सुनसरी । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा डल्फिनको संख्यामा वृद्धि भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित स्तनधारीका रूपमा सूचीकृत गरेको डल्फिनको संख्या २२ पुगेको आरक्ष कार्यालयले जनाएको छ ।
कोशी नदी तथा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा यसै साता गरिएको डल्फिन गणना कार्यको बिहीबार नतिजा सार्वजनिक गर्दै कार्यालयले यस वर्ष २५ वटा डल्फिन रेकर्ड गरिएको जानकारी दिएको हो । गणनाबाट कोशी नदी तथा आरक्ष क्षेत्रमा १५ वटा वयस्क, ५ वटा अर्धवयस्क र २ वटा बच्चा गरी जम्मा २२ वटा डल्फिन रेकर्ड गरिएको आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र प्रसाद यादवले जानकारी दिए । आरक्षका अनुसार गत वर्ष १९ वटा डल्फिन रेकर्ड भएको थियो । नदी प्रदूषण तथा विषादीको प्रयोग, डल्फिनका लागि आहाराजन्य वस्तुको अभावले डल्फिन संरक्षण चुनौती थपिएको यादवले बताए ।
कोशीटप्पु वन्यजन्तु आरक्ष, भीमकाली गुल्म, राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्र, हिमाली प्रकृति, कोशी बर्ड अब्जरभेटरीको सहभागितामा चार दिनसम्म लगाएर गणना सम्पन्न भएको हो । गणना कार्यमा १८ जनाभन्दा बढी स्वयंसेवक, गणक तथा विज्ञहरूको सहभागिता रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले जानकारी दिए ।
नेपालको सप्तकोशी र कर्णाली नदीमा डल्फिन पाइने गरेको छ । संकटापन्न सूचीमा रहेको डल्फिन नेपालमा १ सयभन्दा कमको संख्यामा भएको तथ्यांक रहेको आरक्षले जनाएको छ ।