इटहरी । सरकारी र पब्लिक क्याम्पसहरूमा आगामी चैत्र ५ गते स्ववियू निर्वाचन हुँदै छ । निर्वाचनको मिति नजिक आएसँगै विद्यार्थीहरूका बिचमा चुनावी सरगर्मी समेत बढ्दो छ। इटहरीमा रहेको जनता क्याम्पसमा पनि स्ववियू निर्वाचनको सरगर्मी बढेको छ ।
९ वर्षदेखि जनता बहुमुखी क्याम्पसमा राजनीतिक गरिरहेका छन् उज्ज्वल सिग्देल । उनी अहिले अहिले अखिल क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त प्यानलबाट स्वबियु सभापतिको उम्मेदवार छन् । आसन्न निर्वाचनका विषयमा नवीन दाहालले सिग्देलसँग कुराकानी गरेका छन् ।
तपाईँ किन स्ववियु उम्मेदवार ?
म मुलत राजनीतिक सिन्डिकेट हटाउन आएको हुँ । घिन लग्दो राजनीतिका कारण बिग्रिएको शिक्षा क्षेत्र सुधार्नु मेरो मुख्य उद्देश्य हो । जनता बहुमुखी क्याम्पसमा रहेको राजनीतिक सिन्डिकेट हामीले तोड्नु पर्छ यो नतोडी कुनै पनि क्षेत्र सुधार हुन सक्दैन ।
कुनै पनि बाहानमा हुने राजनीतिक भाग भण्डारलाई निस्तेज पारेर शिक्षक र कर्मचारीको नियुक्ति आवेदन खुलाएर खुल्ला प्रतिस्पर्धाबाट गरियो भने मात्र शिक्षाको गुणस्तर बढ्छ ।
त्यस कारण मेरो उम्मेदवारी राजनीतिक सिन्डिकेट तोड्नको लागी नै हो । क्याम्पसमा शिक्षकको डाटाको कुरा होस् या अन्य
शिक्षा प्रदान गर्ने कुरामा होस् प्रविधि मैत्री बनाउनु पर्छ भन्ने हाम्रो कुरा हो ।
तपाईँको प्यानललाई नै भोट किन ?
हामीले सबै पार्टी वा सङ्गठन भन्दा माथि उठेर विद्यार्थी हक हितका लागि आन्दोलन वा कार्यक्रमहरू गरी रहेका छौ ।
तपाइले विगतलाई नि हेर्न सक्नुहुन्छ अहिले भर्खरै पनि कर्मचारी नियुक्ति प्रक्रियालाई लिएर ६ महिना हामीले आन्दोलन गर्याै र हामीले आफ्नै पार्टीका नेताको छोरीलाई रोक्ने काम गरेका थियौ ।
उहाँले आफ्नो छोरीलाई जागिर खुवाउँदै हुनुहुन्छ भन्ने कुरा आएपछि हामीले जनता बहुमुखी क्याम्पसमा पूर्ण प्रतिस्पर्धा गरेर कर्मचारी छानिनुपर्छ न कि राजनैतिक भाग बन्डाको आधारमा काम हुनुपर्छ भनेका छौ ।
त्यस कारण म जहिल्यै पनि निष्पक्ष भएर लड्ने भएकाले मेरो उम्मेदवारी रहेको छ । साथै हाम्रो प्यानलमा सचिवको उम्मेदवार रहनु भएका अर्जुन पौडेल अखिल क्रान्तिकारी जनता बहुमुखी क्याम्पसको अध्यक्ष हुनुहुन्छ उहाँले पनि जहिल्यै विद्यार्थी हक हितका निम्ति काम गर्नुहुन्छ ।
हाम्रो सबै उम्मेद्वारहरु अब्बल हुनुहुन्छ शैक्षिक मुद्दामा केन्द्रित हुनुहुन्छ त्यस कारण पनि हाम्रो प्यानललाई भोट दिनुहुन आग्रह गर्दछु ।
जनता बहुमुखी क्याम्पसमा सुधार गर्नु पर्ने कुराहरू के के देख्नु भएको छ ?
यस क्याम्पसमा सुधार गर्नु पर्ने सबै भन्दा ठुलो कुरा भनेको हाम्रो क्याम्पस प्रविधि मैत्री छैन । विद्यार्थीले एक चोटि क्याम्पसमा आफ्नो विवरण दिइसकेपछि पटक पटक सोही विवरण बोकेर कुनै पनि विद्यार्थी आउनु पर्ने छैन ।
हामीले जिती सकेपछि क्याम्पसले एउटा एप्स बनाएर िवद्यार्थीहरुलाई दिनेछ जसमा विद्यार्थीहरूले आफ्नो नाम थिच्ने बित्तिकै पूर्ण विवरण आउने छ ।
बिद्यार्थीहरुले फेरी फेरी फस्ट इयर,सेकेन्ड ईयर,थर्ड ईयर तथा एसएलसीका डकुमेन्टहरू बुझाउनु पर्दैन ।
सामान्य तरकारी पसलमा पनि क्युआर हुन्छ तर हाम्रोमा अहिले सम्म डिजिटल पेमेन्ट छैन हामीले चुनाव जिती सके पछाडि सम्पूर्ण कार्यहरू डिजिटल पेमेन्ट मार्फत गर्ने वातावरण सिर्जना गर्नेछौ ।
कक्षा कोठामा पढाइ भए नभएको एउटा संयन्त्र बनाएर हामीले अनुगमन गर्ने कार्यहरूको थालनी हामी गर्नेछौ ।
स्ववियु चुनाव जितेपछि के के गर्नुहुन्छ ?
सबै भन्दा सुरुमा यस क्याम्पसमा भएको राजनीतिक खिचातानी र राजनीतिक सिन्डिकेट तोड्ने छौ ।
कुनै पनि बाहानमा भाग वण्डा लाएर क्याम्पसमा आफ्नो दुनो सोझ्याउन उहाँहरूले पाउनुहुन्न । विद्यार्थी खुल्ला भएर आउनु हुन्छ भने कर्मचारी र शिक्षकहरू पनि खुल्ला भएर आउनु पर्छ ।
सम्पूर्ण कुराहरू क्याम्पसमा डिजिटल माध्यमबाट हुनुपर्दछ । हामी त्यो गर्छौ हाम्रो प्रतिबद्धता छ । क्याम्पसलाई अपाङ्ग मैत्री बनाउन हामी लाग्ने छौ ।
क्याम्पसमा अपाङ्ग विद्यार्थीहरू आउँदा अपाङ्ग मैत्री सिँढी पनि छैन । हामीले स्ववियुमा जिती सके पछाडि क्याम्पसमा खेलकुदका कार्यक्रमहरू नियमित गर्छौ ।
विद्यार्थीको स्तर वृद्धि गर्ने हरेक किसिमका प्रोग्रामहरू हामी ल्याउँछौ । क्याम्पसमा बसको समस्या छ आफ्नै बस किन्न पहल गर्न हामी प्रदेश सरकार सँग समन्वय गरेर लाग्नेछौ । वार्षिक कार्यक्रम पनि हामी पात्रो मार्फत सार्वजनिक गर्नेछौ ।
यहाँहरू विद्यार्थीको समस्या समाधान गर्न भन्दा पनि राजनीतिक दलको झन्डा बोक्नु हुन्छ किन ?
यसमा मैले परीक्षा दिई सकेको छु म आफैले राजनैतिक दलको झन्डा बाहिर बसेर काम गरिरहेको छु । अस्ति भर्खरै कर्मचारी नियुक्तिको प्रक्रियामा आफ्नै नेता सञ्चालक समितिका अध्यक्षको राजीनामा मागेको छु ।
राजनीतिक सिन्डिकेट तोड्नु पर्छ भनेर म लागी रहेको छु हामीले पार्टीको झन्डा बोकेको छैनौ । हामीले सतिसाल भएर कर्मचारी नियुक्ति प्रक्रियामा सम्पूर्ण राजनैतिक दलहरू विरुद्ध हामीले धावा बोलेका थियौ , उहाँहरूले हाम्रो शिक्षालयमा आएर राजनीति गर्न पाउनु हुन्न भन्ने हाम्रो कुरा रहेको छ ।