सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–१ भुटाहा बजारमा दुई पक्षबिच झडप हुँदा ११ जना घाइते भएका छन् ।
आइतबार साँझ डाइस खेल्ने क्रममा सुरु भएको सामान्य विवादले ठुलो रूप लिँदै दुई पक्षबिच दोहोरो झडप भएको स्थानीय सञ्चारकर्मी नसिम अन्सारीले जानकारी दिए ।
झडपमा दुवै पक्षका ११ जना घाइते भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले एक युवकलाई  नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घाइते हुनेमा स्थानीय २६ वर्षीय चन्दन सदा, ५० वर्षीय पचुवा मलाहा सदा र ४० वर्षीय राजु दास रहेका छन् । यस्तै २५ वर्षीय राजा सिद्दिकी, २० वर्षीय सोहेल अन्सारी, २४ वर्षीय साजिर सिद्दिकी, ५२ वर्षीय अजमल हुसेन र २३ वर्षीय फैजान अन्सारी रहेका छन् ।
घाइतेहरूको विराटनगरको नोबेल र गोल्डेन अस्पताल तथा स्थानीय हरिनगर स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेले घटनालाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन् । अहिले अवस्था सामान्य रहेको उनले जानकारी दिए ।