सुनसरी। सुनसरीका मासु व्यवसायीहरुले स्वस्थ र गुणस्तरीय मासु बिक्रि वितरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मासु उपभोग गर्ने आम उपभोक्ताहरुको स्वास्थ्यमा आफुहरु सचेत रहेको भन्दै व्यवसायीहरुले स्वच्छ,स्वस्थ र गुणस्तरीय मासु बिक्रिवितरण गर्ने प्रतिवद्दता व्यक्त गरेका हुन ।
जिल्लाका विभिन्न शहरहरुमा खसी तथा बोकाको मासु खरिदबिक्रि गर्दै आएका व्यवसायीहरुको इटहरीमा सम्पन्न भेलाले यस्तो प्रतिवद्दता व्यक्त गरेको हो ।
दशैँको समयमा इटहरी लगायतका शहरमा खसीको मासुको मुल्यको विषयमा विवाद सिर्जना भएको थियो । मासुको मूल्य बढेको भन्दै तिव्र आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले खसीको मासुको मुल्य नै तोक्नुपरेको थियो ।
इटहरीमा सम्पन्न भेलाले मासु व्यवसायीहरुको हकहितमा काम गर्ने गरी नयाँ समिति पनि गठन गरेको छ । उपभोक्ताको स्वास्थ्य तथा व्यवसायीक हितमा काम गर्ने गरी कमल बहादुर थापाको अध्यक्षतामा नयाँ जिल्ला समिति गठन गरिएको हो ।
नवगठित समितिको उपाध्यक्षमा मो. सलिम हुसेन,सचिव सन्तोष प्रसाद आचार्य, कोषाध्यक्ष जितेन्द्र चौधरी रहेका छन् । यस्तै सदस्यहरुमा लाल बहादुर बुढाथोकी, मो. इन्ताज आलम, कुर्बान हुसेन, सजाद हुसेन, हदिस मियाँ, मो. नसरुदिन र भिम बहादुर विष्ट रहेका छन् ।
नयाँ समितिले आगामी दिनमा जिल्लाका खसी तथा बोका मासु व्यवसायीहरूलाई एकजुट बनाउँदै उनीहरूको समस्या समाधानका लागि स्थानीय सरकार तथा सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने जनाएको छ ।
उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै मापदण्ड अनुसारको स्वच्छ एवं गुणस्तरीय मासु बिक्रि वितरण गर्ने नवगठित समितिका अध्यक्ष कमल बहादुर थापाले बताएका छन् । मासु व्यवसायलाई थप पारदर्शी एवं व्यवस्थित बनाउन यो समितिले काम गर्ने उनले बताएका छन् ।











