धनुषाको जनकपुरधामका दुई युवकको अपहरणपश्चात् हत्या भएको अवस्थामा शव फेला परेको छ ।
जनकपुरधाम –८ बस्ने जगदीश साहका २५ वर्षीय छोरा रोहित साह र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २२ वर्षीय छोरा विष्णु साहको शव फेला परेको हो ।
करिब दुई साता अगाडिदेखि सम्पर्कविहीन भएका उनीहरू दुवैजनाको शव आइतबार बिहान भारत बिहारको पर्सा गाउँको पश्चिमतर्फको फिल्डमा फेला परेको हो ।
दुईसाता अगाडि दुवैजना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफ्ना आफन्तको घर गएका थिए । गत सोमबारसम्म विष्णुको घरपरिवारका व्यक्तिलाई भारतीय नम्बरबाट फोन गरी ५० लाख रुपैयाँ फिरौती माग गरिएको थियो ।
अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका थिए । विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेका थिए ।
अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएका थिए । सो कुरा विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएका थिए । तर, गत मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो ।
भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुईवटा शव फेला पारेपछि आइतबार बिहान मृतक युवकको आफन्तलाई सनाखतका लागि खबर गरेको थियो ।
मृतक दुवैजनाको शव अहिले भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको र शव नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved