विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङ सडक खण्डका तीनै तहका जनप्रतिनिधिहरुले एक हप्ता भित्र काम अगाडि नबढाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गअन्तर्गत मोरङको खण्डको काम दुई महिनादेखि रोकिएको छ । रतुवाखोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको रंगेली सडक खण्ड बाहेकको ३० किलोमिटर सडक खण्डको काम रोकिएपछि बिहीबार हुलाकी सडक छुने क्षेत्रका जनप्रतिनिधिहरुले पत्रकार सम्मेलन गरी तत्काल काम अगाडि नबढाए प्रतिरोध गर्ने चेतावनी दिए ।
पत्रकार सम्मेलनमा मोरङ क्षेत्र नम्बर - २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, क्षेत्र नम्बर - ५ का सांसद योगेन्द्र मण्डल, प्रदेश सांसद भीम पराजुली, गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, गयानन्द मण्डल, अमृत अर्याल, रतुवामाई नगरपालिका प्रमुख नागेश्वर सिंह, सुनवर्षीका प्रमुख श्याम राजवंशी, रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया, धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदार र कटहरीका अध्यक्ष देवराज चौधरीले काम अगाडि बढाउन आग्रह गरे ।
धुवा र धुलोका कारण सडक किनारका जनताको दैनिकी कष्टकर भएको बताउँदै उनीहरुले काम सुरु गर्न आग्रह गर्दा नटेरेपछि जनतासमक्ष आउनु परेको जनाएका छन् ।