सुनसरी  । विराटनगर भन्सारबाट हुने जाँचपास प्रक्रिया र राजस्व अनुसन्धान कार्यालय इटहरीबाट हुने कामकारबाही निक्कै कमजोर रहेको भन्दै सशस्त्र प्रहरी बलले असन्तुष्टि जनाएको छ ।

सीमा सुरक्षा र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले प्रभावकारी काम गरे पनि यी दुई निकायको कामकारबाही सन्तोषजनक नरहेको भन्दै माथिल्लो निकायमा उजुरीसमेत गरेको छ । पछिल्लो समय भन्सार छलीका घटनामा आफ्नो पूरै जनशक्ति परिचालन गरेर सामान बरामद गर्न खोज्दा र बरामद समान अनुसन्धानका लागि राजस्वमा पठाउँदा निकै न्यून धरौटीमा छाड्ने गरिएको प्रति सशस्त्रले असन्तुष्टि जनाएको हो ।

विराटनगर भन्सार र राजस्व अनुसन्धानको कामकारबाही प्रभावकारी नरहेको उल्लेख गर्दै सशस्त्रले पूर्वक्षेत्रबाट हुने चोरी तस्करी र राजस्व चुहावट नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको छ । राजस्व छलेर सामान भित्र्याउने गिरोह पटकपटक पक्राउ पर्दासमेत उनीहरुमाथिको अनुसन्धान फितलो हुने गरेको र अत्यन्त न्यून धरौटीमा छाड्ने गरिएको भन्दै सशस्त्रले यी दुई निकायका केही कर्मचारीले तस्करसँग मिलेमतोमा काम गर्ने गरेको दाबीसमेत गरेको छ ।

सशस्त्रले भन्सार छलीका सामान भित्र्याउने कार्यमा भन्सार एजेन्ट नै संलग्न हुने गरेको पुष्टि हुँदासमेत उनीहरुमाथि चित्तबुझ्दो कारबाही हुन नसकेको प्रष्ट पारेको छ । यी दुई कार्यालयका प्रमुखप्रति असन्तुष्टि जनाउँदै सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका बाहिनीपति प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेले यस्तै गततिविधि कायम रहने हो भने आफूहरु उच्च मनोबलका साथ काम गर्न नसकिने बताए ।