इटहरी । प्राचीन काल देखी बसोबास गर्दै आएका थारुलाई पहिलो जाति घोषणा गरेको इटहरी उपमहानगरपालिकाले उनीहरूको आस्थाको धरोहर ग्रामथानको संरक्षण र पुनर्निर्माण सुरु गरेको छ । 
चालु आर्थिक वर्षमा ग्रामथानहरूको अवस्था पत्ता लगाइ तिनीहरूको अवस्था अनुसार गर्नुपर्ने पुनर्निर्माणका काम भइरहेको उपमहानगरले जनाएको छ ।
सो अनुसार विभिन्न वडा वडामा बजेट विनियोजन भई पुनर्निर्माणको काम हुँदै छ भने नगर स्तरीय बजेट बाट पनि पुनर्निर्माणका लागि काम हुँदै छन् । 
इटहरीको वडा न. ८ मा रहेका ५ वटा ग्रामथान मध्ये अघिल्लो आ.ब.मा ४ वटाको पुनर्निर्माण सम्पन्न भएको वडा अध्यक्ष रोहित चौधरीले जानकारी दिए । उनका अनुसार चालु वर्षमा एक ग्रामथानको पुनर्निर्माणको काम चलिरहेको छ । 
यस्तै वडा न. १८ मा रहेका ८ वटा ग्रामथानको घेरा बेरा लगाउने र आरसिसी ढलान गरी नयाँ निर्माणको काम सकिएको वडा अध्यक्ष राम कुमार चौधरीले जानकारी दिए । 
अघिल्लो आ.ब. मै सबै थानहरूलाई नयाँ निर्माण गरी ढलान गरेको उनले जानकारी दिए ।
वडा न. १६ मा रहेका ग्रामथानहरूको पनि पुनर्निर्माणको काम भएको वडा अध्यक्ष तेज नारायण चौधरीले जानकारी दिए । ग्रामथानको संरक्षण गर्ने काम उपमहानगर र वडा कार्यालयहरूले संयुक्त रूपमा भइरहेको उनले बताए ।  
यता, इटहरीको मुख्य चोकमा रहेको विच्छुधामी ग्रामथानको पनि पुनर्निर्माण सकिएको छ । इटहरी वडा न.६ धरान रोडमा रहेको सो ग्रामथान निर्माण गर्न वडा कार्यालयले २ लाख बजेट विनियोजन गरेको थियो । 
सो बजेटमा दाताहरूसँगको सहयोगका आधारमा ग्रामथानलाई पुरानै शैलीमा निर्माण गरिएको निर्माण उपभोक्ता समितिकी अध्यक्ष सुशीला चौधरीले जानकारी दिइन् । सो ग्रामथान निर्माणमा करिब ६ लाख बढी खर्च भएको उनको भनाई छ । 
नगर स्तरीय बजेट बाट नै इटहरी वडा न. ४ चौधरी टोलमा रहेको पोखरीलाई इँटाको वालले घेरा बेरा गर्ने काम भएको छ ।  
अहिले अन्य वडाहरूमा पनि जीर्ण बनेका थान तथा ग्रामथानहरूको पहिचान गरी पुनर्निर्माणको काम भइरहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले जानकारी दिए । 

कति छन् ग्रामथान कस्तो छ अवस्था ? 

gramthan  (1)

इटहरीमा कति ग्रामथान छन्, यसको यकिन तथ्याङ्क छैन । धेरै पुराना थानहरू त लोप भएर गइसके । अतिक्रमणका कारण धेरै ग्रामथानहरू हराएका छन् । कति जीर्ण भएर लोप हुने अवस्थामा पुगेका छन् ।
इटहरीका अधिकांश ग्रामथान जीर्ण अवस्थामा रहेको थारु कल्याणकारी सभा इटहरीका अध्यक्ष लक्ष्मी प्रसाद चौधरीले जानकारी दिए । 
पहिले १, २ बिगाहामा रहेका थानहरू अहिले २, ३ धुरमा सीमित हुन पुगेको था.क.स अध्यक्ष चौधरीको भनाई छ ।  
इटहरी ५ आनन्द मिल छेउमा रहेको ग्रामथान अहिले अढाई धुरमा सीमित भएको उनले बताए । केही समय अघि त्यस थान वरिपरि करिब ४ कट्ठा जग्गा रहेको उनको भनाई छ । 

यस्ता थुप्रै उदाहरण आफूले ग्रामथानको अनुगमनका क्रममा भेटेको अध्यक्ष चौधरीले जानकारी दिए । थारु कल्याणकारी सभा नगर समितिले पनि ग्रामथानको तथ्याङ्क सङ्कलनको काम गरिरहेको उनले बताए । 
ग्रामथान जीर्ण भएर हराउने, जग्गा जमिन भू माफियाले कब्जा गर्दा लोप भएका छन्  । संरक्षणका लागि तीव्र दबाब आएपछि इटहरी उपमहानगरले ग्रामथानको सूचीकरण गर्न थालेको छ । 

कुन वडामा रहेका ग्रामथान कुन अवस्था छन्, जग्गा जमिन कति छ ,मेला पर्व, पुजारीको अवस्था सहित सबै विवरण उल्लेख गरी सम्बन्धित वडा कार्यालय तथा नगरपाकिालमा सूचीकरण गर्न थालिएको प्रमुख प्रशाकिय अधिकृत राम चरित्र मेहताले जानकारी दिए । 

उपमहानगरको परिपत्र पछि हाल सम्म २९ वटा ग्रामथान सूचीकरण भएका छन् । अझै धेरै ग्रामथानहरू सूचीकरण हुन बाँकी रहेकाले सूचीकरणको काम जारी नै रहने प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए । ग्रामथानहरू पूर्ण रूपमा संरक्षण नहुन्जेल सम्म सूचीकरण र पुनर्निर्माणका कामहरूले प्रत्येक वर्ष निरन्तरता पाउने मेहताको भनाई छ । 

के हो ग्रामथान ? 

gramthan  (4) 1

संस्कृति अनुसार मानिसको जीवनपद्धति चल्छ । संस्कृति प्रकृति प्रदत्त चिज होइन । यो मानव निर्मित हो । तर प्रकृतिसँगै हुन्छ । थारु समुदायको आफ्नै संस्कार, संस्कृति छ ।

थारु समुदायले आफ्ना कुल,पितृहरूको सम्झना गर्दै सामूहिक रूपमा पूजा गरिने स्थललाई ग्रामथान भन्दछन् । हेर्दा सामान्य लाग्ने बाँसको टाटीले बारेको, टिनको छानो भएको, स साना घरहरू हुन । त्यहाँ भित्र माटोको ढिस्को हुन्छ । तिनीहरूको पूजा प्राकृतिक रूपमा गरिन्छ । त्यसैले थारुहरू प्रकृति पूजक हुन । 

जन्मदेखि मृत्यु संस्कार सम्ममा ग्रामथान नभई हुन्न । ग्रामथानमा देवताको बास हुने भएकाले थारुहरूले सामूहिक पूजा गर्छन् । 
ग्रामथान जन्म, विवाह, पूजा पाठ र मृत्युको संस्कारसँग पनि जोडिने थारु नेता तथा १६ न. वडाका अध्यक्ष तेज नारायण चौधरीले जानकारी दिए ।

हाम्रो आस्था विश्वास सबै ग्रामथानमै रहको उनले बताए । ग्रामथानमा नै प्रत्येक वर्ष वैशाख महिनामा पूजा गर्ने र मेला लाग्ने अध्यक्ष चौधरीले जानकारी दिए । यसरी पूजा गर्दा फूल घडा, पानसुपाडी चढाउने गर्दछन् । प्राय सबै ग्रामथानमा ठुलो मेला( धाम) लाग्छ । यस्ता मेलामा जुलवीको विशेष महत्त्व रहने गर्दछ । वैशाख महिना भर थानहरूमा मेला लाग्ने गर्दछ ।  

ग्रामथान प्राय गाउँको बिचमा, खेतको बिचमा हुन्छन् । जहाँ पोखरी, ठुला ठुला रुख बिरुवा हुन्छन् । यिनीहरूको आ आफ्नै महत्त्व रहेको छ । 
लामो समय सम्म संरक्षण नहुँदा यस्ता थानहरू पुराना र जीर्ण भएका छन् । उनीहरूको नाममा रहेका जग्गामा विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन बनाइएको छ । 
अर्को तर्फ ग्रामथानको जग्गा भू माफियाले आफ्नो नाममा नामसारी गरी विक्री वितरण गर्ने गरेका छन् । जसले गर्दा ग्रामथान लोप हुने अवस्थामा पुगेका छन् । 

नयाँ योजना ल्याउँदै उपमहानगर 

gramthan  (2)

चालु आर्थिक वर्षमा थारु समुदायको उत्थान तथा आर्थिक विकासका कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा रहेको उपमेयर सङ्गीता कुमारी चौधरीले जानकारी दिइन । 
उपमहानगरमा थारु जातिको उत्थानका लागि एक छुट्टै समिति गठन गरिएको छ । सो समितिको संयोजक उपमेयर आफै छिन् । यही समिति मार्फत कार्यक्रम सञ्चालनको तयारी भइरहेको उपमेयर चौधरीले जानकारी दिइन् । 

थारु जातिको उत्थानका लागि चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरिएको छ । सोही बजेट बाट कार्यक्रम सञ्चालन हुनेछ । 
यस वर्ष मुख्य ५ कामलाई प्राथमिकतामा राखी काम थालिएको उपमेयर चौधरीले जानकारी दिइन् ।

पहिलो ग्रामथानहरूको संरक्षण तथा पुनर्निर्माण, दोस्रो थारुको जनगणना, तेस्रो थारु विद्यार्थीका लागि लोक सेवा कक्षा सञ्चालन, चौथो थारु होमस्टे सञ्चालन र पाँचौँ अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम रहेका छन् । 

विनियोजित ५० लाख बजेट मध्येबाट २० लाख रकम ग्रामथानको संरक्षणका लागि खर्च गरिनेछ भने बाँकी अन्य शीर्षकमा खर्च गरिने उपमेयर चौधरीको भनाई छ । 
यी उल्लेखित कामहरू थारु कल्याणकारी सभासँगको साझेदारीमा सञ्चालन गरिने उपमेयर चौधरीले जानकारी दिइन् । 
इटहरीमा थारु कति छन् यकिन तथ्याङ्क पत्ता लगाउन आन्तरिक जनगणना गर्ने समितिको योजना छ । 

राष्ट्रिय जनगणनाले निकालेको इटहरीको थारुको सङ्ख्यामा चित्त नबुझेकाले आफैले थारुको जनसङ्ख्या पत्ता लगाउन जनगणना गर्ने तयारी गरेको थारु कल्याणकारी सभाका नगर अध्यक्ष लक्ष्मी प्रसाद चौधरीले जानकारी दिए । 
इटहरीका वडा न. १०,११,१२ र १७ मा थारु होमस्टे सञ्चालन गरिने उपमेयर सङ्गीता कुमारी चौधरीले बताइन । होमस्टे सञ्चालनका लागि सो वडाबाट प्रस्ताव आएको उनको भनाई छ । 
थारुको जातीय संस्कार, संस्कृति,रहनसहन, परम्परा, खानाका परिकार, गीत सङ्गीत लगायत सबै विषयलाई समेटेर होमस्टे सञ्चालन गरिने छ ।
यस्तै, थारु विद्यार्थीहरूलाई सरकारी सेवामा प्रोत्साहन गर्न लोक सेवा तयारी कक्षा सञ्चालन गरिने जनाइएको छ । 
थारु महिलाहरूको सिप र कलालाई आर्थिक उपार्जनमा रूपान्तरण गर्न सिपमूलक तालिम तथा अन्य क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने उपमेयरको योजना छ । 
तर यी सबै कार्यक्रम सञ्चालनका लागि बजेट अपुग हुने उपमेयरले बताइन् । आगामी आर्थिक वर्ष यो शीर्षकमा बजेट थप गर्नुपर्ने उनको माग छ ।