सुनसरी । मोन्था चक्रवातको प्रभावले बिहीबार र शुक्रवारको अविरल वर्षा भएपछि सुनसरीका किसानले ठुलो नोक्सानी ब्योहोर्नुपरेको छ ।
दुई दिनको अविरल वर्षाको कारण सुनसरीमा ब्यवशायिक तरकारी खेती गरेका किसानले ठुलो नोक्सानी ब्योहोर्नुपरेको हो ।

गत असोज तेस्रो साताको बाढी तथा डुबानले थला परेका किसानलाई दुई दिन देखीको झरीले थप पिडा थपिएको छ ।
ब्यवशायिक तरकारी खेतीका लागि उर्वर भूमि मानिएको इनरुवा, देवानगञ्ज, हरिनगर, कोसी र भोक्राहा नरसिंह गाउँपालिकामा बेमौसमी झरीले बढी क्षति पुर्याएको छ ।

जमिन भाडामा लिएर बैङ्कबाट ऋण काढेर गरिएको तरकारी खेती नष्ट भएपछि किसान चिन्तित बनेका छन् ।
वर्षा तथा डुबानले बेमौसमी तरकारीको रूपमा काउली, मुला, भन्टा, प्याज, घिउ सिमी, तमे बोडी, काँक्रो, भिण्डी, फर्सी, घिरौँला लगायतका तरकारी बालीमा नोक्सान पुर्याएको छ ।

क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।
वार्षिक सात सय मेट्रिक टन तरकारी उत्पादन गर्ने सुनसरीका किसानहरूले उक्त तरकारी सदरमुकाम इनरुवा, विराटनगर हुँदै काठमाडौँसम्म निर्यात गर्ने गरेका छन् ।

















