इटहरी । सामाजिक अभियन्ता पुष्कर थापाको पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा सार्वजनिक गरिएको छ । इटहरीमा लामो समय देखी सामाजिक क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्दै आएका थापाको पुस्तक शुक्रबार संगीत साधना प्रतिष्ठानको सभाहलमा सार्वजनिक गरिएको हो ।
कवि मुन मञ्जिल, संगीत साधनाका अध्यक्ष प्रदिप रेग्मी र लेखक स्वयंमले पुस्तक सार्वजनिक गरेका थिए ।
सार्वजनिक गरिएको पुस्तक बारे कवि तथा लेखक टीका आत्रेय र लेखक राम खरेलले समीक्षा गरेका थिए ।
कार्यक्रममा पत्रकार हिमाल दाहालले पुस्तकका लेखक थापासँग संवाद गर्दै पुस्तकका विषयमा छलफल गर्दै दर्शक तथा पाठकका जिज्ञाशा मेटाएका थिए ।

पुस्तकको समीक्षा गर्दै कवि टिका आत्रेयले पुस्तक पढेपछि प्रश्न नै हरेक कुराहरुको जननी हो भन्ने लागेको बताइन् । हरेक विषयको सुरुवात प्रश्नबाट हुने उल्लेख गर्दै उनले मानिसको जीवनमा बलियो जगको महत्त्वलाई लेखकले प्रतीकात्मक रूपमा प्रस्तुत गरेको बताइन् ।
त्यस्तै, अर्का समीक्षक खरेलले पुस्तकमा समाजका सामान्य पात्रहरूको महत्त्व, योगदान र जीवनका कथालाई सरल भाषामा प्रस्तुत गरिएको बताए । समाजका हरेक व्यक्तिका अनुभव र योगदानलाई अभिव्यक्त गर्न सक्दा यस्ता पुस्तक तयार हुने उनले बताए ।
कार्यक्रममा कवि मनु मञ्जिलले पुस्तकको विषयवस्तुमाथि चर्चा गर्दै लेखक थापालाई लेखन यात्रामा प्रवेश गरेकोमा बधाई तथा आगामी लेखनका लागि शुभकामना दिए ।
संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले लेखक थापाले आफ्ना जीवनभोगाइ र अनुभवलाई संस्मरणका रूपमा पुस्तकमा प्रस्तुत गरेको बताए ।












