सुनसरी- खेतमा धानलगायतका बाली भित्र्याएपछि बाँकी रहने पराल तथा अन्य कृषि अवशेष व्यवस्थापनका लागि यान्त्रीकरणमा आधारित प्रविधि विस्तार गर्न नेपालमा नीतिगत सहयोग र स्रोत परिचालनबारे क्षेत्रीय विज्ञबीच छलफल सुरु भएको छ ।
सुनसरीको इटहरीमा बुधबारदेखि सुरु भएको राष्ट्रिय बहुसरोकारवाला संवादमा नेपाल, भारत र चीनका कृषि तथा प्रविधि क्षेत्रका विज्ञहरू सहभागी छन् । बिहीबारसम्म सञ्चालन हुने कार्यक्रममा कृषि अवशेष व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग, त्यसका लागि आवश्यक नीतिगत व्यवस्था र लगानी परिचालनका विषयमा छलफल भइरहेको छ ।
विशेषगरी धानबाली काटेपछि खेतमा बाँकी रहने पराल तथा अन्य अवशेषलाई जलाउने वा अव्यवस्थित रूपमा छाड्ने प्रवृत्तिको विकल्प खोज्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । कृषि अवशेषलाई खेतमै व्यवस्थापन गर्ने, त्यसको पुनः उपयोग गर्ने तथा यान्त्रीकरणमार्फत किसानको श्रम र लागत घटाउने उपायबारे विज्ञहरूले अनुभव आदानप्रदान गर्नेछन् ।
कार्यक्रममा कृषि अवशेष व्यवस्थापनका लागि प्रयोग भइरहेका विभिन्न मेसिन तथा प्रविधि, तिनको उपयोगिता, किसानसम्म प्रविधि पुर्‍याउने चुनौती र सरकारको नीतिगत भूमिकाबारे छलफल हुने आयोजकले जनाएको छ ।
नेपालमा कृषि यान्त्रीकरणको विस्तारसँगै बाली भित्र्याउने र त्यसपछिको अवशेष व्यवस्थापनलाई पनि आधुनिक प्रविधिसँग जोड्नुपर्ने आवश्यकता बढ्दै गएको छ । परम्परागत रूपमा खेतमा बाँकी रहेका अवशेष जलाउने अभ्यासले वातावरणीय प्रदूषणको जोखिम बढाउने भएकाले त्यसको विकल्पका रूपमा यान्त्रीकरणमा आधारित व्यवस्थापनलाई अघि बढाउने विषय संवादको प्राथमिकतामा छ ।
भारत र चीनमा कृषि यान्त्रीकरण तथा बाली अवशेष व्यवस्थापनका क्षेत्रमा भएका अभ्यास र अनुभव नेपालका लागि उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ । तीन देशका विज्ञबीच हुने छलफलले प्रविधि हस्तान्तरण, स्थानीय आवश्यकताअनुसार प्रविधिको प्रयोग र कृषि अवशेषको उपयोगसम्बन्धी सम्भावनाबारे साझा धारणा बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।
बाली अवशेष व्यवस्थापनका लागि प्रविधि उपलब्ध हुनु मात्रै पर्याप्त नहुने भएकाले त्यसको प्रयोग गर्न सक्ने किसानको क्षमता, मेसिन खरिद तथा सञ्चालनमा लाग्ने लागत, सरकारी अनुदान र निजी क्षेत्रको सहभागितालाई पनि महत्त्वपूर्ण विषयका रूपमा हेरिएको छ । त्यसैले कार्यक्रममा नीतिगत सहयोगसँगै आवश्यक आर्थिक तथा प्राविधिक स्रोत परिचालनका विषयलाई समेत जोड दिइएको छ ।
इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पूर्वाञ्चल क्याम्पस धरानको आयोजनामा सुरु भएको कार्यक्रमको सहकार्यमा कृष्ण दाना उद्योग र सगुन कृषि सहकारी संस्था लिमिटेड रहेका छन् । कार्यक्रम २०३० एजेन्डा फर सस्टेनेबल डेभलपमेन्ट सब–फन्ड तथा संयुक्त राष्ट्रसंघको शान्ति तथा विकास ट्रस्ट फन्डको परियोजना अनुदान सहयोगमा सञ्चालन भइरहेको छ ।
बाली अवशेष व्यवस्थापनलाई वातावरण संरक्षण, कृषि उत्पादन लागत न्यूनीकरण र दिगो कृषि प्रणालीसँग जोडेर अघि बढाउनुपर्ने विषयमा कार्यक्रम केन्द्रित रहनेछ ।