सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै स्थानीय तहका जनप्रतिनिधि विभिन्न पदमा आकांक्षी भई आफ्नो पक्षमा माहोल मिलाउदै टिकट हत्याउन लागिपर्दा इटहरीकी उपमेयर लक्ष्मी गौतमले पनि इटहरीको भावी मेयरमा आफ्नो दाबेदारीलाई बलियो बनाउन आफ्नो पक्षमा लबिङ्ग गर्न सरकारी सुविधाको गाडी लिएर काठमाण्डौ गएको इटहरी उपमहानगरपालिका सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
इटहरीकी उपमेयर लक्ष्मी गौतमले प्रयोग गर्ने गरेको को १ झ ५५६ नम्बरको स्कारपियो गाडी फाल्गुण ३० गते सोमबार १२ः०० बजे उपमेयरलाई लिएर काठमाण्डौं गएको र चैत्र १ गते इटहरी फर्किएको उक्त गाडीका चालक यादव सापकोटाले स्वीकार गरे ।
सञ्चारपाटी डटकम सँगको कुराकानीमा चालक सापकोटाले हिजो (साेमबार) उपमेयरलाई काठमाण्डौं लिएर गएको र आज (मंगलबार) बेलुका ५ः०० बजे इटहरी आईपुगेको बताउदै अन्य विषयमा आफुले केही बताउन नमिल्ने प्रतिक्रिया दिए ।
मेयरले एक्सन लिएपछि गाडी आजै इटहरी फिर्ता
यसअघि पनि इटहरी उपमहानगरपालिकाको सरकारी सुविधाको गाडी दुरुपयोग गरेर विवादमा परेकी उपमेयर गौतमले व्यक्तिगत प्रयोजनमा सरकारी गाडी प्रयोग गरेको थाहा पाएका इटहरीका मेयर चौधरीको निर्देशनमा गाडी फिर्ता बोलाईएको इटहरी उपमहानगरपालिका सम्बद्ध स्रोतले जानकारी दियो ।
स्थानीय तहको निर्वाचन घोषणा भएपछि पालिकाको काम बाहेक सरकारी साधन प्रयोग नगर्न पटक पटक मेयरले सचेत गराउदा समेत उपमेयरले अटेर गरी जबरजस्ती व्यक्तिगत काममा सरकारी गाडी प्रयोग गरेपछि मेयर चौधरीले आज बिहानै चालकलाई फोन गरी गाडी फिर्ता ल्याउन निर्देशन दिएपछि गाडी फिर्ता आएको खुलासा भएको हो ।
केही दिनयता इटहरीबासीले आफुलाई मेयरको रुपमा हेर्न चाहेको दाबी गर्दै आएकी उपमेयर गौतम आफुलाई मेयरको टिकट माग्न सरकारी सुविधाको गाडी दुरुपयोग गर्दै काठमाण्डौं गएको बताईएको छ ।
उपमहानगरपालिकाकै काममा काठमाण्डौं गएको भए उपमेयरलाई समेत लिएर फर्कनुपर्ने गाडी आजै फर्कनुले पनि व्यक्तिगत प्रयोजनका लागि गाडी प्रयोग भएको पुष्टि हुन्छ ।