इनरुवा । सिमान्तकृत मुसहर समुदायको लागि लक्षित गरेर सुनसरीको इनरुवामा आयोजना गरिएको स्वास्थ्य शिविरमा ३ सय जनाले सेवा लिएका छन । जिल्ला अस्पताल इनरुवाको सहकार्यमा फिरन्ते समुहले आयोजना गरेको शिविरमा आँखा, छाला, मधुमेह लगायतका स्वास्थ्य समस्याका विषयमा फिजिसियन डाक्टरद्धारा सेवा दिईएको छ ।
शिविरमा आएका व्यक्तिहरुको समस्याको आधारमा भिडियो एक्सरे पनि गरिएको थियो । अस्पतालले पोर्टेवल मेसिनबाट शिविर स्थलमै विरामीहरुको भिडियो एक्सरे गरी समस्या पहिचान गरिएको अस्पतालका मे.सु देवराज घिमिरेले जानकारी दिए ।
स्वास्थ्य शिविरमा जाँच गर्न आएका व्यक्तिहरु मध्ये अधिकाँसमा आँखामा समस्या,छालाजन्य रोगका समस्या र ग्याँसट्राईटिसका समस्या देखिएको डा. घिमिरेले जानकारी दिए । आँखामा समस्या देखिएका ६० जना भन्दा बढि विरामीहरुलाई चश्मा र औषधी वितरण गरिएको थियो । जाँच गराएका अन्य २५ प्रतिशतमा मोतियाविन्दुको समस्या देखिएको थियो । समस्या देखिएका विरामीहरुलाई थप उपचारका लागि सम्बन्धित अस्पतालमा जान सल्लाह दिईएको थियो ।
अन्य स्वास्थ्य समस्या देखिएका व्यक्तिहरुलाई औषधी निशुल्क रुपमा वितरण गरिएको थियो । सुनसरीको इनरुवा नगरपालिकामा मात्र १ हजार ६ सय मुसहर घरपरिवार रहेका छन । मुसहर समुदायका मानिसहरु प्राय स्वास्थ्य परिक्षणका लागि अस्पताल जाँदैनन् । आर्थिक तथा अन्य कारण देखाउँदै मुसहर समुदायका मानिसहरु स्वास्थ्य परिक्षणमा नजाने गरेका हुन ।
यस्ता विपन्न तथा सिमान्तकृत समुदायका मानिसहरु सामान्य स्वास्थ्य परिक्षणका लागि पनि बेला बेला आयोजना हुने यस्तै निशुल्क स्वास्थ्य शिविरकै भरपर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved