सुनसरी । कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्।
कोशी प्रदेशका प्रमुख परशुराम खापुङ समक्ष गुरागाँईले लिखित राजीनामा बुझाएका हुन्। अध्यक्ष गुरागाँईले बुझाएको राजीनामालाई प्रदेश प्रमुख खापुङले स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
अध्यक्ष गुरागाँईले लोकसेवा आयोगको सबै प्रक्रियामा एकलौटी गरेको, विज्ञको काम समेत आफैंले गरेको, अदालतको आदेशको अवज्ञा गर्दै बढुवा सिफारिस गरेको लगायतका विषयमा सञ्चारपार्टी डटकमले समाचार प्रकाशन गरेको थियो । लोकसेवाको अध्यक्ष पनि आफै र विज्ञको भूमिका पनि आफै देखिने गरी कार्य गरेको तथा अदालतले समेत रोक लगाएको बढुवा सिफारिस गरेको विषयमा सञ्चारपार्टीले भिडियो सामग्री मार्फत घटना सार्वजनिक गरेको थियो ।
सञ्चारपाटीले भिडियो सामग्री मार्फत घटना सार्वजनिक गरेपछि उनको चौतर्फी विरोध सुरु भएको थियो । नैतिक आचारण माथी प्रश्न उठेपछि उनी माथी राजिनामा दिनुपर्ने आवाज उठेको थियो ।
प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तिअनुसार आयोगका अध्यक्ष गुरागाईँले कार्तिक १० गते प्रदेश प्रमुख खापुङ्गसमक्ष आफ्नो लिखित राजीनामा पेस गरेका थिए।
प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (९) को खण्ड (क) मा भएको कानुनी व्यवस्थाबमोजिम उनको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रदेश प्रमुखको कार्यालयका उपसचिव अभय कुमार गुप्ताद्वारा जारी विज्ञप्तिमा अध्यक्ष गुरागाईँले दिएको राजीनामा आगामी कार्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत भएको उल्लेख गरिएको छ।
लोकसेवा आयोगका अध्यक्ष गुरागाईमाथि लोकसेवा आयोगको सबै प्रक्रियामा एकलौटी गरेको, विज्ञको काम समेत आफैंले गरेको, अदालतको आदेशको अवज्ञा गर्दै बढुवा सिफारिस लगायतका गतिविधि गरेको आरोप लाग्दै आएको थियो।
उनी माथि परीक्षा प्रणालीलाई निष्पक्ष बनाउन बाहिरबाट स्वतन्त्र विषय विज्ञ ल्याउनुपर्नेमा अध्यक्ष गुरागाईं स्वयं परीक्षा नियन्त्रकको भूमिकामा बसेर आफैँ कच्चा प्रश्नपत्र निर्माण गर्ने, आफैँ परिमार्जन (मोडरेसन) गर्ने, उत्तरपुस्तिका जाँच्ने, कम्प्युटर सीप परीक्षणमा खटिने र अन्तर्वार्ता लिने कार्यमा एकाधिकार गरेको आरोप लागेको थियो ।











