विराटनगर / प्रदेश नम्बर १ को नामकरणको विषय टुंगोमा लगाउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साथ खोजेको छ । प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले बिहीबार प्रदेश राजधानी विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेशको नाम राख्न कांग्रेसले साथ दिए साझा धारणा बनाएर अघि बढ्न समस्या नभएको बताए ।
राईले भने, “खासमा हामीले नीति तथा कार्यक्रममै नामको विषयमा प्रदेश सरकारले पहल गर्छ भन्ने विश्वास लिएका थियौँ । तर त्यसमा नामकरणको विषय उल्लेख भएन । त्यसैले अब ठूलो दलको नाताले कांग्रेसले एमालेलाई साथ दिए यही अधिवेशनमा नाम राख्न सकिन्छ ।”
राईले कांग्रेसले साथ दिए दुई तिहाइका लागि अपुग भएको संख्या एमालेले पूरा गर्न सक्ने दाबी गरे । उनले दुई तिहाइका लागि अपुग हुने तीनदेखि चार मतका लागि अरू सांसदलाई ‘कन्भिन्स’ गर्न सकिने बताए ।
“नामको विषयमा सरकार उतिसाह्रो जिम्मेवार देखेका छैनौँ । अहिलेका मुख्यमन्त्री त मैले सकिन भन्दै भाग्न पनि बेर छैन । त्यसैले ठूलो दल हुनुको नाताले कांग्रेस अग्रसर हुनुपर्छ,” राईले भने,“प्रदेश १ को नाम सगरमाथाबाहेक कोसी, कोसी–किरात वा किरात मात्र हुनसक्ने देखिन्छ । अरू नामको विषयमा पनि छलफल भइरहेको छ ।”
अहिले प्रदेश १ मा एमालेका सभामुखसहित ३९, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका एक एक जना सांसद गरी ९० जना सांसद छन् । सरकारमा पाँच दलीय गठबन्धन छ ।
प्रदेश १ बाहेक बाँकी सबै प्रदेशले नामकरण गरिसकेका छन् ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईले नीति तथा कार्यक्रममाथि जवाफ दिने क्रममा एमाले ठूलो दल हुनुको नाताले नामको विषयमा अगुवाइ लिन आग्रह गरेका थिए । एमालेले पूर्वमन्त्री हिक्मत कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी अन्तर पार्टी छलफलसमेत सुरु गरिसकेको छ । कांग्रेस संसदीय दलले पनि दलका नेता राजीव कोइरालालाई नामकरणको विषयमा दलहरूसँग छलफल गर्ने र सहमति जुटाउने जिम्मेवारी तोकेको छ ।
प्रदेश १ को नाम किराँत, लिम्बुवान, सगरमाथा, विराट, लिम्बुवान, खम्बुवान हुनुपर्ने भन्दै विभिन्न माग उठ्दै आएको छ । तर, नामकै विषयमा सदनभित्र र बाहिर पनि घनीभूत छलफल भने भएको छैन ।
पूर्वमुख्यमन्त्री राईले आफू नेतृत्वमा रहँदा नामको विषय टुंगोमा लगाउन नसकेकोप्रति पछुतो लागेको बताए । “हामी नेकपा हुँदा स्पष्ट दुई तिहाई थियो । तर माओवादी पार्टी सँगै भएर पनि विचार र सिद्धान्त फरकपरेको जस्तो भएको थियो । छलफल चलाएपनि टुंगोमा गाउने सकिएन,” राईले भने ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved