सुनसरी — अति विपन्न परिवारका लागि निर्माण गरिएका नयाँ घर हस्तान्तरण गरिएको छ । गढी गाउँपालिका–२ स्थित कोलर्हवा सामुदायिक ग्राममा निर्माण गरिएका ४० नयाँ घर सुनसरी जिल्लाको दक्षिणपूर्वी क्षेत्रका गरिब र विपन्न समुदायका भूमिहीन परिवारलाई मंगलबार हस्तान्तरण गरिएको हो ।
ग्रामीण महिला उत्सुकता विकास मञ्च फरवार्ड नेपालले अन्तर्राष्ट्रिय दातृ निकाय संस्था बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनको वित्तीय सहयोगमा निर्माण गरिएका भूकम्प प्रतिरोधात्मक घरहरू हस्तान्तरण गरिएको हो । गरिब र विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण परियोजनाअन्तर्गत निर्माण भएका ती घरमा २ वटा शयन र एउटा भान्सासहित ३ वटा कोठा रहेका छन् । प्रतिघर ६ लाख ५० हजार रुपैयाँ खर्च गरेर बनाइएको ती घरमा शौचालय, खानेपानीका लागि धारा जडान गरिएको र वातावरणमैत्री साथै पारिवारिक र समुदायमैत्री रहेको दाबी गरिएको छ ।
फरवार्डकी संस्थापक एवं सुनसरी– ३ की निवर्तमान सांसद भगवती चौधरी, बुद्धिष्ट चुजी च्यारिटी फाउन्डेसनका उपसभापति लिन पी यूले ४० परिवारलार्ई घरसँगै आवश्यक लत्ताकपडा र खाद्यान्नसमेत हस्तान्तरण गरेको बताए । फरवार्ड नेपालले सुनसरीको दुहबी नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका र इटहरी उप–महानगरपालिकामा गरिब र विपन्न समुदायका लागि सुरक्षित आवास निर्माण गरेको कार्यकारी निर्देशक द्रव्यराज चौधरीले जानकारी दिए ।
चार वर्षअघि शिलान्यास गरिएको यस परियोजनाअन्तर्गत दुहबी–९ मा १४, गढी–२ मा ४०, बर्जु १, ३ र ५ मा ३० तथा इटहरी–७ मा १६ गरी १ सय घर निर्माण गरी हस्तान्तरण गरिएको चौधरीले जानकारी दिए । परियोजनाबाट यस क्षेत्रका भूमिहीन, विपन्न, दलित तथा मुसहर समुदायका घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित भएको फरवार्डकी अध्यक्ष राजकुमारी चौधरीले जानकारी दिइन् ।
















