विराटनगर । विराटनगर महानगरपालिकाले पूर्व बजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरूलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो ।
महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा सोमबार उद्योग वाणिज्य महासङ्घ, हिसान, प्याब्सन, अफिन, घरेलु तथा साना उद्योग महासङ्घलगायतका प्रतिनिधिहरूलाई बोलाएर बजेटका विषयमा छलफल गरेको छ ।
छलफलमा सहभागीहरूले करको दर नभई दायरा बढाउनुपर्नेमा जोड दिएका थिए । हाल महानगरले केही क्षेत्रमा दोहोरो कर उठाइरहेको समेत सहभागीहरूले गुनासो गरेका थिए ।
छलफलमा अफिनका अध्यक्ष डा. शङ्कर अधिकारी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, कोशी प्रदेश अध्यक्ष ज्ञानु खड्का, मोरङ अध्यक्ष अमित ढकाल, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव अशोक लामा, एनप्याब्सन मोरङ अध्यक्ष पराग ढुङ्गाना, उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका देवकीनन्दन अग्रवाल, घरेलु तथा साना उद्योग महासङ्घ मोरङकी अध्यक्ष सुनिता छाराहाङ, घरेलु तथा साना उद्योग महासङ्घका निवर्तमान अध्यक्ष नरेन्द्रप्रसाद होमागाईं, नेपाल डेन्टल एसोसिएसन मोरङकी महासचिव डा. मिरा आचार्य, मोरङ बचत सङ्घकी अध्यक्ष सीता लामिछाने, वृहत् साकोसका अध्यक्ष योगेन्द्र साहलगायतले करको दरभन्दा दायरा बढाउनुपर्नेमा जोड दिए ।
उनीहरूले जनताका आधारभूत सेवाका क्षेत्रका रूपमा रहेको शिक्षा र स्वास्थ्यमा कर नबढाउन सुझावसमेत दिए । महानगरको हालको नेतृत्वले सरसफाइ, पार्किङ, सुशासनलगायतका क्षेत्रमा महसुस हुने गरी काम गरेको दाबी गरे । आएका सुझावलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्ने मेयर कोइरालाले प्रतिबद्धता जनाए ।