सुनसरी । विश्वभर फैलिँदै गएको केराको घातक रोग ‘ट्रोपिकल रेस ४ (टीआर–४)’ ले नेपालमा पनि जोखिम बढाएको भन्दै विज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
केरा खेतीमा ठूलो क्षति पुर्याउन सक्ने यो घातक रोगको नियन्त्रण तथा व्यवस्थापनका उपायबारे सरोकारवालालाई जानकारी दिने उद्देश्यले सुनसरीको तरहरामा बुधबार गरिएको कोशी र मधेस प्रदेशका सरोकारबालाको क्षमता अभिवृद्धि कार्यक्रममा बिज्ञले यस्तो आग्रह गरेका हुन ।
संयुक्त राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ) को सहयोगमा बुधबार आयोजित कार्यक्रममा दुबै प्रदेशका सरकारी निकाय, अनुसन्धान संस्था, प्राविधिक तथा कृषि क्षेत्रमा काम गर्ने सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा विश्वभर फैलिँदै गएको केराको घातक रोग ‘ट्रोपिकल रेस ४ (टीआर–४)’ ले नेपालमा पनि जोखिम बढाएको भन्दै विज्ञहरूले सतर्कता अपनाउन आग्रह गरे ।
केरामा देखिने एक ढुसीबाट हुने यो रोग पुरानो प्रजातिबाट विकसित भई नयाँ स्वरूपमा फैलिएकाले विशेषगरी ‘क्याभेन्डिस’ जातका केरामा गम्भीर असर पार्ने गरेको छ ।
यो रोग माटोमार्फत फैलिने भएकाले एकपटक संक्रमण भएपछि वर्षौंसम्म जमिनमै बाँकी रहने र बोटलाई विस्तारै सुकाउँदै लैजाने विशेषता रहेको छ ।
विश्वका धेरै देशमा यसको प्रकोप देखिइसकेको छ भने दक्षिण एसियामा समेत यसको प्रभाव बढ्दो क्रममा रहेको उनीहरुले बताए ।
सन् २०१९ मा पहिलोपटक दक्षिण एसियामा देखिएको यो रोग अहिले १९ भन्दा बढी देशमा फैलिसकेको छ ।
रोगको संक्रमण भएपछि केराको बोट पहेँलो हुँदै जाने, सुक्ने र अन्ततः उत्पादन पूर्णरूपमा घट्ने समस्या देखिन्छ ।
यसले विश्वव्यापी रूपमा ठूलो आर्थिक क्षति पुर्याइरहेको छ ।
नेपालमा केराको उत्पादनमा यसको सम्भावित प्रभावले किसानहरू चिन्तित भएका छन् ।
कार्यक्रममा सहभागीहरूले रोगको नियन्त्रण तथा व्यवस्थापनका उपायबारे जानकारी आदानप्रदान गर्दै समयमै निगरानी, रोग पहिचान र रोकथामका उपायहरू अपनाउन जोड दिएका थिए ।

















