर स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न सकिन्छ भन्ने भएर यो अभियान सुरु गरेको स्काउटको प्रदेश १ का संयोजक रवि खनालले जानकारी दिए ।

झापा,मोरङ, सुनसरी स्काउटका भोलिन्टीयरहरुलाई लिएर स्काउटले यो मानविय सेवा सुरु गरेको संयोजक खनालले बताए ।
प्रदेश १मा ४२ जनाको टोलीलाई नेपाली सेनाको पूर्वी पृतना मुख्यालय र नम्बर २ बाहिनी अड्डा हिलले तालिम दिएको थियो ।
सैद्धान्तिक र व्यवहारिक दुवै तालिम दिईएको थियो । स्काउनको यो टोलीले प्रदेशभरमा जम्मा ३३ जनाको शव व्यवस्थापन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved