सुनसरी । कोशी प्रदेशसभाको प्रशासनिक र संसदीय गतिविधि अब मोरङको कटहरीस्थित फलफूल तथा तरकारी थोक बजारको भवनबाट सञ्चालन हुने भएको छ ।
कटहरी गाउँपालिकाले सोमबार औपचारिक रूपमा कोशी प्रदेश सरकारलाई पत्राचार गर्दै उक्त भवन प्रदेशसभाका गतिविधिका लागि प्रयोग गर्न सहमति जनाएको हो।
गत भदौ २४ गते जेन-जी प्रदर्शनका क्रममा प्रदेशसभाका दुईवटै भवनमा तोडफोड, लुटपाट र आगजनी भएपछि संसदीय गतिविधि पूर्ण रूपमा ठप्प भएका थिए।
त्यसयता स्थान अभावका कारण प्रदेशसभाको बैठक सञ्चालन हुन सकेको छैन भने प्रशासनिक कामकाज विराटनगरस्थित मिडिया सेन्टरको साँघुरो कोठाबाट हुँदै आएको छ।
प्रदेश सरकारले केही दिनभित्रै कटहरीको तरकारी बजार भवनबाट प्रदेशसभाका सम्पूर्ण गतिविधि सुरु गरिने जनाएको छ।
यसअघि विराटनगरको वीरेन्द्र सभागृहमा प्रदेशसभा सञ्चालन गर्ने तयारी भए पनि महानगरको स्वामित्वमा रहेको सभागृहको भाडा महँगो भएपछि प्रदेशसभा र प्रदेश सरकारले वैकल्पिक रूपमा कटहरीको तरकारी बजार भवन रोजेका थिए।
‘कटहरी गाउँपालिकाले प्रदेशसभालाई निःशुल्क रूपमा उक्त भवन उपलब्ध गराउने भएको छ,’ कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताए।

















