सुनसरी  धरान १४ सिंहदेवी चोक मास्तिर चर्च बनेपछि धरानमा विवाद उत्पन्न भएको छ । हिन्दुहरूको धार्मिक क्षेत्रमा थाहा नदिई चर्च बनाएको भन्दै हिन्दु धर्मावलम्बीहरूले विरोध गरेपछि विवाद बढ्दै गएको हो । 

वडा कार्यालय र नगरपालिकालाई समेत थाहा नदिई चर्च बनाएको आरोप स्थानीय वासुदेव बरालले लगाए । धरान १४ सिंहदेवी चोक मास्तिर चर्च बनाएको स्थान अगाडि बाल गोपालको मन्दिर छ । यो मन्दिर १ सय वर्ष भन्दा पुरानो रहेको मानिन्छ । 

सोही स्थानमा कल्याणीको आश्रम तथा हिन्दुहरूको धार्मिक स्थल भएकाले सो क्षेत्रमा चर्च बनाउँदा धार्मिक विवाद हुने बरालले दाबी गरे ।

चर्च बनेको थाहा पाएपछि धरान उप महानगर पालिकाका मेयर हर्क साम्पांगलाई चर्च निर्माणको काम रोक्न माग राख्दै ज्ञापन पत्र बुझाइएको छ । 

यस्तै ख्रिस्चयन समाजको तर्फबाट समेत मेयर साम्पांगलाई ज्ञापन पब बुझाइएको छ । ज्ञापन पत्र बुझेपछि साम्पाङले आफू भन्दा माथिल्लो निकायबाट मात्रै यो समस्याको समाधान हुने बताएका थिए । 

उनले सामाजिक सञ्जालमा लेख्दै मिलेर बस्न आग्रह गर्दै मिल्न नसके कानुनी उपचारमा जाने आशय व्यक्त गरेका थिए । 

उनले लेखेका छन् देशको सर्बोच्च अदालतको प्रधान न्याधिश होइन । धर्मको बिषयमा न्यायलयले नै हो बोल्ने । कसको भगवान ठूलो की कस्को इश्वर ठूलो त्यो कुराको फैसला न्यायलयले गरिदेओस । 

ख्रिस्चियन समाज धरानका अध्यक्ष गोविन्द राईले देशको संविधान र कानुनले धार्मिक स्वतन्त्रता दिएको बताए । उनले देशको संविधान र कानुनले  धार्मिक स्वतन्त्रता दिएकाले  चर्च सञ्चालन गर्न पाउनु पर्ने बताए । 

उनले चर्च बनाउने क्रममा आफूहरूबाट त्रुटि भएको स्वीकार गरे । उनल अहिले सम्म चर्चको नक्सा पास नभएको र आफूहरु नक्सा पास गर्ने प्रक्रियामा गएको जाजनकारी दिए । 

धरान उप महानगरपालिका वडा नम्बर १४ का वडाअध्यक्ष कृष्ण भट्टराई चर्चको नक्सा पास नभएको बताए । विवादका बिषयमा सवै पक्षसँग छलफल भइरहेको उनले जानकारी दिए ।  

 स्थानीयका बिचमा भएको विवादलाई धार्मिक गुरु आचार्य श्री निवासले थप उचालेका छन् । उनले धरानका मेयर हर्क सम्पांगलाई समेत क्रिश्चियन भएको आरोप लगाउँदै उप महानगरले नै धार्मिक सहिष्णुतामा खलल पुर्याउने काम गरेको आरोप लगाएका छन् ।

उनले चर्च निर्माण क्षेत्रमा पुगेर हिजो उनले हिन्दुहरूको आस्थाको केन्द्र विजयपुर क्षेत्रमा क्रिस्चीयनहरुले धार्मिक अतिक्रमण गरेको आरोप लगाएका छन् । स्थानीय मिडियाहरुमा पनि उनले यस्ता अभिव्यत्तीहरु दिदै  आएका छन् ।

उनले  धरान उप महानगरले समेत  क्रिश्चीयनहरुको संरक्षण गरेको आरोप स्थानीय मिडिया मार्फत लगाएका छन् ।