काठमाडौँ । दक्षिण एसियाली महिलाहरूको सम्मेलन २०८१ काठमाडौँमा सुरु भएको छ। यही वैशाख ३० देखि जेठ १ गतेसम्म चल्ने सम्मेलनको उप–राष्ट्रपति राम सहाय प्रसाद यादवले उद्घाटन गरे ।
सम्मेलनको उद्घाटन गर्दै उप–राष्ट्रपति यादवले दक्षिण एसियाका महिलाको पुँजी र बजारमा प्रवेश अति आवश्यक रहेको बताएका छन् । आरक्षणबाट ३३ प्रतिशत राजनैतिक सहभागिता पछि आर्थिक सशक्तीकरणमा काम गर्नु पर्ने अवस्था रहेको औँल्याए ।
उपराष्ट्रपति यादवले लैङ्गिक असमानता न्यूनीकरण र आर्थिक सशक्तीकरण बढाउन डिजिटल रूपान्तरणमार्फत महिला सशक्तीकरण आवश्यक रहेकोमा जोड दिए । विभिन्न क्षेत्रहरूमा महिला सहभागिता प्रवर्द्धन गर्ने महत्वलाई प्रकाश पार्दै दक्षिण एसियाका सामूहिक चुनौतीहरूको लैङ्गिक असमानताको मूल कारणहरू पहिचान गर्न र दक्षिण एसियाली अर्थतन्त्रको सन्दर्भमा व्यापार, उत्पादन, पर्यटन व्यवस्थापन र कृषिमा महिला सहभागिताको महत्वको बारेमा उनले स्पष्ट पारे ।
आर्थिक सशक्तीकरण, आर्थिक अधिकार र महिलाका लागि न्याय, औपचारिक र अनौपचारिक कार्यस्थलहरूमा लैङ्गिक खाडलहरू पूरा गरेर मात्र हासिल गर्न सकिने उपराष्ट्रपति यादवको भनाई थियो । श्वान, एसिया फाउन्डेसन, युएन ओमेन, युएसआईडी जस्ता संस्थाहरूको भूमिकालाई उनले स्मरण गरे ।
बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले संविधानले दिएको अधिकारले महिलाको राजनैतिक प्रतिनिधित्व भए पनि निजामती सेवा देखि लिएर सेवा क्षेत्रहरूमा महिलाको उपस्थिति निक्कै कम रहेको बताइन् । ‘महिला सशक्तीकरणमा सरकारी प्रयास भएता पनि पर्याप्त छैन, उनले भनिन्, लैङ्गिक उत्तरदायी बजेट अझै पर्याप्त हुन सकेको छैन, स्थानीय सरकारहरूलाई संविधानले दिएको अधिकारहरूको पर्याप्त प्रयोग गर्न सक्नुपर्छ ।’
मन्त्री चौधरीले राजनीतिक सहभागितामा भएको प्रगतिको प्रकाश पार्दै सरकारी क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दर्दिन । चौधरीले महिला सशक्तीकरणका तीन स्तम्भहरू: महिलाका लागि जोखिम उद्धार, सांस्कृतिक सिमाना तोड्ने र आर्थिक विकासलाई बढवा दिनु जरुरी रहेको बताइन् । विगत दुई दशकमा मातृ मृत्युदरमा भएको सुधारलाई उल्लेख गर्दै विशेष गरी सरकारी मन्त्रालय र स्थानीय सरकारहरूमा लैङ्गिक–उत्तरदायी बजेटमा चुनौतीहरू रहेकाले सम्बोधन गरिन् ।
सम्मेलनले दक्षिण एसियाभरिका महिलाहरूले आर्थिक सशक्तीकरणका विषयमा झेलेका र भोगिरहेका अप्ठ्यारोको विषयवस्तुलाई लक्षित गरेको छ । जसमा वित्तीय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यावसायिक विकास रहेका छन् । साथसाथै लघु, साना र मध्यम स्तरका व्यवसायहरूलाई विशेष जोड दिँदै ग्रामीण पर्यटन, कृषि र जलवायु परिवर्तन जस्ता समसामयिक विषयहरू सम्मेलनमा समेटिने आयोजक संस्थाहरूले जनाएका छन् ।
सम्मेलनको मुख्य उद्देश्य दक्षिण एसियाभित्रका महिला उद्यमीहरू अझ विशेष गरी ग्रामीण पर्यटन व्यवसाय अन्तर्गतका महिलाहरूको आर्थिक सशक्तीकरण, डिजिटल प्रविधिसँग सम्बन्धित सेवा सुविधाहरू, क्षमता विकास, आयस्रोतको वृद्धि, लैङ्गिक समानता र प्रतिस्पर्धात्मक सोचलाई प्रविधि र विश्व बजारसँग समन्वय गर्नको लागि एउटा अवसरको रूपमा लिइएको छ। जसले दक्षिण एसियाली महिलाहरूलाई एउटै सञ्जालमा राखेर उनीहरूको अनुभव आदान प्रदान गरी ग्रामीण महिलाहरूलाई रोजगारीको अवसर सिर्जना गराउने एउटा पुलको भूमिका निर्वाह गर्ने भनिएको छ।
कार्यक्रममा महिला उद्यमीहरूका सफलताको कथाहरू जस्तै: इन्टरनेट साथी, ग्रामीण पर्यटन र महिलाहरूमा परिवर्तन, दिगो अर्ग्यानिक कृषि प्रविधिद्वारा ग्रामीण महिलाहरूको जीवनस्तर उकास्ने जस्ता विषयवस्तुहरूलाई समेटिनेछ ।
दक्षिण एसियाली महिलाहरूको सञ्जाल नयाँ दिल्ली, भारतका प्राध्यापक वीणा सिक्रीका अनुसार, दक्षिण एसियाका कयौँ अगुवा महिलाहरूको सम्मेलनमा सहभागिता रहेको छ। ‘सम्मेलनले प्रविधियुक्त ग्रामीण पर्यटनको विकास र प्रवर्धन गर्दै महिला सशक्तीकरणको आयाम तय गर्नेछ, उनले भनिन्, यसले एकातिर सीप र आय आर्जनमा महिलाको नेतृत्व बढाउँछ भने अर्को तर्फ दिगो विकासको एउटा लक्ष हासिल गर्न समेत मदत पुर्याउने छ ।’
आयोजक संस्था हिमालपार वातावरण तथा जीविकोपार्जन कार्यक्रम नेपालको तर्फ याङकिला शेर्पाले दक्षिण एसियाका देशहरूमा कोभिड–१९ को महामारीका कारण उत्पन्न भएको आर्थिक क्षतिलाई सम्बोधन गर्न सम्मेलनले टेवा पुर्याउने बताइन् । सम्मेलनले समाजको समग्र समृद्धि र आर्थिक विकासका लागि महत्त्वपूर्ण क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितालाई पुष्टि गर्दै, महिलामा आर्थिक सशक्तीकरणको आवश्यकतालाई थप उजागर गर्ने उनले बताइन् ।
सम्मेलनमा दक्षिण एसियाका लघु, साना र मध्यम स्तरका महिला उद्यमी व्यवसायीहरू, सम्बन्धित देशका सरकारी प्रतिनिधिहरू, नागरिक समाज, बुद्धिजीवी तथा अनुसन्धानकर्ताहरू, वित्तीय संस्थाहरू, प्रविधि प्रदायक संस्थाहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, कर्पोरेट क्षेत्र, युवा तथा विद्यार्थी, विकास एजेन्सीहरू, सञ्चारकर्मी र नागरिक समाजको सहभागिता रहेको छ। सम्मेलन अन्तर्राष्ट्रिय विकास संस्था (आईडिआई), दक्षिण एसियाली महिलाहरूको सञ्जाल, नयाँ दिल्ली, र हिमालपार वातावरण तथा जीविकोपार्जन कार्यक्रम नेपालले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका हुन् ।