चुनावको मुखमा मन्त्रीका निर्वाचन क्षेत्रमा बजेट रकमान्तर

  • प्रकाशित मितिः चैत्र ४, २०७९
  • ७० पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट निर्वचनलाई प्रभाव पर्नेगरि रकमान्तर गरिएको पाइएको छ । सङ्घ र प्रदेश सरकारको निर्वाचनको आचार संहिता लागू भएकै दिन रकमान्तर गरिएको रकम तत्कालीन

सरकारमा रहेका मन्त्री र मन्त्री निकटका सांसदको क्षेत्रमा सञ्चालित योजनामा रकम सारिएको हो ।
सूचनाको हक प्रयोग गरी माग गरेको विवरणमा निर्वाचनलाई प्रभाव पार्ने गरी योजनामा बजेट सारिएको उल्लेख छ ।


माग गरेको विवरणमा ९० करोड रुपैयाँ निर्वाचन क्षेत्र विशेष पूर्वाधार कार्यक्रमको बजेट रकमान्तर गरिएको छ । बहुबर्षीय कार्यक्रममा रकमान्तर गरिएको विवरणमा १ करोड रुपैयाँ भने हराएको छ ।

कोसी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराएको प्रमाणित प्रतिलिपिमा १ करोड रुपैयाँको हिसाब देखिएको छैन ।
सङ्घ तथा प्रदेश सभाको निर्वाचन २०७९ को आचार संहिता २०७९ साल असोज १२ गतेबाट लागू भएको थियो । आचार संहिता लागू भएकै दिन असोज १२ गते आर्थिक मामिला तथा योजना मन्त्रालयले मन्त्री स्तरीय निर्णयबाट बजेट रकमान्तर गरेको थियो ।

रकमान्तर गरेको रकम पहुँचका भरमा तत्कालीन प्रदेश सरकारका मन्त्री तथा पहुँचवाला सांसदहरूको क्षेत्रमा रहेका बुहबर्षीय योजनामा हालिएको छ ।

प्राप्त भएको विवरण अनुसार तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राईको जिल्ला भोजपुरमा रहेको भौतिक पूर्वाधार विकास कार्यालय मार्फत खर्च गर्ने गरी १८ करोड बजेट रकमान्तर भएको छ । सो कार्यालयले खर्च गर्ने गरी रकमान्तर भएको बजेट मध्ये अधिकांश योजना राईको निर्वाचन क्षेत्रमा पर्छन् ।

उनी मुख्यमन्त्री भएको बेला पूर्वाधारको बजेट पिखुवाखोला सडक पुल–खाल्डे–ट्याम्केमयुँ भोजपुरलाई १ करोड, हिले उत्तर पानी
िछन्ताङ अखुवा त्रिवेणी बहुबर्षीय सडकमा २ करोड, भोजपुर टक्सार मानेभञ्ज्याङ बैकुन्ठे बासी खोरा रानिटारलाई ५ करोड बाँडिएको छ।
यस्तै बिहीबारे हटिया कर्मी टार बन्चरे ताङ्खुवा तेलिया परेवा दिन शुक्रवारे सडकलाई ५ करोड, षडानन्द नगरपालिका १२ झ्याउ पोखरी साङपाङहुँदै फाली कोट जाने सडकका लागि ४ करोड रुपैयाँ रकमान्तर गरिएको छ ।

पूर्वाधार विकास कार्यालय पाँचथर मार्फत खर्च गर्नेगरि गुफा भुजे देउराली गोरजा चाँगे दोभान जोड्ने सडकलाई ४६ लाख बजेट रकमान्तर गरिएको छ । यो तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आंङ्वोको निर्वाचन क्षेत्र हो ।

तत्कालीन सडक पूर्वाधार मन्त्री हिमाल कार्कीको क्षेत्रमा ५ करोड रुपैयाँ बजेट रकमान्तर भएको छ । उनको क्षेत्रमा रहेको देउरी श्रीपुर दमौती बुन्जी कान्ला लाल पत्ता पात्ले घन चक्रे सडकका लागि सो बजेट रकमान्तर गरिएको छ ।

पूर्वाधार विकास कार्यालय झापाले खर्च गर्ने गरी १८ करोड रुपैयाँ बजेट रकमान्तर गरिएको छ । सो रकम तत्कालीन कृषि मन्त्री झलक सिंह दर्लामीको क्षेत्र, तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोको झापामा घर भएको क्षेत्रलाई लक्षित गरी बजेट रकमान्तर गरेको देखिएको छ ।
यस्तै तत्कालीन प्रदेश सभा सदस्य पूर्ण सिंह राजवंशीको निर्वाचन क्षेत्रलाई लक्षित गरी पनि बजेट रकमान्तर भएको देखिन्छ ।

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार, भद्रपुर ज्यामिर गढी धुलाबारी गुजा बस्ती ९धुलाबारी–ईरौँटार० सडकलाई ३ करोड, सत्ताक्षीधाम झिलझिले हबल्दार चोक–चौँरी हुँदै होक्लावारी सडक १ करोड, दुर्गापुर दानावारिदेखि इलाम जाने सडकलाई ३ करोड, सहिद मेम मगर मार्ग हल्दिवारी २ लाई २ करोड, ढुकुर पानी शान्ति चोक गोला टार हुँदै महेश चोक मोरङ जोड्ने सडकलाई १ करोड ५० लाख बजेट रकमान्तर भएको छ ।

यस्तै देउराली, फलाँटे गजुरमुखी इभांग ९ राँके गैड सडक० का लागि ३ करोड रुपैयाँ बजेट चुनावको मुखमा रकमान्तर गरिएको छ । यो सडक माओवादीका तत्कालीन प्रदेश सभा सदस्य धिरेन्द्र शर्मा र राम रानाको निर्वाचन क्षेत्र हो । तत्कालीन पर्यटन तथा सस्कृती मन्त्री खिनु लंङ्वाको निर्वाचन क्षेत्र लक्षित गरेर ६ करोड रुपैयाँ बजेट रकमान्तर भएको छ ।

चुनावको मुखमा इलाम बजार सन्दुकपुर पर्यटकीय सडकका लागि ६ करोड रुपैयाँ बजेट रकमान्तर भएको छ ।
यसै गरी तत्कालीन आनतरीक मामिला मन्त्री केदार कार्कीको निर्वाचन क्षेत्रलाई लक्षित गरी १० करोड रुपैयाँ बजेट रकमान्तर गरेको छ । उनको निर्वाचन क्षेत्रलाई विराटनगर महानगरपालिका चक्रपथ निर्माणका लागि सो बजेट रकमान्तर गरेको हो ।

यस्तै तत्कालीन सूचना तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेको निर्वाचन क्षेत्रलाई लक्षित गरी १० करोड रुपैयाँ बजेट रकमान्तर गरेको पाइएको छ । उनको निर्वाचन क्षेत्र लेटाङ ६ नम्बर बुधबारे सडकका लागि सो रकम सारिएको छ ।
यस्तै घिन घाट–विराट चोक सडक खण्डलाई ४ करोड रकम खर्च गर्ने गरी रकमान्तर भएको छ । यो प्रदेश सरकारको गौर बको आयोजना हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराएको विवरणमा सिधुवा–शुक्रबारे–ओखरे म्याङ्लुङ सडक तेह्रथुमलाई ६ करोड, मेसो जलजले भण्डारी डाँडा ईसिबु सकंनती आठराई मेदाप सडक तेह्रथुमलाई ५ करोड, गुफा पोखरी–चैनपुर बाह्रबिसे सडक सङ्खुवासभालाई ३ करोड बजेट रकमान्तर भएको छ ।


माने भन्ज्याङ चन्दनपुर हलुवाबेशी सडकलाई ३ करोड बजेट रकमान्तर गरिएको छ । सडक पूर्वाधार कार्यालय सं खुवा सभाले खर्च गर्ने गरी रकमान्तर भएको अधिकांश बजेट तत्कालीन प्रदेश सभा सदस्य सरिता खड्काको निर्वाचन क्षेत्र लक्षित रहेको छ ।
पूर्वाधार विकास कार्यालय सङ्खुवासभा मार्फत खर्च गर्ने गरी पाँच वटा योजनालाई १७ करोड ४ लाख रकम रकमान्तर गरिएको देखिन्छ ।

सुनसरीको इनरुवा–दुहबी सडक कोलागि १० करोड बजेट निर्वाचन क्षेत्र विशेष कार्यक्रमको बजेटबाट रकमान्तर गरिएको छ ।
सो सडक तत्कालीन नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाको निर्वाचन क्षेत्रमा समेत पर्दछ । उनले पटक पटक सदनमै सडकको बारेमा बोल्दै आएका थिए ।

तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले पहुँचका भरमा नभई आवश्यकताका आधारमा बजेट रकमान्तर गरेको बताए ।
उनले काम सुरु भइसकेका बहुबर्षे योजना बजेट नभएका कारण अपूरो भएकाले ती योजनामा बजेट हालिएको दाबी गरे ।
उनले भने हामीले, “आवश्यकता र महत्त्वका आधारमा बजेट हालेका हौ पहुँचका भरमा हालेका छैनौ । ”विधि र प्रक्रिया पुर्‍याएर बजेट रकमान्तर गरेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved