इटहरी । कोशी प्रदेशमा रहेको सङ्खुवासभा हिमाली जिल्लामा अवस्थित छ । यो जिल्लामा थुप्रै धार्मिक तथा सांस्कृतिक सम्पदाहरू छन् ।सङ्खुवासभाको चैनपुर नगरपालिकामा रहेको ऐतिहासिक स्थल हो सिद्ध काली मन्दिर । यो मन्दिरको स्थापना विक्रम सम्वत १७८८ सालमा भएको हो । यहाँ मन्दिरमा पूजा आराधना गरे सिद्ध प्राप्त हुने विश्वास छ ।चिताएको कुरा सिद्ध हुने भएकाले यो मन्दिरको नाम नै सिद्ध काली रहन गएको स्थानीय बताउने गर्छन् ।सिद्ध काली मन्दिरसँग पनि सतीदेवीको प्रसङ्ग जोडिएको छ । सतीदेवीका अङ्गहरू पतन हुने क्रममा यहाँ भने दाहिने आँखा पतन भएको विश्वास छ । यो मन्दिरलाई हिन्दुहरूले शक्ति पिठको रूपमा पूजा गर्ने चलन छ । सिद्ध कालीमा मङ्सिरको बालाचर्तुदशीका दिन ठुलो मेला लाग्ने गरेको छ । यो बाहेक यहाँ नवरात्रीमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । हरितालिका तिज, शिवरात्रि, राम नवमीमा पनि आसपासका जिल्लाबाट भत्तजनहरु पूजा आराधना गर्न पुग्ने गरेका छन् । यी यस्ता पर्व र अवसरका अलावा अरू समयमा पनि यहाँको प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्त्व बोकेको यस क्षेत्रमा दर्शन गर्न मानिसहरू पुग्ने गर्दछन् । सिद्ध काली मन्दिरमा सतीदेवीको दाहिने आँखाको प्रतिमा राखिएको छ । मन्दिरको पूजा आज ९ आँै पुस्तादेखि त्यहाँका महन्तहरूले गर्दै आएका छन् । मन्दिरको सञ्चालन र व्यवस्थापनका लागि १ सय ३३ रोपनी जग्गा गुठीको रूपमा राखिएको छ । त्यही जग्गाको आम्दानीले मन्दिर सञ्चालन भइरहेको छ । मन्दिर परिसरमा विष्णु, गणेश र शिवजीका मन्दिर निर्माण गरिएको छ। सङ्खुवासभाको पर्यटकीय धार्मिक र ऐतिहासिक स्थलहरूको प्रचार प्रसार संरक्षण र प्रवर्द्धनमा कोशी प्रदेश सरकारले समेत काम गरिरहेको छ । प्रदेश सरकारको बजेट नीति तथा कार्यक्रम मार्फत यस्ता स्थानहरूको खोज, संरक्षण र अन्वेषणका लागि सरकारले वार्षिक रूपमा बजेट विनियोजन गर्दै आएको छ।