इटहरी । इटहरीको ताल तलैया माथिल्लो मागदेखि  दुहबी नगरपालिकाको सीमासम्म बगेको  टेँग्राखोला त्यसपछि बुढीखोलामा मिल्छ । यो खोला इटहरीको मुख्य बजार हुँदै गाउँ भएर बग्ने खोला आफ्नो लयमा बग्न पाएको छैन । मानवीय अतिक्रमणको कारण कहिले खोला पूर्व कुद्छ भने कहिले पश्चिम भएर बग्छ ।  बग्ने ठाउँ नपाउँदा यो खोलाले कहिलेकाहीँ इटहरी बजारलाई नै तहसनहस बनाउने गरेको छ। यसको कारण भनेको मानवीय  अतिक्रमण नै हो ।  खोला र पैनीलाई अतिक्रमण गरेर इटहरीमा मात्र  ७४ वटा  भौतिक संरचना रहेको इटहरी उपमहानगरपालिकाले बनाएको कार्यदलले नै औँल्याएको छ।   इटहरीको मध्य बजार हुँदै बग्ने  टेंग्राखोला मिचेर ७४ वटा संरचना मध्ये २२ वटा ठुला खालका आरसिसी भवन निर्माण  भएको पाइएको छ। यी सबै संरचना भत्काउनु पर्ने खालको रहेको पाइएको छ।  इटहरी उपमहानगरपालिकाको खोला, पैनीको वास्तविकता  पत्ता लगाउन गठित कार्यदलले  लामो समय लगाएर प्रतिवेदनको अन्तिम तयारी गरिरहेको छ। 
खोला तथा पैनीको नाप जाँच सकिएको र प्रतिवेदन तयारीको काम भइरहेको खोला, पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदलका संयोजक पुष्पनारायण चौधरीले जानकारी दिए । स्थलगत प्रक्रियागत काम सकेर अन्तिम प्रतिवेदन महानगरपालिकालाई बुझाउन बाँकी रहेको संयोजक चौधरीले जानकारी दिए । प्रतिवेदन मेयर, उपमेयर सहित कार्यपालिकालाई बुझाउने तयारी भइरहेको उनले बताए । ‘हाम्रो तर्फबाट रिपोर्ट तयारी अवस्थामा छ, उनले भने, उहाँहरूले समय दिए पछि हामी प्रतिवेदन बुझाउने तयारीमा छौँ ।’
यो प्रतिवेदनले अहिलेको टेँग्राखोला सहितका खोला पैनीको वास्तविक अवस्था यकिन गरी विश्लेषण मात्रै गरिएको उनले बताए । संरचना  भत्काउने / नभत्काउने बारेमा  उपमहानगरले नै निर्णय गर्ने भएकोले प्रतिवेदनमा उल्लेख नहुने  चौधरीले बताए । Itahari technical team
प्रतिवेदनमा के देखियो?
खोला, पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदल अन्तर्गतको उपसमितिका प्राविधिक टोलीले टेँग्राखोलाको मुहानबाट नाप जाँच सुरु गरेको थियो ।  गत साउन ९ गतेदेखि प्रविधिक टोलीले इटहरी उपमहानगरपालिका वडा नम्बर २ बाट काम थालेको थियो । अध्ययन अनुसार ७४ वटा संरचनाहरू  खोला मिचेर बनाइएको पाइएको छ । जसमध्ये २२ वटा आरसिसी (पक्की) भवन  निर्माण भएका छन् । यस्ता संरचनामा घर, सरकारी तथा सामुदायिक भवन, विद्यालय र चर्च समेत छन् । अन्य संरचनामा गाईबस्तुका गोठ, सुँगुरका खोरहरू रहेको पाइएको छ। अध्ययन अनुसार धेरै ठाउँमा व्यक्तिको जग्गामा खोला बगेको भेटिएको छ भने खोलाको जग्गामा संरचना बनेका छन् । अहिले व्यक्तिको जग्गामा खोला बगेको भेटिएको कार्यदलका संयोजक चौधरीले बताए । 
मुहानदेखि दक्षिणी सीमासम्म धेरै ठाउँमा खोला पूर्व तथा पश्चिम मोडिएको छ । ‘अहिले खोलाको चौडाइ कतै १० फिट मात्रै देखिएको छ भने केही ठाउँमा ५० फिट सम्म पाइएको छ, चौधरीले भने,  खोलाले धार परिवर्तन गर्दै ठाउँ छाडेर न्यूनतम ३० फिटदेखि  अधिकतम १ सय ५६ फिटसम्म सरेको छ ।’itahari khola
इटहरीका वडा न. ४, ६ र ९ मा बढी समस्या देखिएको छ । यी वडामा खोला मिचेर ठुला खालका भौतिक संरचना निर्माण भएका छन् । यी वडामा धेरै  संरचना भत्काउनु पर्ने देखिएको छ । यी वडा इटहरीको मुख्य बजार क्षेत्रमा हो ।  खोलाको जग्गा कित्ताकाट गरी अन्य व्यक्तिको नाममा पास भएको समेत पाइएको छ। 
उपमहानगरपालिकाको योजना ?
इटहरी उपमहानगरपालिकाका मेयर हेम कर्ण पौडेलले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन निर्मम हुने अभिव्यक्ति दिँदै आएका छन् । खोला पैनीमा बनेका संरचना भत्काउनकै लागि उनले अध्ययन गर्न कार्यदल बनाएका हुन्  ।  नाप जाँच समितिले दिएको प्रतिवेदन साथै खोला, पैनी मिचेर बनाइएको संरचना खाली गर्न दिएको समय सकिएको भोली पल्टै भत्काउन सुरु गर्ने मेयर पौडेलको दाबी छ । अध्ययन कार्यदलको प्रतिवेदन तयार भएको छ भने भौतिक संरचना खाली गर्न दिएको पटक पटक सहितको अन्तिम ७ दिनको म्याद पनि सकिएको छ । उपमहानगरपालिकाले सुरुमा ३५ दिन, त्यस पछि १५ दिन र अन्तिम पटक भन्दै ७ दिनको म्याद दिई सकेको छ।  यी सबै म्याद सकिएको भए पनि उपमहानगरपालिकाले  संरचना हटाउने काम थालेको छैन  ।