स्तन क्यान्सर सम्बन्धि पिएचडी गर्ने पहिलो महिला इटहरीकी डाक्टर सारदा

  • प्रकाशित मितिः बैशाख ६, २०७९
  • २४९७ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । सामान्यतया सर्जन भन्नेबित्तिकै हाम्रो दिमागमा कस्तो चित्र बन्छ ? पक्कै पनि चस्मा लगाएको, सेतो मेडिकल गाउन लगाएको र अलि पाको पुरुष । सितिमिति दिमागमा महिलाको आकृति कमै आउँछ । सर्जरीलाई ‘पुरुषप्रधान’ पेसाको रूपमा व्याख्या गरिँदै आएको छ । महिलाहरू संवेदनशील हुन्छन । घरपरिवारको दायित्वले बाँधिएका हुन्छन ,गर्न सक्दैनन भन्ने लैंगिक परम्परागत सोचमा समाज छ । यो समस्या विकासोन्मुख देशमा मात्र नभइ विकसित देशमा पनि व्याप्त छ ।

महिला चिकित्सकलाई सजिलै पत्याइँदैन । त्यसमाथि सर्जन । उनीहरूलाई जहिल्यै कमजोर नै सावित गरिन्छ । अपवाद बाहेक क्षमता तथा अनुभव हुँदाहुँदै पनि महिला सर्जनहरूलाई उच्चतहमा त्यति स्थान दिइएको पाइँदैन । तर त्यो सोच तथा विचारधारालाई चिर्न सफल भएकी छिन इटहरी १९ की डाक्टर सारदा खड्का । उनी पुरुषले मात्र राम्रो गर्न सक्छन भन्ने धारणा तोड्दै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जरी विभागमा कार्यरत छिन महिला सर्जन डा. खड्का ।

पछिल्लो समय स्तन क्यान्सरका रोगीहरू बढ्दै गएको बताउँदै उनले अहिले वीपी प्रतिष्ठानमै उपचार हुने बताइन् । ‘क्यान्सर भन्ने बित्तिकै भरतपुर नै जाने कन्सेप्ट छ, त्यो त्याग्नुपर्छ,’ उनी भन्छिन्, ‘यसअघि पनि स्तन क्यान्सर सम्बन्धि उपचार त हुन्थ्यो, तर विद्याबारिधी नै गरेका डाक्टरबाट भने पहिलोपटक धरानबाट उपचार सुरु भएको छ ।’ स्तन क्यान्सर सम्बन्धि विद्याबारिधी (पिएचडी) गर्ने डाक्टर नेपालमा उनी नै पहिलो हुन् ।

कुनै बेला डा खड्काले सर्जन बन्छु भन्दा तिमीले सक्दैनौ, धेरै महत्वकांक्षी नबनु भनेर धेरैले सुझाउँथे । तर अचेल उनको सफलताले त्यस्तो उत्तर दिनेहरू नाजवाफ छन । उनी भन्छिन मेरो विचारमा सपनाको कुनै लिंग हुँदैन । महिलाले पनि राम्रो सर्जन बन्ने सपना बोक्न सक्छन । महिलालाई चुलोचौकोमा सीमित देख्ने सामाजिक चेतमा समयको प्रवाहसँगै परिवर्तन आएको उनको अनुभव छ । राम्रो सर्जन बन्न लामो अभ्यास तथा मिहिनेत चाहिन्छ । त्यस अनुसारको धैयर्ता र समय पनि । जुन पुरुषलाई भन्दा महिलालाई अलिक गाह्रो हुन्छ नै तर खड्काको हिम्मतले त्यो ठाउँमा पुगिन खड्का ।

श्रीमान पनि डाक्टर

विवाह हुनु भन्दा र पछि करिअरमा हल्का हेरफेर हुन पुग्छ । तर सन्तुलन मिलाएर लगेको खण्डमा विवाह र बालबच्चा करिअरको छेकबारको रूपमा नआउने उदाहरण हो । हाल प्रतिष्ठानमा एसिस्टेट प्रोफेसरको रूपमा कार्यरत रहेकी उनले २०६९ सालमा प्रतिष्ठानकै डा. धनकेशर खड्कासँग विवाह बन्धनमा बाँधिइन् । धनकेशरले अहिले भरपुर साथ दिईरहेका छन । सफलताको लागि लगाव, मिहिनेत तथा परिवारको साथ र सहयोग पाएको खण्डमा केही कुरा असम्भव हुदैन भन्ने प्रमाण पनि हो यो ।
केही पहिले थोरै संख्यामा सर्जरी क्षेत्रमा महिला डक्टरहररू थिए । अहिले उच्च ओहोदामा पुग्न सफल भएका छन । सर्जरी महिलाको लागि सजिलो छैन भनिन्छ तर दृढ इच्छाशक्ति र मेहनत भएमा केही पनि असम्भव छैन् भनेर यी महिलाले पुष्टि गरेर देखाएका छन । कुनै पनि पेसा सजिलो आफैमा हुँदैन तर यसमा अरु पेसाभन्दा बढी समय, लगाव, मेहनत र परिश्रम र अभ्यास आवश्यक छ । त्यसैले पनि यो क्षेत्रलाई अलि चुनौतीको क्षेत्रको रूपमा पनि हेरिने गरेको छ ।

अहिले आफै देखि खुसी लाग्छ

कुनै समय स्कुल गएको देखेर गाउँघरमा सारदा खड्काको मानिसहरू कुरा काट्थे । केहीबेर हेरिरहन्थे र भन्ने गर्थे ‘पढेर के गर्छेस् ?’ उनी नाजवाफ हुन्थिन् । अहिले त्यही प्रश्नको उत्तर उनले उपचार सेवाबाट दिँदै आएकी छन् । त्यसबेलाकी सारदा खड्काको नामको अगाडि अहिले डाक्टर थपिदाँ उनी बेलाबेला ती मानिसहरूलाई स्मरण गर्छिन् ।

एम्स कलेज डिल्लीमा तीन वर्ष अघि विद्याबारिधी गरेर आएकी डा. खड्काले अहिले वीपी प्रतिष्ठानमै सफल रूपमा सेवा दिँदै आएकी छन् । अहिले स्तनका बिरामी दैनिक ४० जनासम्म आउने गरेको उनको भनाइ छ । बेलैमा जाँच गराएमा क्यान्सरबाट बच्न सकिने उनी सुनाउँछिन् ।

‘धेरै पढ्यो भने बिहेपछि डिभोर्स हुन्छ भन्थे २०४२ सालमा तेह्रथुमको विकट गाउँमा जन्मिएकी उनले आफ्नो विगत स्मरण गरिन् । आफू डाक्टर हुनुमा डा. उपेन्द्र देवकोटालाई उनले प्रेरणाको रूपमा लिन्छिन् । ‘म कक्षा आठमा पढ्दैथिएँ, एकदिन बुबाको हातको पातो अत्यन्त धेरै दुखेपछि जाँच गराउनका लागि डा. उपेन्द्र देवकोटाकहाँ गयौँ,’ उनले स्मरण गरिन्, ‘अप्रेसन नै गर्नुपर्छ भनिएको थियो, तर डाक्टरलाई भेट्नेबित्तिकै बुबाको हात निको भयो, मलाईँ त्यहीँदेखि न्यूरो सर्जन बन्ने सपना जाग्यो ।’

‘म घरकी जेठी छोरी हुँ, पाँच बहिनी र एक भाइ थिए,’ केहीबेर मौन रहिन् र फेरि भनिन्, ‘जेठी छोरी भएकाले गाउँमा पढ्ने वातावरण थिएन, घरमा छोरी पढाएर के गर्छेस् भन्नेहरू पनि थिए । त्यो बेलाको कन्सेप्टलाई चिर्नका लागि पनि मैले सपना पूरा गर्नैथियो ।’

११ वर्षअघि नामको अगाडि डाक्टर लेखाउँदाको खुशी धेरैबेर नटिकेको उनी बताउँछिन् । पहिलो दिन खुशी लागेपनि त्यसपछि भने जिम्मेवारी थपिदैँ गएको उनको भनाइ छ । ‘नामको अगाडि डाक्टर लेखाउँदा पहिलो दिन मात्रै खुशी लाग्यो,’ उनले भनिन्, ‘खुशी धेरैबेर टिक्दैन भनेजस्तै जे चीज पायो, त्यसपछि झन् अरु धेरै चाहना हुँदोरहेछ ।’ उनले सानो छदाँ डाक्टर बन्न पाएजस्तो हुन्थ्यो लागेपनि अहिले केही पाइसकेपछि अरु धेरै कुरा पाउने चाहना भएको बताउँदै अब प्रोफेसरको तयारी गरेको बताइन् ।

‘क्यान्सर लागेपछि मरिन्छ भन्ने भ्रम हटाउनुपर्छ, चाँडै उपचार गरेर धेरै समयसम्म बाँच्न सकिन्छ, त्यसका लागि अब भरतपुर नै पुगिराख्नुपर्दैन ।’ उनले क्यान्सर भएबित्तिकै भरतपुर नै जानुपर्ने परम्परालाई चिर्नका लागि पनि आफूहरूले प्रतिष्ठानबाटै गुणस्तरीय सेवा प्रदान गर्दै आएकाले समयमै जाँच गराउनुपर्ने बताइन् । हाल भारत तथा नेपालका पहाडी भूभागबाट दैनिक ४० जनाभन्दा बढी बिरामी जाँच गराउन आएकाले पनि आफूहरू उपचार गर्नका लागि थप प्रेरित बनेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved