सुनसरी । कोशीटप्पु वन्यजन्तु आरक्ष नजिकै उदयपुर क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ । उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने करिब २५ वर्षको हात्ती धानखेतमा मृतावस्थामा भेटिएको हो ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जङ्गली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार मृत हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो ।
हात्तीको मृत्यु के कारणले भयो भन्ने खुल्न सकेको छैन तर प्राकृतिक कारणले भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । हात्तीको पोस्टमार्टम गरेपछि मात्रै मृत्युको कारण खुल्ने उनले स्पष्ट पारे । कोशीटप्पु वन्यजन्तु आरक्षले हात्तीको आज पोस्टमार्टम गर्ने बताइएको छ ।











