विराटनगर । विराटनगर महानगरले खुल्ला स्थानमा माछा मासु बिक्री वितरणमा रोक लाउने भएको छ ।
खुल्ला स्थानमा माछा मासु बेचबिखन गर्दा मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै वैशाख १५ गतेदेखि खुल्ला स्थानमा माछा मासु बिक्रीमा रोक लगाउने निर्णय गरेको हो ।
महानगरमा हाट बजारमा समेत माछा मासु बिक्री वितरण हुँदै आएकाले महानगरले माछा–मासु बिक्री वितरणलाई व्यवस्थित गर्ने तयारी भएको महानगरले जनाएको छ ।
पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रूपमा पशुपक्षीलाई वध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ ।
विराटनगरका विभिन्न स्थानमा खुल्ला रूपमा माछा मासु बिक्री गर्ने गरेको पाइएको छ । जसले गर्दा मानव स्वास्थ्यमा असर पर्नुका साथै बजारको सौन्दर्य करणमा समेत ह्रास आएको छ ।
प्रदेशको राजधानीसँगै कोशी प्रदेशको एक मात्रै महानगरपालिका भएकाले पनि विराटनगरलाई व्यवस्थित गर्नु जरुरी रहेको मेयर नागेश कोइरालाले बताए । उनले विराटनगरभित्र छिर्ने जोकोहीले पनि आफू साँच्चिकै महानगरभित्र छिरेको महसुस गर्ने गरी कार्य भइरहेको बताए
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वैशाख १५ गतेदेखि लागू हुने गरी सार्वजनिक स्थल, खुल्ला ठाउँ, तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलहरूमा बाहेक पशुपक्षी वध गर्न निषेध गरिएको बताए ।
साप्ताहिक हाटबजारका साथै सडक छेउछाउ र चोकहरूमा खाट, टेबल, प्लास्टिक ओछ्याएर भुईँमा राखेर खुल्ला रूपमा माछा मासु बिक्री गर्ने गरिएको छ । “अबदेखि खुल्ला रूपमा माछा मासु बिक्री गर्न पाइने छैन,” कोइरालाले भने, “ऐनले नै अव्यवस्थित र खुल्ला रूपमा पशुपक्षीको वध गर्न र बिक्री वितरण गर्न निषेध गरेको छ ।”
।