परराष्ट्रमन्त्री खड्का जेठ तेस्राे साता स्वीडेन भ्रमणमा जादैँ

  • प्रकाशित मितिः जेठ ६, २०७९
  • ९९ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौँ / परराष्ट्रमन्त्री डा. नारायण खड्का जेठ तेश्रो साता स्वीडेन भ्रमणमा जाने भएका छन्।

संयुक्त राष्ट्रसंघीय महासभा, स्वीडेन र केन्या सरकारले संयुक्त रुपमा स्टकहोममा आयोजना गर्न लागेको ‘स्टकहोम प्लस ५०’ नामक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खड्काको स्वीडेन भ्रमण अनुमोदन गरेको छ।

‘स्टकहोम प्लस ५० सम्मेलनमा परराष्ट्र मन्त्री ज्यूको नेतृत्वमा एक प्रतिनिधिमण्डल जाँदैछ’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भनिन्।

सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शेर बहादुर देउवालाई निमन्त्रणा आएको थियो। तर मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री खड्को नेतृत्वमा टोली स्वीडेन पठाउने निर्णय गरेको हो।

सम्मेलनमा मन्त्री खड्काले नेपालले जलवायु परिवर्तनमा भोगिरहेका समस्या र चुनौतिबारे धारणा राख्नेछन्। जेठ १९ र २० गते ‘स्टकहोम प्लस ५०’ अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो।

सन् १९७२ मा स्वीडेनको राजधानी स्टकहोममा भएको मानवीय वातावरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनको स्मृतिमा ‘स्टकहोम प्लस ५०ः सबैको समृद्धिका लागि एक स्वस्थ ग्रह—हाम्रो दायित्व, हाम्रो अवसर’ नारा सहित उक्त अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ।

उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस सहित विश्वका बिभिन्न देशबाट उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुँदैछन्। परराष्ट्र प्रवक्ता लम्सालले सम्मेलनको दौरानमा मन्त्री खड्काको बिभिन्न देशका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता हुनसक्ने बताइन्।

संयुक्त राष्ट्रसंघले ५० वर्षअघि स्वीडेनमा विश्वब्यापी वातावरणीय मुद्दाहरूबारे पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो। ११३ देश सहभागी रहेको सम्मेलनपछि संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रम (युनेप) स्थापना भएको थियो।

युनेपको मुख्यालय केन्याको नैरोबीमा छ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved