विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरले चालु आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय वित्तीय उपलब्धि हासिल गरेको छ। संस्थाको कुल सम्पत्ति दायित्व रु. ५७ करोड ३८ लाख ५७ हजार ४५४ रुपैयाँ पुगेको छ भने आगामी वर्ष यसलाई बढाएर ६३ करोड ९० लाख १७ हजार ३०२ रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको छ।

शनिवार संस्थाको २७औँ वार्षिक साधारण सभामा अध्यक्ष जीवन काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष संस्थाले ५१ करोड ४३ लाख ५ हजार ५६९ रुपैयाँ आम्दानी गरी वार्षिक लक्ष्यको ९४ प्रतिशत उपलब्धि हासिल गरेको जानकारी दिएको छ।

सभामा प्रस्तुत प्रतिवेदन अनुसार, संस्थाको शेयर पुँजी कुल सम्पत्तिको १२.६१ प्रतिशत, कुल निक्षेपमा १६.२९ प्रतिशत र दीर्घकालीन पूँजीकोष (जगेडा कोष) ६.५४ प्रतिशत रहेको छ। कुल सम्पत्तिमा तरलता १९.४८ प्रतिशत, आय–आर्जन नगर्ने सम्पत्ति ६.८६ प्रतिशत, र प्रशासनिक खर्च १.३२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

अध्यक्ष काफ्लेले राष्ट्रसेवक सहकारीले `अनुशासन, पारदर्शिता र नीतिप्रतिको प्रतिबद्धता´का कारण विश्वसनीय सहकारीको छवि कायम राख्न सफल भएको बताए। उनले सहकारी क्षेत्रमा केही व्यक्तिको अनियमितताका कारण नियामक संस्थाहरूले कडाइ गरे पनि राष्ट्रसेवक सहकारीले आफ्नो आर्थिक स्थायित्व र व्यवस्थापन दक्षताबाट उदाहरण स्थापित गरेको धारणा व्यक्त गरे।

संस्थाले शेयर सदस्यको हितका लागि राहत कोष सञ्चालन गर्दै आएको छ। यस अन्तर्गत, सदस्यको निधन भएमा परिवारलाई  १ हजार पाँच सय, असाध्य रोग लागेमा पाँच हजार सुत्केरी महिला सदस्यका लागि शिशु पोषण खर्च स्वरूप पाँच हजार उपलब्ध गराइने व्यवस्था गरिएको संस्थाले जनाएको छ। साथै, संस्थाले अनलाइन सफ्टवेयर र मोबाइल एपमार्फत सम्पूर्ण कारोबार सञ्चालन गर्दै सदस्यलाई २४ घण्टा बैङ्क ट्रान्सफर, युटिलिटी पेमेन्ट र क्युआर स्क्यान भुक्तानी गर्ने सुविधा प्रदान गर्दै आएको छ।

साधारण सभाको अवसरमा सहकारीले तीन प्रतिष्ठित व्यक्तित्वलाई सम्मान गरेको छ । पत्रकार सुमन सुस्केरालाई हिरनकुमार थापा स्मृति पुरस्कार प्रदान गरिएको छ । त्यस्तै किशोरी खतिवडा स्मृति पुरस्कार: इन्दिरा रिजाल (पूर्व कर्मचारी, काठमाडौँ) र दधिराम दाहाल स्मृति पुरस्कार: समाजसेवी भवनाथ पौडेल (विराटनगर)लाई प्रदान गरिएको छ ।

संस्थाले आगामी वर्षमा कार्यालय भवन सम्पन्न गर्ने, शेयर सदस्यता तथा जगेडा कोषमा वृद्धि गर्ने, साथै शिक्षा, व्यवसाय र स्वास्थ्य क्षेत्रमा सहुलियत ऋण कार्यक्रम सञ्चालन गर्ने कार्य योजना अघि सारेको छ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालले राष्ट्रसेवक सहकारीको योगदानको प्रशंसा गर्दै सदस्यमुखी सहकारी संस्कृतिको प्रवर्द्धनमा यस संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको प्रशंसा गरिन्।