सुनसरी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकन नतिजा बिहीबार सार्वजनिक गरेको छ।
सार्वजनिक नतिजाअनुसार बुटवल उपमहानगरपालिका पहिलो स्थानमा परेको छ भने इटहरी उपमहानगरपालिका सबैभन्दा पछिल्लो स्थानमा रहेको छ।
आयोगका अनुसार बुटवलले ६४.४४ अंक प्राप्त गर्दै शीर्ष स्थान सुरक्षित गरेको हो।
त्यसपछि तुल्सीपुर ६१.५३ अंकसहित दोस्रो र घोराही ६१.०८ अंकसहित तेस्रो स्थानमा रहेका छन्।
चौथो स्थानमा धनगढी ५६.६० र पाँचौँ स्थानमा नेपालगञ्ज ५६.४५ रहेका छन्।
हेटौंडा उपमहानगरपालिका ५४.१३ अंकसहित छैटौँ स्थानमा परेको छ भने जनकपुर ५१.५८ अंकसहित सातौँ स्थानमा रहेको छ।
धरान ४९.७६ अंकसहित आठौँ स्थानमा रहँदा कलैया ४९.५७ अंकसहित नवौँ स्थानमा परेको छ।
जीतपुर–सिमरा ४८.३९ अंकसहित दशौँ स्थानमा रहेको छ। इटहरी उपमहानगरपालिका भने ३८.९६ अंकसहित सबैभन्दा कम अंक प्राप्त गर्दै ११औँ अर्थात् अन्तिम स्थानमा परेको छ। आयोगले उपमहानगरपालिकाहरूको कार्यसम्पादन मूल्यांकन वित्तीय अनुशासन, सेवा प्रवाह, योजना कार्यान्वयन, पारदर्शिता तथा सुशासनलगायतका सूचकका आधारमा गर्ने गरेको छ।
नतिजाले स्थानीय तहको प्रशासनिक क्षमता, विकासको गति तथा सार्वजनिक सेवा प्रवाहको अवस्थालाई झल्काउने आयोगको भनाइ छ।
सार्वजनिक गरिएको यो नतिजाले आगामी वर्षका लागि सुधारका क्षेत्र पहिचान गर्न स्थानीय तहलाई मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।

















